Prakash Adhikari June 10, 2019

 

जेनेभा(स्वीजरल्याण्ड), २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली युरोपका विभिन्न मुलुकको भ्रमणको सिलसिलामा आइतबार स्वीट्जरल्याण्डको जेनेभा पुग्नुभएको छ । उहाँलाई जेनेभा अन्तरराष्ट्रिय विमानस्थलमा जेनेभास्थित संयुक्त राष्ट्र सङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनका लागि स्वीस महासङ्घका स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराई एवं नियोगका अधिकारी, जेनेभा क्यान्टनका काउन्सिलर तथा स्वीस वरिष्ठ अधिकारीले स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री ओली जेनेभामा भइरहेको अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को शतवार्षिकी समारोहमा सहभागी हुन स्वीट्जरल्याण्डको भ्रमणमा आउनुभएको हो । प्रधानमन्त्री ओलीले आइएलओको शतवार्षिकी समारोहलाई सोमबार सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई र प्रेस सल्लाहकार डा कुन्दन अर्याल तथा सांसद विमलप्रसाद श्रीवास्तव र विन्दा पाण्डे हुनुहुन्छ ।

परराष्ट्र सचिव शङ्करदास वैरागी, श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहाल तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीलगायत पनि प्रतिनिधिमण्डलमा सहभागी हुनुहुन्छ । गैह्रसरकारी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा र रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकाल जेनेभा भ्रमणमा सहभागी हुनुहुन्छ । ९रासस०

Share Now

Leave a comment.