Prakash Adhikari May 16, 2019

काठमाडौं,२ जेठ । पार्टी एकताको एक बर्षपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयले पार्टी अन्तरगतका विभिन्न जनवर्गीय संगठनको नेतृत्व टुंग्याएको छ।

बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले जनवर्गीय संगठनको नेतृत्व टुंग्याएको हो।

नेकपाको उच्च सूत्रले दिएको जानकारी अनुसार विद्यार्थी मजदूर र बुद्धिजीबि संगठनको नेतृत्व पूर्व एमालेमा रहेकाहरुलाई दिइएको छ भने युवा, महिला र पत्रकारका संगठनको नेतृत्व पूर्व माओवादी संगठनबाट आएकाहरुले गर्नेछन् ।

सचिवालयले भागवण्डा अनुरुप पूर्व एमालेको जनवर्गीय संगठनको नेतृृत्वमा रहनुभएकाहरुबाटै विद्यार्थीको ऐन मगर, मजदुरको विनोद श्रेष्ठ र बुद्धिजिविको दिनेशचन्द्र देवकोटालाई संयोजकको जिम्मेवारी दिएको छ । त्यस्तै सचिवालयमा तत्कालिन नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठनमा रहेका मध्ये युवामा रामप्रसाद सापकोटा दीपशिखा, महिलामा अमृता थापामगर र पत्रकारको संयोजकमा महेश्वर दाहाललाई संयोजकको जिम्मेवारी दिने सहमति बनेको छ ।

सचिवालय सूत्रका अनुसार पेशागत महासंघको संयोजकमा विश्वनाथ प्याकुरेल, प्रवासी नेपाली मञ्च भारतको संयोजकमा लोकनाथ भण्डारी, जनसांस्कृतिक महासंघको संयोजक खगेन्द्र राई, दलितको संयोजक तिलक परियार, भूपू सुरक्षाकर्मी संगठनको संयोजक धनबहादुर चन्द र मुस्लिम संगठनको संयोजक महमद फरुकीलाई दिने सहमति पनि भएको छ।

त्यस्तै विद्यार्थीको सहसंयोजकमा माओवादीका रञ्जित तामाङ, युवाको सहसंयोजकमा एमालेका रमेश पौडेल, महिलाको सहसंयोजकमा एमालेकी सीता पौडेल, मजदुरको सहसंयोजकमा माओवादीका जगत सिंखडा, प्रेस संगठनको सहसंयोजकमा एमालेका गणेश बस्नेत र बद्धिजिवीको सहसंयोजकमा माओवादीका कृष्ण केसीलाई जिम्मेवारी दिइने भएको छ ।

सचिवालयले प्रवासी नेपाली मञ्च भारतको सहसंयोजक ईश्वरी भण्डारी, पेशागत महासंघको सहसंयोजक दयाराम बस्याल, जनसांस्कृतिक महासंघको सहसंयोजक सरल सहायात्री र मुस्लिम संगठनको सहसंयोजक अत्तहर हुसेन फारुकी, दलितको सहसंयोजकको जिम्मेवारी ओमबहादुर विश्वकर्मालाई दिने सहमति जुटाएको छ।

पार्टी एकीकरण भएको बार्षिकोत्सवको अवसरमा शुक्रबार नै जनवर्गीय संगठनको नेतृत्वको नाम र जिम्मेवारी सार्वजनिक गरिने बताइएको छ ।

Share Now

Leave a comment.