Prakash Adhikari July 24, 2019

लण्डन(संयुक्त अधिराज्य), ८ साउन(बीबीसी) । ब्रिटेनको कन्जर्भेटिभ दलले प्रधानमन्त्री टरिजा मेको उत्तराधिकारीका रूपमा बोरिस जनसनलाई चुनेको छ।

टोरी दलको नेतृत्वको प्रतिष्पर्धाको परिणाम मंगलबार ब्रिटेनको स्थानीय समयानुसार  पौने १२ बजे घोषणा भएको हो।

दलका लगभग एक लाख ६० हजार सदस्यले गरेको मतदानको निर्णय लण्डनमा सार्वजनिक भएको हो।

परिणाम सार्वजनिक भएपछि नयाँ नेताका रूपमा जनसनले पार्टीपंक्तिलाई सम्बोधन गरेका थिए।

नम्बर १० डाउनिङ स्ट्रिट

बुधवार उनले टरिजा मेको उत्तराधिकारीका रूपमा ब्रिटेनको नयाँ प्रधानमन्त्रीको सपथ ग्रहण गर्नेछन्।

अर्थमन्त्री फिलिप ह्यामन्ड र कानूनमन्त्री डेविड गेउकले जनसन प्रधानमन्त्री भए पदबाट राजीनामा दिने बताएका थिए।

जनसनको सम्भावित जीतलाई ध्यान दिँदै विरोधमा विदेश मन्त्रालयका एक जना मन्त्री सर एलन डन्कनले पहिले नै राजीनामा दिएका थिए।

दलका वरिष्ठ नेताहरूले लण्डनका पूर्वमेयर बोरिस जनसनको नेतृत्वमा सरकारमा सहभागी नहुने बताए पछि उनी शुरूदेखि नै जितको दाबेदार देखिएका थिए।

ब्रिटेन युरोपेली सङ्घबाट बाहिरिने नीतिमा आफ्नै दलका सांसदहरूको विरोध खेपेकी प्रधानमन्त्री टरिजा मेले संसद्‍मा बुधवार हुने प्रश्नोत्तरमा सहभागी भएपछि महारानी एलिजावेथ समक्ष आफ्नो राजीनामा प्रस्तुत गर्नेछिन्।

उनको उत्तराधिकारीले त्यसको केही समयपछि नै महारानीसँग भेटेर कार्यभार सम्हाल्ने छन्।

मतदान प्रक्रिया

देशभरीबाट दलका सदस्यहरूले गएको साढे दुई सातामा पत्रमार्फत् मतदान गरेका हुन्।

यो कन्जर्भेटिभ दलको इतिहासमा सदस्यहरूले प्रधानमन्त्री छान्न पाएको पहिलो अवसर हो।

गत महिना अन्तिम दुई नेताको नेतृत्वको प्रतिस्पर्धा सीमित भएदेखि नै सन् २०१६ मा ब्रिटेनले युरोपेली सङ्घ छोड्नुपर्ने भन्दै प्रचारप्रसारमा लागेको जनसन नेतृत्वका लागि अगाडि रहेका थिए।

पूर्वमन्त्री डोमिनिक राबले स्काई न्यूज टिभीलाई पहिलो चरणको मतदानमा ५० प्रतिशत सांसदको मन जितेका जनसन दललाई एकताबद्ध गर्न उपयुक्त स्थानमा रहेको बताएका थिए।

अर्का मन्त्री जेम्स ब्रोकेनसायरले च्यानल फोरलाई जनसन युरोपसँग सबैभन्दा राम्रो प्रस्ताव प्राप्त गर्न र त्यो प्रस्तावलाई संसद्‍बाट पारित गर्न उपयुक्त व्यक्ति भएको बताएका थिए।

ब्रिटेनको सांसदले मेको प्रस्तावलाई तीनपटक अस्वीकार गरेको थियो।

विदेशमन्त्री हन्टले आफू युरोपबाट बाहिरिने राम्रो प्रस्ताव प्राप्त गर्न उपयुक्त स्थानमा रहेको र युरोपले दिएको समयसीमा थप गर्न सक्ने बताएका थिए।

जनसनले भने अक्टोबर ३१ भित्रै ब्रिटेनलाई युरोपेली सङ्घबाट बाहिर ल्याउन आफू कटिबद्ध भएको बताएका छन्।

चान्सलर फिलिप ह्यामण्ड, न्यायमन्त्री डेभिड गोक र अन्तर्राष्ट्रिय विकासमन्त्री रोरी स्टेवार्टले जनसन विजयी भएमा राजीनामा गर्ने बताएका थिए।

प्रधानमन्त्रीले के गर्छन्?

