Prakash Adhikari August 21, 2019

 

काठमाडौं,३ भाद्र । पहिलोपटक स्वास्थोपचारका लागि सिंगापुर जानु अगाडिसम्म संसदमा भएको दुईतिहाई बहुमतको डंका पिटेर प्रतिपक्षी लगायत सबैलाई पेल्दै आउनुभएका प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि दोस्रोपटक सिंगापुर जानुपूर्व मंगलबार आयोजित सर्वदलिय बैठकमा निकै साइजमा आउनुभयो । स्वास्थ्यका कारणले गल्नुभएका प्रधानमन्त्री ओलीले पहिलोपटक संविधानसभाबाट निर्मित गणतन्त्र र संघीयता सहितको संविधानमाथि विभिन्न कोणबाट प्रहार भइरहेकोले साढे सात दशकको लोकतान्त्रिक संघर्षको उपलब्धि रक्षाको निमित्त बहुलवादमा विश्वास गर्ने सबै राजनीतिक दलहरुसंग सहयोगको याचना गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आफैले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा राज्य सञ्चालनमा आफूले नेतृत्व गरेको दुई तिहाईको संयुक्त सरकार लगभग असफल भएको आत्मसात गर्दै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुको सहयोगको याचना गर्नुभएको हो । स्वास्थ्य क्षीण हुँदै गएकोले हो वा सरकार गठन भएपछि १८ महिनाको आत्ममूल्यांकनबाट उदाएको ब्रह्म ज्ञानले हो प्रधानमन्त्री ओलीले गणतन्त्र र संघीयताका लागि लडेका दलहरु एकतावद्ध हुनुपर्ने प्रस्ताव ल्याउनुभयो ।

सर्वदलीय बैठकमा सहभागी नेताहरू।

आइतबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्रवादीको सक्रियतालाई लक्षित गर्दै बेमौसमको बाजा नबजाउन आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीको त्रास राजतन्त्रवादी र विप्लवसंग मात्रै हो वा त्यसभन्दा ठूला र बलिया बाह्यशक्तिहरुसंग पनि हो भन्ने कुरा उहाँले सर्वदलिय बैठकमा खुलाउनु भएन । बैठकमा एक सहभागीका अनुसार बिरामीले गल्दै जानुभएका प्रधानमन्त्रीको आत्मबल कमजोर भएको र जीवनको लगभग उत्तरार्धमा सत्य कुरा बोल्ने अवस्थामा पुग्नुभएको यथार्थ भने उहाँको भाग भंगिमाले स्पष्टै देखाएको थियो ।

बैठकमा ओलीले राजावादी र नेकपा विप्लव समूहप्रति निकै आक्रमक हुँदै सविधानमाथि प्रहार भइरहेको छ, यसलाई क्षतविक्षत गर्ने प्रयत्न हुन थालेको देखिएको छ । यसका निम्ति संघर्ष गर्ने पार्टीहरु एकतावद्ध भएर अगाडि बढ्नुपर्छ भनेर भन्नुभएको कुरा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक पछि बताउनु भयो । उहाँले प्रतिगमनकारीहरुले चर्को स्वर गरेका छन् । लोकतान्त्रिक व्यवस्थामाथि नै आक्रमण हुन थालेको छ । प्रधानमन्त्रीले बढी छुट दिएर पो हो कि भन्ने धारणा पनि राख्नुभएको िथयो ।

बैठकमा प्रधामन्त्रीले आफू बिहीबार पुन स्वास्थ्योपचारको लागि सिंगापुर जान लागेको जानकारी पनि दलक नेताहरुलाई गराउनुभएको थियो । उहाँले स्वास्थ्योपचारमा दुईचार दिन लाग्न सक्ने भएकोले हामीले शान्ति प्रक्रियाका बाँकी कामहरुलाई छिट्टै टुंगोमा पुर्याउने प्रक्रियालाई सुचारु गर्नुपर्ने धारणा पनि व्यक्त गर्नुभयो । उहाँको आशय ती कामलाई टुंगोमा लैजाने सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता तथा छानबीन आयोगलाई पूर्णता दिनेतर्फ लक्षित थियो ।यसका लागि बुधबार नेकपा र नेपाली कांग्रेसका नेताहरुको छुट्टै बैठक बस्दैछ।


बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र र संघीयतालाई बलियो बनाउने विषयमा आफूहरु सधैं सकरात्मक रहेको बताउनुभयो। उहाँले सरकारलाई दुई तिहाईका दम्भले हैन, देशको परिस्थिति बुझेर सबै विषयवस्तुमा सरकार पनि गम्भीर र लचिलो भएर प्रस्तुत हुनुपर्ने सुझाव दिदैं भन्नुभयो, ‘प्रेस, मानवअधिकार आयोग, सुरक्षा परिषदलगायत विधेयकमा सरकारले लोकतान्त्रिक चरित्र देखाउन जरुरी छ, यी विषयहरुमा सरकार लचिलो हुनुपर्छ ।

बैठकमा देउवाले सो धारणा राखेपछि नेम्वाङले यी विधेयकहरुका बारेमा सम्बन्धित पक्षहरुसँग पनि परामर्श गरिएको र सच्याएर अघि बढ्न तयार रहेको बताउनुभएको थियो।

बैठकमा राजपाका राजकिशोर यादव र महन्थ ठाकुरले अहिले बदलिँदो राजनीतिक परिस्थितिबाट युवावर्गमा गणतन्त्रप्रति नै वितृष्णा पैदा भएको भन्दै त्यो परिस्थिति सुधार गर्न सरकारबाटै पहल गर्नुपर्ने सुझाव दिनुभयो।

बैठकमा प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, बाबुराम भट्टराई सहभागी हुनुहुन्थ्यो।नेकपाका शीर्ष नेतामध्ये माधवकुमार नेपाल सहभागी हुनुभएन। कांग्रेसबाट उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेताहरू बालकृष्ण खाण, मिनेन्द्र रिजाल सहभागी हुनुहुन्थ्यो ।

सर्वदलीय बैठकमा नेकपाका वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्रीसमेत रहनुभएका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राजपा नेता महन्थ ठाकुरलगायत सहभागी हुनुहुन्थ्यो । बैठकमा नेकपाका मन्त्री रामबहादुर थापा, कानुन मन्त्री भानुभक्त ढकाल सहभागी हुनुभएको थियो ।

प्रधानमन्त्री ओलीले सबै दलहरु एकताबद्ध हुनुपर्ने धारणा सर्वदलीय सरकार बनाएर चुनौतिको सामना गर्ने अभिप्रायले भन्नुभएको हो वा दलहरुलाई फस्ल्याड. फुस्लुड. बनाएर दुई तिहाईका डोजर चलाईराख्ने नियतले भन्नुभएको वा स्वास्थ्य बिग्रदै गएकोले जीवनको उत्तरार्धमा सत्य बोल्न अन्तरात्मादेखि उत्प्रेरित भएर भन्नुभएको हो, यसको जवाफ पाउन भने केही समय कुर्नैपर्ने देखिन्छ ।

Share Now

Leave a comment.