सानेपा(ललितपुर),१८ बैशाख । नेपाली कांग्रेसको सभापति देउवाले पार्टी कार्यकर्ताहरुलाई आगामी निर्वाचन जित्ने लक्ष्य लिएर काम गर्न आग्रह गर्नु भएको छ ।
सभापति देउवाले पार्टी कार्यालय सानेपामा आयोजित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्यहरुको सपथग्रहण कार्यक्रममा उक्त काुरा बताउनुभएको हो
उहाँले पार्टीभित्र आन्तरिक अनुशासन पनि हराउँदै गएको भन्दै पार्टी अनुशासनका सम्बन्धमा कार्यकर्तामाझ प्रशिक्षण सञ्चालन गर्न पनि सुझाव दिनुभएको थियो ।
सभापति देउवाले पार्टीभित्र लोकतान्त्रिक अभ्यास र संस्कार हराएको बताउदै आन्तरिक चुनावमा पराजित भएकाले विजयी उम्मेदवारलाई सहयोग गर्नुको सट्टा बोलचालै बन्द गर्ने संस्कृति हावी हुँदै जाँदा सिंगो पार्टी पक्तिनै कमजोर हुने भएकोले त्यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विमलेन्द्र निधिले प्रतिष्ठानले नीति निर्माण, खोज अनुसन्धान र कार्यकर्ता प्रशिक्षणमा पार्टीलाई सहयोग गर्ने बताउनुभयो ।
प्रतिष्ठानका प्रमुख रहनुभएका उपसभापति निधिले सदस्यहरूलाई सपथ गराउनुभएको थियो ।
कांग्रेसमा पार्टीको उपसभापति प्रतिष्ठानको प्रमुख हुने व्यवस्था छ ।
५१ सदस्यीय प्रतिष्ठानमा ४८ जना सदस्य पुगेका छन् ।


















