सानेपा(ललितपुर),९ साउन । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहिबारदेखि बसेको बैठक पार्टीको १४ औं महाधिवेशनमा केन्द्रित भएको छ ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी गरिएको विज्ञप्तिमा जनाइए अनुसार आजको बैठकमा एजेण्डाको दोस्रो बूदा पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरिम व्यवस्था अनुसारको गठन पश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रकृया अघि बढाउने सम्वन्धमा छलफल केन्द्रीत रहेको थियो ।
बिहिबारको बैठकमा केन्द्रीय सदस्यहरु—महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नविन्द्रराज जोशी, डा. चन्द्र भण्डारी, मिन विश्वकर्मा, मोहनबहादुर बस्नेत र देवेन्द्रराज कँडेलले आ–आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।
केन्द्रीय कार्यसमितिको बैठक श्रावण १० गते शुक्रबार दिउँसो १ बजे पुनः बस्नेछ ।
बैठकले पाँचथर जिल्ला नेपाली कांग्रेस फिदिम नगर कार्यसमितिका सभापति एवं सोही नगरपालिका वडा नं. १ का निर्वाचित वडा अध्यक्ष हर्कबहादुर मोक्तान, मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं. १ इकाई सचिव एवं नेपाल भूतपूर्व सैनिक संघ जिल्ला उपाध्यक्ष ५९ वर्षीय बोमबहादुर राउत र बाजुरा जिल्ला साविक छतारा गाउँ कार्यसमितिका सभापति वर्ष ३८ का महारुद्र न्यौपानेको निधनप्रति कार्यसमितिको गहिरो दुःख व्यक्त गर्दैै दिवंगत आत्माको चिर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।


















