इटहरी(सुनसरी), २३ पौष । राष्ट्रिय जागृति युवा क्लब, इटहरीको आयोजनामा माघ ६ गतेदेखि हुने मदन भण्डारी स्मृति इटहरी गोल्डकप नकआउट फुटबल प्रतियोगितामा स्वदेश तथा विदेशका ८ टोलीले प्रतिस्पर्धा गर्नेभएका छन् ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले दिएको जानकारी अनुसार प्रतियोगिताका विजेताले उपाधिसहित १२ लाख रुपैयाको पुरस्कार दिइनेछ । यो रकम मोफसलकै सर्वाधिक ठूलो उपाधि रकम हुनेछ । हाल धनगढीमा जारी सुदुरपश्चिम गोल्डकपको उपाधि रकम ११ लाख रहेको छ ।
प्रतियोगिताको उपविजेता रु ५ लाखको पुरस्कार पाउने छन् ।
प्रतियोगिता आउँदो माघ ६ देखि १३ गतेसम्म सुनसरीस्थित इटहरी स्टेडियममा हुनेछ ।
प्रतियोगितामा आयोजक राष्ट्रिय जागृति युवा क्लब, नेपाल एपीएफ, नेपाल आर्मी, रुस्लान थ्रीस्टार क्लब, मनाङ मस्र्याङ्दी क्लब, झापा–११, ड्रुक युनाइटेड एफसी (भूटान),र गरिफा स्पोटिड. क्लब, कोलकाता (भारत)को सहभागिता रहनेछ ।