लण्डन(संयुक्त अधिराज्य), २६ जेठ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्याण्डले बंगलादेशलाई १ सय ६ रनको फराकिलो अन्तरले पराजित गर्दै इंग्ल्याण्डले दोस्रो जित निकालेको छ ।
कार्डिफमा जेसन रोयको बिस्फोटक ब्याटिङमा इंग्ल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ८६ रन बनाएको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डका लागि ओपनर रोयले १सय ५३ रनको शतकीय इनिङ्स खेले ।
रोयले पहिलो विकेटका लागि ओपनर जोनी ब्रेस्ट्रोसंग १ सय २८ रनको साझेदारी गरेका थिए । जोनीले ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै जोस बट्लरले ६४ रनको अर्धशतकीय इनिङ्स खेल्दा जोय रुटले २१ रन बनाए । त्यस्तै इयान मोर्गन ३५ तथा बेन स्टोक्स ६ रनमा आउट भए ।
बंगलादेशका मोहमद सइफुदिन र हसन मिराजले सार्वधिक समान २।२ विकेट लिए ।
इंग्ल्याण्डले दिएको ३ सय ८७ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४८ ओभर ५ बलमा अलआउट हुँदै २ सय ८० रनमा समेटियो ।
बंगलादेशका लागि शकिब अल हसनले १ सय २१ रनको शतकीय इनिङ्स खेलेपनि जितको लागि त्यो पर्याप्त भएन ।
बंगलादेशका यस्तै मुस्फिकर रहिमले ४४ रन जोड्दा महमद ममुदउल्लाहले २८ तथा मोसाडेक होसेनले २६ रन बनाए ।
बंगलादेशलाई सस्तैमा समेट्न जोफ्रा आर्चर र बेन स्टोक्सले ३। ३ विकेट लिए । मार्क उडले २ विकेट लिए ।
जितसंगै इंग्ल्याण्डले ३ खेलमा ४ अंक जोडेको छ । र, तालिकाको दोस्रो स्थानमा रहेको छ । बंगलादेशको यो दोस्रो हार हो । बंगलादेशले ३ खेलमा २ अंक जोडेको छ ।