सगरमाथा आधार शिविर(सोलखुम्बु),२० बैशाख । सगरमाथा आरोहणको याम चलिरहँदा आएको हावाहुरीले सर्वोच्च शिखरका माथिल्ला दुई शिविरका टेन्टहरू उडाएको अधिकारीहरूले बताएका छन्।
फानी र पश्चिमी वायुको असरका कारण बिहीवार बेलुका र शुक्रवार बिहान आएको हुरी आएको थियो। जसले क्याम्प टु र क्याम्प थ्रीमा रहेका झण्डै डेढ दर्जन टेन्ट उडाएका थिए।
थप केही दिन हुरी र वर्षाको पूर्वानुमान भइरहँदा सुरक्षित स्थानमा रहन आग्रह गरिएको पर्यटन विभागकी पर्वतारोहण हेर्ने निर्देशक मीरा आचार्यले बताइन्।
“हामीले अत्यन्त जरूरी सूचनाका रूपमा सम्बन्धित क्षेत्रमा पत्राचार गरिसकेका छौँ, अहिले माथिल्ला क्याम्पबाट आधार शिविर झर्ने क्रम चलिरहेको छ।”
‘आरोहिहरू सुरक्षित’
क्याम्प टुमा हुरीले केही टेन्ट उडाए पनि कुनै मानवीय क्षति नभएको अधिकारीहरू बताउँछन्।
झण्डै ६ हजार चार सय मिटरको उचाइमा रहेको क्याम्प टुमा चुचुरोमा पुग्ने बेलाका लागि थुप्रै खाद्यान्न, अक्सिजनका सिलिन्डर र अन्य बन्दोबस्तीका सामान भण्डारण गरिएका हुन्छन्।
“क्याम्प टु मा भान्छाका सामान समेत भएका ठूल्ठूला टेन्टहरू उडाएको खबर छ,” हाल नाम्चे बजारमा रहेका नेपाल सरकारका एकजना सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए।
“त्यस माथिको क्याम्प थ्रीका पालमा समेत असर देखिए पनि त्यहाँ आरोहीहरू भने जाने क्रममा मात्र थिए।”
माथिल्ला क्याम्पमा हिउँमाथि नै टेन्टहरू राखिने हुँदा ती धेरैजसो ढुङ्गाले थिचेर राख्ने गरेको आरोहीहरू बताउँछन्।
शुक्रवार बिहान क्याम्प टुबाट आधार शिविर झरेका एकजना आरोही चतुर तामाङ् भन्छन्, “आरोहीहरू स-सना टेन्टमा बस्ने हुँदा आरोहीहरू रहेकामा भने असर परेन। तर खाली टेन्टहरू भने हावाले उडायो।”
आधार शिविरमा भने हुरीको कुनै असर परेको छैन। माथिल्ला शिविर र आधार शिविर बीचमा बरफका अस्थिर चट्टानहरू रहने खुम्बु आइसफल हुँदै आउजाउ गर्नुपर्छ।
त्यसरी हिँड्न बिहान र रातिको समय सुरक्षित मानिन्छ र आवश्यक पर्दा जुनसुकै बेला आउजाउ गर्ने चुनौती हुनेगर्छ।
तयारी
मे महिनाको मध्यतिरबाट चुचुरो पुग्न मौसम खुल्ने अनुमान गरिएको छ।
जसकारण अहिले आरोहिहरू माथिल्ला उचाइ र त्यहाँको चरम मौसम अनुकूल हुनका लागि माथिल्ला क्याम्पमा आउजाउ गरिरहेका छन्।
अघिल्ला वर्षहरूमा चुचुरो पुग्नुअघि आरोहीहरू थुप्रै पटक माथिल्ला क्याम्पसम्म आउजाउ गरेर शिखर पुग्ने बाटोका लागि आफूलाई अभ्यस्त गर्थे।
तर विभिन्न अध्ययनले बढ्दो तापमानका कारण खुम्बु आइसफल अस्थिर बनिरहेको बताइरहँदा धेरै आरोहीहरूले अहिले त्यसतर्फको आउजाउ एक-दुई पटकलाई सीमित पार्न थालेको आरोहीहरू बताउँछन्।
सन् २०१४ मा खुम्बु आइसफलमा गएको हिमपहिरोले १६ जनाको मृत्यु समेत भएको थियो।
त्यसको विकल्पको रूपमा उनीहरू आसपासका कालापत्थर पर्वत, पुमोरी हिमालका माथिल्ला क्याम्प वानसम्म पुग्न थालेका छन्।
सोलुखुम्बुस्थित बीबीसी संवाददाता सुजाता तामाङ् भन्छिन्, “सगरमाथा आधार शिविरमा अहिले सगरमाथा, लोत्से र नुप्से हिमाल चढ्ने पाँच सयभन्दा बढी आरोही छन्।”
उनीहरूलाई सघाउने शेर्पा सरदार, आधार शिविर व्यवस्थापन गर्ने मानिसहरू लगायत अहिले झण्डै दुई हजार मानिसहरू टेन्टको शहर मानिने आधार शिविरमा छन्।
बीबीसीबाट