Prakash Adhikari May 2, 2019

 

बैंकक(थाइल्याण्ड),१९बैशाख (बीबीसी) । थाईल्यान्डका राजाले आफ्नी अङ्गरक्षकसँग बिहे गरेर उनलाई महारानीको उपाधि प्रदान गरेका छन्।

उक्त अप्रत्याशित घोषणा शनिवार सुरु हुन लागेको उनको औपचारिक राज्याभिषेक समारोहको केही दिन अगाडि भएको छ।

छैसट्ठी वर्षीय राजा महा वजिरालङ्कर्न सन् २०१६ मा उनका पिताको निधनपश्चात् थाईल्यान्डका राजा बनेका हुन्।

यसअघि उनको तीन पटक विवाह र सम्बन्धविच्छेद भएको थियो।

वजिरालङ्कर्नका सात छोराछोरी छन्।

पदोन्नति

थाई राजा र रानी
थाईल्यान्डमा जारी गरिएको शाही विज्ञप्तिमा राजा बजिरालङ्कर्नद्वारा जनरल सुथिदा बजिरालङ्कर्नलाई महारानी सुथिदामा पदोन्नति गर्ने निर्णय गरिएको जनाइएको छ।

रानी सुथिदा लामो समयदेखि राजा बजिरालङ्कर्नको साथ छिन् र कैयौँ वर्षदेखि उनलाई राजासँगै सार्वजनिक स्थलमा देखिएको थियो।

तर दुई जनाबीचको सम्बन्धलाई यसअघि आधिकारिक रूपमा स्वीकारिएको थिएन।

थाई टेलिभिजन च्यानलहरूमा बुधवार प्रसारित वैवाहिक समारोहको दृश्यमा राजपरिवारका अन्य सदस्य एवम् दरबारका भारदार उपस्थित देखिन्छ।


राजाले रानी सुथिदाको शिरमा पवित्र जल छर्किएको देखिन्छ। त्यसपछि राजदम्पतिले विवाह रजिस्टरमा हस्ताक्षर गरेको देखिन्छ।

सन् २०१४ मा बजिरालङ्कर्नले थाई एअरवेजकी भूतपूर्व परिचारिका सुथिदालाई आफ्नो अङ्गरक्षक दलको उपकमान्डर नियुक्त गरेका थिए।

सन् २०१६ को डिसेम्बरमा उनलाई जनरलमा बढुवा गरियो।

यसअघि बजिरालङ्कर्नका बुवा राजा पूमिपोन अदुन्यादेतले ७० वर्षसम्म शासन गरेका थिए।

सन् २०१६ मा निधन हुँदा उनी विश्वमै सबभन्दा लामो समय शासन गर्ने राजा थिए।

Share Now

Leave a comment.