Prakash Adhikari April 18, 2019

भर्जिनिया(संयुक्त राज्य अमेरिका),५ बैशाख(बीबीसी) । पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट अर्थात् भू-उपग्रह केहीबेरअघि अमेरिकाबाट प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ।

सानै आकारको भए पनि नेपाली भू-उपग्रह प्रक्षेपण भएपछि विश्वभरि छरिएर रहेका नेपालीहरूले सामाजिक सञ्जालमा खुशी व्यक्त गरिरहेका छन्।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान नास्टका अनुसार नेपालको भू-उपग्रह नेपाली समय अनुसार बिहीवार बिहान २.३५ बजे भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो।

त्यहाँ अमेरिकी हवाई तथा अन्तरिक्ष निकाय नासाको वालोप्स उडान केन्द्र रहेको छ।

NepaliSat-1 (नेपाली स्याट-१) नाम दिइएको नेपाली भू-उपग्रहलाई एन्टारेस् नामक वायुयानभित्र रहने सिग्नस् कार्गो विमानमा राखिएको छ।

त्यो केही समयपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा पुग्नेछ।

बिहीवार बिहानै त्यो कार्गो विमानले जापान र श्रीलङ्काका भू-उपग्रहलाई पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुर्‍याउने कार्यक्रम रहेको थियो।

बर्डस्-३ स्याटेलाइट प्रक्षेपण कार्यक्रम अनुसार नेपालीसहित तीन देशका भू-उपग्रह अन्तरिक्षमा पठाइएको हो।

त्यो वायुयानभित्र रहने कार्गो विमानले करिब ७,६०० पाउण्ड (३४४७ किलोग्राम) सामग्री बोकेर अन्तरिक्षमा लैजाने छ।

नासाले बर्डस् ३ स्याटेलाइट प्रक्षेपण कार्यक्रम आफ्नो वेबसाइटमा राखिएको लिङ्क मार्फत प्रत्यक्ष हेर्न सकिने जनाएको छ।

 

‘यो पहिलो पाइला हो’

जापानमा बनेको नेपाली भू-उपग्रह (बीचमा)
न्यानो अर्थात् निकै सानो आकारको नेपाली भू-उपग्रह निर्माणमा संलग्न जापानस्थित नेपाली वैज्ञानिक आभाष मास्केका अनुसार नेपालीस्याट-१ करिब एक किलो तौलको छ।

उनको भनाइमा यो प्रविधिमा नेपालले अझै धेरै काम गर्न बाँकी छ।

बीबीसी नेपाली सेवासँग उनले भने, “नेपाल सरकारबाट पहिलो पटक लगानी आएकोले यो सम्भव भयो। आफ्नै भू-उपग्रह अन्तरिक्षमा लामो समयसम्म राख्ने चुनौती बाँकी नै छ। यो हाम्रो पहिलो पाइला हो।”

उनको भनाइमा भू-उपग्रह प्रविधिमा नेपालले फड्को मार्न अझै धेरै काम गर्न बाँकी छ। त्यसको मतलब निरन्तर नेपाल सरकारले विज्ञान प्रविधि र भू-उपग्रहको विकासमा लगानी गर्न आवश्यक छ।

 

नेपालीहरु उत्साहित

नेपालले पहिलो पटक आफ्नै भूउपग्रह अन्तरिक्षमा पठाउन लागेको विषयमा सामाजिक सञ्जालमा अहिले विभिन्न टिप्पणीहरू आउने क्रम जारी छ।

ट्विटरमा सन्देश लेख्दै पदम बुढाले नेपाली वैज्ञानिकहरूले जापानमा आफ्नै भू-उपग्रह बनाएको उल्लेख गरेका छन्।

दिनेश पौड्यालले यो ठूलो क्षण हुने भन्दै खुसी व्यक्त गरेका छन्।

 

उत्तमबाबु श्रेष्ठले चाहिँ चुनौतीहरू बाँकी नै रहेको उल्लेख गरेका छन्। उनले केही आलोचना गरेका छन्।

खुशीको कुरा नेपालको नानो स्याटेलाइट अन्तरिक्षमा लग्न लागिएको छ । तर यसलाइ परम्परागत रूपमा बुझिने स्याटेलाइट भनेर प्रचार गर्नु डुंगा चलाएको कुरालाइ पानी जहाु भनेर प्रचार गर्नु जस्तै हो। यस्ता नानो स्याटेलाइट अहिले विश्वविद्यालयको पनि हुन्छ है।अलि हल्ला कम गर्ने कि

आफ्नो फेसबुक पेजमा लेख्दै नेपाल खगोलशास्त्र समाज (नासो)ले नेपाली भू-उपग्रह प्रक्षेपण हुन लागेको क्षण हेर्न सबैलाई तयार रहन आग्रह गरेको थियो।

https://www.facebook.com/NASONepal/posts/2329576140386571

भू-उपग्रहको फाइदा के के?

मास्केका अनुसार यो भू-उपग्रह केही समयसम्म अन्तरिक्षको बाहिरी भागमा रहन्छ र त्यसपछि अन्तरिक्षमा घुम्न थाल्नेछ।

यो भू-उपग्रहबाट नेपालले रिमोट सेन्सिङ्ग् भनिने प्रविधिको फाइदा लिन सक्छ।

यसको सहयताले नेपालले आफ्नो भूभागको मौसम, पानी, तापक्रम आदि समेटिएका तस्बिरहरू प्राप्त गर्न सक्छ।

मास्केका विचारमा ती तस्बिरहरू सञ्चारमाध्यममा छाप्न उपयुक्त हुने खालका हुनेछन्। नेपालीस्याट-१ भू-उपग्रह लामो समयसम्म अन्तरिक्षमा रहने छैन।

मास्केको अनुमानमा यो भू-उपग्रह अन्तरिक्षमा तीन महिनादेखि एक वर्षसम्म सञ्चालनमा रहनेछ।

लामो समय सञ्चालनमा रहने भू-उपग्रह निर्माण गर्न र प्रक्षेपण गर्न नेपालले ठूलै लगानी गर्नुपर्ने उनको धारणा छ।

यो भू-उपग्रहलाई सञ्चालन गर्न जमिनमा पनि पूर्वाधार राख्नुपर्ने हुन्छ।

त्यसका लागि उपकरण खरिद गर्न नास्टले बोलपत्र आह्वान गरिसकेको छ।

 

Share Now

Leave a comment.