Prakash Adhikari July 30, 2019

काठमाडौं, १४ साउन । सिंगापुरमा सम्पन्न टी २० विश्वकप २०२० को एशिया छनोट खेलमा आयोजक मुुलुक सिंगापुरसंग पराजित भएकोले शीर्षस्थानमा चढ्नबाट बञ्चित हुँदै तेस्रो स्थानमा रहन बाध्य भएको नेपाली क्रिकेट टीमका कप्तान पारस खड्काले आउने दिनमा खेलको स्तरमा सुधार गर्ने बताएका छन् ।

पराजित टीमका सदस्यहरुलाई साथ लिएर सोमबार राती स्वदेश आइपुगेका पारसले निकै सौम्य मुद्रामा भने, ‘हाम्रो टोली नराम्रो थिएन । त्यस दिनको हाम्रो प्रदर्शन हामी आफैले सोचे अनुकूल हुन सकेन ।’

कप्तान पारसले सिंगापुरको टीममा नयाँ खेलाडीको आगमन पनि भएको र खेलको खेलको स्तर पनि सुधारिएको बताउदै सिंगापुरको पीचमा आफ्नो टीम अभ्यस्त नभएकोले पनि केही असर गरेको बताए ।

खेलमा सबै टीमले सधैभरी जित हासिल गर्ने प्रयत्न गर्ने तर त्यस्तो सुयोग सधैभर कसैलाई प्राप्त नहुने बताउदै खेललाई धेरै कुराले प्रभावित गर्ने बताए । उनले भने, ‘ज्यानको बाजी लगाएरै खेलिएको हो तर नतिजा हाम्रो पक्षमा आएन । प्रतिस्पर्धी टिमको पक्षमा गयो ।’

कप्तान पारस खड्काले आगामी खेलका नतिजाहरु आफ्नो पक्षमा ल्याउन थप सक्रियताका साथ लाग्ने पनि बताए । उनले नेपाली क्रिकेट टीमप्रति नेपाली दर्शकहरुले देखाएको माया र नेपालले जितोस भन्ने सदिच्छाका लागि सबै दर्शक र शुभचिन्तकलाई धन्यवाद पनि दिए ।

Share Now

Leave a comment.