प्रधानमन्त्री सरकार प्रमुख हुन् र उनलाई महारानीले नियुक्त गर्नेछिन्। ब्रिटेनमा सामान्यतया: आम निर्वाचनमा विजयी पार्टीको नेता नै प्रधानमन्त्री हुने चलन छ।

मन्त्रीहरू नियुक्त गर्नु प्रधानमन्त्रीको काम हो। थोरै सांसदहरूले मात्र मन्त्रीको भूमिका पाउँछन्। वरिष्ठ मन्त्रीहरू मात्र मन्त्रीपरिषद्को सदस्य बन्न पाउँछन् ।

प्रधानमन्त्रीले कुनै पनि समयमा मन्त्री नियुक्त गर्न र हटाउन सक्छन्।

उनले मन्त्रालयहरू खारेज गर्न र नयाँ बनाउन पनि पाउँछन्।

चान्सलर भनिने अर्थमन्त्रीका साथ प्रधानमन्त्री कर र व्यय नीतिको हर्ताकर्ता पनि हुन्।

बोरिस जन्सन
प्रधानमन्त्रीले नयाँ कानुनहरू ल्याउन पनि सक्नेछन् तर संसद्‌ले तिनलाई समर्थन गर्नुपर्छ।

प्रधानमन्त्री सरकारका सबैखाले नीति र निर्णयहरूका लागि जिम्मेवार हुन्छन्।

प्रधानमन्त्रीसँग अन्य कुन-कुन शक्ति हुन्छ?

सरकारी निर्णयहरू कार्यान्वयन गर्ने व्यक्तिहरू तथा विभागहरू रहने नागरिक प्रशासन प्रधानमन्त्रीको समग्र नियन्त्रणमा रहन्छ। प्रशासनले नै नाइटहुड र डेमहुड लगायत मान, पदवी, तक्मा, पुरस्कारहरूबारे निर्णय गर्छन्। तिनीहरूले लर्ड भनिने संसदको माथिल्लो सभाका मनोनित सदस्यहरू पनि नियुक्ति गर्न सक्छन्।

प्रतिरक्षा र सुरक्षासँग सम्बन्धित धेरै प्रकारका जिम्मेवारी पन‌ि प्रशासनकै हुन्छ।

उदाहरणका लागि, उनीहरूसँग यूकेको सेनालाई परिचालन गर्ने शक्ति हुन्छ। तर हालैको प्रचलन अनुसार त्यस्तो सेना परिचालनको निर्णयलाई संसदीय अनुमोदन प्राप्त हुनु पर्छ।

कतिपय विशेष जिम्मेवारी पनि प्रधानमन्त्रीकै काँधमा हुन्छ। जस्तो कि अपहरणमा परेको वा नचिनिएको हवाई जहाजलाई आक्रमण गरेर खसाल्ने वा नखसाल्ने भन्ने जस्ता निर्णयहरू।

उनीहरूले यूकेको परमाणु हतियारको प्रयोगलाई पनि अनुमोदन गर्न सक्छन्।

प्रधानमन्त्रीलाई कसरी उत्तरदायी बनाइन्छ?

यस्तो शक्ति भए पनि ब्रिटेनका प्रधानमन्त्रीले आफूखुशी जे पनि निर्णय गर्न पाउँदैनन्।

त्यसका लागि उनले बहुमत सांसदहरूको विश्वासको मत लिनुपर्ने हुन्छ।

किनकी विधेयक पारित हुन बहुमत सांसदको भोट आवश्यक पर्दछ।

बोरिस जन्सन

यदि सरकार संसदमा पटक पटक पराजित भएमा सांसदहरूले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेस गर्न सक्छन्। यदि प्रधानमन्त्रीले अविश्वासको प्रस्तावमाथिको संसदीय मतदानमा हारे भने देशमा आम निर्वाचन गर्नुपर्ने हुन पनि सक्छ।

यदि प्रधानमन्त्रीको पार्टीले आम निर्वाचन हारे भने उनले राजीनामा दिनुपर्छ र विजयी पार्टीको नेतालाई प्रधानमन्त्री बन्न बाटो बनाइदिनु पर्छ।

यदि प्रधानमन्त्रीले देशको हीत विरूद्ध काम गरेका छन् भन्ने लागेमा, सैद्धान्तिक रूपमा , महारानीसँग प्रधानमन्त्रीलाई बर्खास्त गर्ने शक्ति छ। तर त्यसले संवैधानिक संकट पैदा गर्नसक्छ।

कसले प्रधानमन्त्री चुन्न पाउँछन्?

