कोपनहेगन(डेनमार्क),६ आषाढ । विश्वभर छरिएका नेपाली कांग्रेसप्रति आस्थावान नेपालीहरुले गठन गरेका जनसम्पर्क समितिका अगुवा नेताहरुको विश्वभेला डेनमार्कको राजधानी कोपनहेगनमा आज(शुक्रबार)देखि तीनदिनसम्म चल्ने भएको छ ।
विश्वभेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन विश्वभरका नेपाली जनसम्पर्क समितिका सभापति तथा अगुवा नेताहरु डेनमार्कमा आउन थाल्नुभएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा नेपाली जनसम्पर्क समिति डेनमार्कको संयोजनमा हुने सो कार्यक्रममा सहभागी हुन प्रतिष्ठानका संयोजक तथा कांग्रेस उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा. सशांक कोइरालासहित केन्द्रीय सदस्यहरुको टोली पनि डेनमार्क आईपुगेको छ ।
यस प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति एवम् केन्द्रिय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान बिमलेन्द्र निधी, नेपाली काँगेस पार्टीका पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, नेपाली काँगेस पार्टीका केन्द्रिय सदस्य गगन थापा, नेपाली काँगेस पार्टीका केन्द्रीय सदस्य एवं केन्द्री अनुशासन समितिका संयोजक भिष्मराज आङदम्बे, केन्द्रीय सदस्य एवम् केन्द्रिय अनुशासन समितिका सदस्य धनराज गुरुङ, नेपाली काँगेस पार्टीका केन्द्रिय सदस्य नवीन्द्रराज जोशी, नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रा. पुरुषोतम दाहाल लगायतका केन्द्रीय नेतागणहरु प्रशिक्षण कार्यक्रममा सहभागी हुनुहुने नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति विरेन्द्र सिंह काकीले जानकारी दिनुभएको छ ।
कार्यक्रम कोपहेगनको रिचमण्ड होटलको सेमिनार हलमा आयोजना हुने बताएको छ ।


















