Prakash Adhikari April 30, 2019

काठमाडौं, १८ बैशाख । नेपाली कांग्रेसका सभापति तथा संसदमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले लोकतन्त्रमा मात्र श्रमको सम्मान हुने बताउनु भएको छ ।

अन्तर्राराष्टिय श्रमिक दिवस मे १ को अवसरमा एक शुभकामना सन्देश दिंदै उहाँले सो कुरा बताउनु भएको हो ।

यस दिनलाई श्रमिक वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिनको रुपमा परिभाषित गर्दै उहाँले सबै श्रमिकहरुमा शुभ–कामना पनि दिनुभएको छ ।

तात्कालिन नेपाली राष्टिय कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगरमा मजदूरहरुको पहिलो ऐतिहासिक आन्दोलन भएको उल्लेख गर्दै उहाँले भन्नुभएको छ ,’ नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन थियो । त्यसैले नेपाली कांग्रेस र मजदूरहरु सधैं एक अर्कामा आवद्ध भएर एक अर्काका अनन्य सहयोगी भएर रहिआएको कुरा सर्वविदितै छ ।’

उहाँले विराटनगरको मजदूर आन्दोलनलाई सरकारले त्यो निर्ममतापूर्वक दवाउने नीति अख्तियार गरेर— जननायक बी.पी. कोइराला लगायत धेरै नेताहरुलाई पक्राउ गरेको पनि स्मरण गराउनुभएको छ ।

उहाँले नेपाली कांग्रेस मजदूरमैत्री भएको जिकीर गर्दै भन्नुभएको छ , ‘२०१६ मा नेपाली कांग्रेसको जन–निर्वाचित सरकारले नै कारखाना र मजदूर सम्बन्धी कानूनको तर्जुमा गरेर, मजदूरहरुलाई कानूनसम्मत् अधिकार प्रदान गरेको हो । नेपाली कांग्रेसको नेतृत्व र अग्रसरतामा श्रमिकहरुको अधिकार सुनिश्चित गराउन २०४८ सालमा श्रम ऐन, २०४९ सालमा ट्रेड युनियन ऐन र २०७४ सालमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र संशोधित श्रम ऐन ल्याइएको थियो ।’

कांग्रेस सभापति देउवाले श्रमिकको समस्यालाई समाधान गरेर उनीहरुको हक र हितको सम्वद्र्धन गर्न नेपाली कांग्रेस सदैव सचेत भएर लागिरहेको पनि उल्लेख गर्नुभएको छ ।

उहाँले नेपालको संविधान बमोजिम नेपाली कांग्रेसको नेतृत्वमा तीनै तहको ऐतिहासिक महत्वका निर्वाचनहरु सम्पन्न भई संविधानको सफल कार्यान्वयन भैसकेको र संक्रमणकालिन राजनीतिबाट मुलुकले निकास पाएको उल्लेख गर्दै लोकतन्त्रमा मात्र श्रमको सम्मान हुने भएको हुँदा लोकतन्त्रको रक्षा र सम्वद्र्धन गर्नु सबैको कर्तव्य र दायित्व भएको बताउनुभएको छ ।

Share Now

Leave a comment.