बोरिस जनसनले कन्जरभेटिभ पार्टीका सांसद र साधारण सदस्य दुवैको समर्थन पाउनु आवश्यक थियो।

सुरूमा १० जना टोरी सांसदहरू सम्भावित प्रधानमन्त्रीका रूपमा मनोनित भए।

तर कन्जरभेटिभ सांसदहरूको श्रृङ्खलाबद्ध गोप्य मतदानहरूले त्यो संख्यालाई दुईमा झार्दै बोरिस जनसन र जेरमी हन्टलाई अन्तिम प्रतिष्पर्धी बनाए।

टोरी पार्टीका सदस्यहरूले भोट दिनु पूर्व दुवैजना विभिन्न बहसमा सामेल भएका थिए।

यसको अर्थ हो करिब १ लाख ६० हजार मानिसले ६ करोड ५० लाख भन्दा बढी जनसंख्याका लागि नेता चुनेका थिए भन्ने हो। बोरिस जनसनले ९२ हजार १ सय ५३ भोट ल्याए भने जेरमी हन्टले ४६ हजार ६ सय ५६ भोट ल्याए।

अधिकांश कन्जरभेटिभ पार्टीका सदस्यहरू ५५ वर्ष माथिका छन् र अधिकांश उच्च सामाजिक वर्गबाट आएका छन्।

आम निर्वाचन किन भएन ?

नयाँ प्रधानमन्त्री चयन गर्नका लागि आम निर्वाचन नै हुनुपर्छ भन्ने जरुरी हुँदैन।

कन्जरभेटिम पार्टी पहिले देखि नै सत्तामा छ र जबसम्म बोरिस जनसनले बहुमत सांसदको समर्थन प्राप्त गर्छन् नयाँ आम चुनाव गर्नु पर्दैन।

यदि उनले कुनै बेला चुनावको घोषणा गर्न चाहे भने दुई तिहाई सांसदको समर्थन आवश्यक पर्छ।

यसले ब्रेक्जिटलाई कहाँ पुर्‍याउँछ?

टरिजा मेको बहिर्गमनका बावजुद ब्रेक्जिट समस्या हल हुने सम्भावना धेरै टाढा छ।

छिमेकी युरोपेली देशहरू र यूकेको सम्बन्धको भविश्यलाई परिभाषित गर्ने समाधानका साथ आएका बोरिस जनसनलाई त्यसले निक्कै व्यस्त बनाउनेछ।

उनले हालको सम्झौतामाथि पुन: छलफल सुरु गर्ने संकल्प गरेका छन्। जसलाई मेले तीन पटकसम्म संसदबाट पारित गराउन असफल भइन्।

बोरिस जन्सन
ब्रेक्जिटका लागि तोकिएको मिति अगावै एउटा संशोधित सम्झौतामा सहमति हुन्छ भन्ने कुनै प्रत्याभूति छैन।

तर जनसनले भने ३१ अक्टोबरमा यूके नयाँ सम्झौताका साथ वा कुनै सम्झौता विना नै युरोपेली संघबाट बाहिरिने बताएका छन्।

प्रधानमन्त्री पदका सुविधा

प्रधानमन्त्री सन् १७३५ देखि नै ब्रिटेनका प्रधानमन्त्रीको निवास रहँदै आएको लण्डनस्थित टेन डाउनिङ स्ट्रिटमा बस्छन्।

तर यस्मा केही अपवाद पनि छन्। सन् १९९७ मा आफ्नो हुर्कंदो परिवार भएकाले टोनी ब्लेयरले १० नम्बरको दाँजोमा केही ठूलो र फराकिलो नम्बर ११ को घर लिएका थिए।

यसका अतिरिक्त प्रधानमन्त्रीसँग एउटा सरकारी निवास पनि हुन्छ। चेकर्स भनिने त्यो ग्रामिण आवास उनले जुनसुकै बेला प्रयोग गर्न सक्छन्।

बोरिस जनसनले एउटा सरकारी प्रधानमन्त्रीय कार पाउँछन्। हालका लागि यो ‘जागुअर एक्सजे सेन्टिनल’ मोडलको रहेको छ जस्लाई प्रधानमन्त्रीको आवश्यकता अनुसार निर्माण गरिएको हो।

हालका लागि ब्रिटेनका प्रधानमन्त्रीको वार्षिक तलब १ लाख ५० हजार ४ सय २ पाउन्ड तोकिएको छ।

Share Now

Leave a comment.