भरतपुर(चितवन) २१ पौष । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आर्थिक क्रान्तिको नयाँ प्रक्रियाको थालनी अपरिहार्य भएको बताएका छन् ।
चितवन उद्योग संघको नवौं महाधिवेशनको उद्घाटन गर्दै ‘उनले आफू राष्ट्रको विकासमा सम्पूर्ण रुपमा समर्पित हुने बताए ।
‘अबको युग पनि विकास र समृद्धिको युग हो,’उनले भने,‘हामीले राजनीति क्रान्तिको एउटा अध्याय समापन गरेका छौं, अब आर्थिक क्रान्तिको नयाँ प्रक्रियाको थालनी अपरिहार्य भएको छ ।’
उनले अब पनि मुलुकलाई विकास र समृद्धिले गति दिन नसके सबै दोषी हुने बताए । ‘पहिला राजा र निरकुंशतालाई दोष दिईन्थ्यो अब त्यसो गर्न पनि मिलेन,’ उनले भने,‘अब पनि विकास निमार्णलाई गति दिन सकेनौं भने राजनैतिक नेतृत्वको मात्र असफलता हुने छैन । सिंगो नेपालको राजनैतिक र सबै असफल हुने छौं ।’
चीन र भारत जस्ता दुई छिमेकी देशको विकासबाट लाभान्वित भएर नयाँ नेपालको निर्माण थालनी हुने उल्लेख गरे ।
‘राजनीतिक युग सकिए सँगै देश आर्थिक युगको चरणमा प्रवेश गरेको छ,’ अध्यक्ष दाहालले भने,‘ अव ५ वर्ष द्रुत गतिमा काम गरेर नयाँ युग आएको अनुभूति नागरिकलाई दिलाउनुपर्ने दायित्व बढेको छ ।’
उनले आउने दशकहरु नेपालको समृद्धिको दशक बन्ने ठोकुवा गरे ।
उनले चितवनलाई आर्थिक राजधानी बनाएरै छाड्नै प्रतिबद्धता व्यक्त गरेका पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नो बलबुताले भ्याएसम्म जिल्लाको विकास निर्माणमा लागिरहने स्पष्ट पारेका छन् । दाहालले चितवन केन्द्र र प्रदेशको राजधानी बन्न सक्ने सम्भावना रहे पनि आर्थिक राजधानी भने बनेरै छाड्ने बताए ।
जिल्लालाई आर्थिक विकासको राजधानी बनाउन कसैले रोकेर नरोकिने उनको दाबी छ ।
दाहालले शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण गरेर औद्योगिक विकास गरिने बताए ।
‘यो आर्थिक विकासको हब बोक्ने सम्भावनाको जिल्ला हो,’ उनले भने,‘पूर्व(पश्चिम रेल पनि यही जिल्ला भएर जान्छ ।’
दाहालले यसपटक भने राजनीतिक भाषण गरेनन् । उनले सुरुदेखि जिल्लाको आर्थिक विकासलाई जोड दिएका थिए ।