Prakash Adhikari April 29, 2019

काठमाडौं,१६ बैशाख । नेपाली कांग्रेसका सभापति तथा संघीय संसदमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले नेपालको सार्वजनिक खरिद इतिहासको सबैभन्दा ठूलो भ्रष्टाचार भएको वाइडबडी जहाज खरिद काण्ठका दोषिलाई कानुनको कठघरामा ल्याउन सरकार असफल भएको बताउनुभएको छ ।

संघीय संसदको चौथो अधिवेशनको पहिलो बैठकमा प्रतिनिधिसभामा बोल्दै कांग्रेस सभापति देउवाले बाइडबडीको कुरा उठाउनुभएको हो ।

उहाँले सरकारको भ्रष्टाचारविरुद्धको शून्यसहनशीलताको नारा निरर्थक रहेको उल्लेख गर्दै सरकार र सत्तारुढ दलका नेताहरु दिनदिनै करोडौ र अर्बौ रुपैयाको भ्रष्टाचार  र घुसखोरीमा संलग्न भएको समाचारहरु सार्वजनिक भैरहेको उल्लेख गर्नुभयो ।

उहाँले निर्मला पन्तको बलात्कार पछि हत्या भएको प्रकरणमा पनि सरकारले अपराधी पत्ता लगाउन नसकेको उल्लेख गर्नुभयो ।

देउवाले नेपाली कांग्रेसका पालामा शुरुभएर हाल सम्पन्न भएका आयोजनाहरुको रिवन काटेर आफ्नो तारिफ गर्नुबाहेक वर्तमान सरकारको पालामा एउटै पनि नयाँ र दीर्घकालीन लाभको काम हुन नसकेको दावी गर्नुभयो ।

‘विगतको सरकारले गरेको कामको उद्घाटन गरेर आफैंले गरेको भनेर झूटा प्रचार गर्ने बाहेक कुनै काम गरेको छैन’, देउवाले प्रतिनिधि सभा बैठकमा भन्नुभयो, ‘सरकारले चौध महिना देखाउन लायक एउटा पनि काम गरेको देखिएन ।’

देउवाले सरकारले विदेशी लगानीको डिङ हाँकेको तर सरकारले विदेशी अनुदान भित्र्याउन नसकेको बताउनुभयो । ‘विदेशी लगानी भित्र्याउने कुरामा उपलब्धि शून्य सरह छु, देउवाले भन्नुभयो , ‘कानुन, कार्यक्रम, प्रष्टता बिना विदेशी लगानी आकर्षित गर्न सम्भव छैन।’

उहाँले सत्तारुढ दलका केन्द्रदेखि स्थानीय तहका नेताहरु भ्रष्ट्राचारका चुर्लुम्म डुबेको खबरले नागरिकमा निराशा बढेको टिप्पणी गर्दै भन्नुभयो ‘आर्थिक अपचलन अभूतपूर्ण  छ , मेरो पालामा सुरु भएको सामाजिक सुरक्षा कार्यक्रम आफैँले गरेको भनि तामझाम साथ प्रचार गर्ने, कांग्रेसको पालामा थालिएको भेरीबबईको रिबन काट्ने बाहेक सरकारले केही सफलता प्राप्त गर्न सकेको छैन।’

देउवाले चिकित्सा शिक्षा विधेयक पास गराउने क्रममा सरकारले गैर जिम्मेवारीपूर्ण व्यवहारको पराकाष्ठा प्रस्तुत गरेको बताउनुभयो ।

‘भ्रम छर्ने बाहेक केही सफलता प्राप्त भएका छैनन्’, देउवाले भन्नुभयो, ‘सरकारले समय खेर फालेको छ। गफ र नारामा होइन जनताले साँच्चिकै काममा उपलब्धी खोजेको छन्।’

Share Now

Leave a comment.