काठमाडौं, २ असोज । यही सेप्टेम्बर २७ देखि सिंगापुरमा हुने टी २० सिरिज र त्यसपछि अक्टोबर ५ देखि ओमानमा सुरु हुने ५ देशीय टि(२० सिरिजको लागि नेपालले टीमको घोषणा गरेको छ। घोषित टीममा कुशल मल्ल र इशान पाण्डेले नयाँ सदस्यको रुपमा प्रवेश पाएका छन् भने पहिले टीममा रहने ज्ञानेन्द्र मल्ल,शरद भेषवाकर र बसन्त रेग्मी टीमबाट बाहिर परेका छन् ।
नेपाली टिमको घोषणा प्रशिक्षक उमेश पटवालले पत्रकार सम्मेलनमार्फत गर्नु भएको हो।टीमको घोषणा गर्नु पहिले ३५ सदस्यीय प्रारम्भिक टोलिको घोषणा गरेर २ साता बन्द सत्र राखेर दिएको प्रशिक्षणमा गरेको प्रर्दशन र यसपूर्वका प्रतियोगिताको प्रदर्शनका आधारमा टीमका सदस्यहरुको घोषणा गरिएको हो।
घोषित टीममा यु १९ समूहका राष्ट्रिय क्रिकेटर कुशल मल्ल, इशान पाण्डेले टिममा पहिलो पटक मौका पाएका छन्।
इशान २०१६ अन्डर १९ विश्वकपमा टिममा रहेता पनि अन्तिम ११ मा पर्न समर्थ भएनन् । त्यसपछि पनि पाण्डेले घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन्। यसै वर्ष प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा पारस खड्का कप्तानीको प्रदेश ३ को लागि खेल्ने क्रममा उनले राम्रो प्रदर्शन गरेका थिए।
उक्त प्रतियोगितामा उनले त्रिभुवन आर्मी क्लब बिरुद्ध ७९, सुदुर पश्चिम बिरुद्ध ५३ रन बनाएका थिए भने गण्डकी प्रदेशसंग अविजित २६ तथा प्रदेश ५ बिरुद्ध अविजित २१ रन बनाएका थिए। उनको प्रदर्शन पनि प्रदेश३ सेमीफाइनलसम्म पुग्नुमा कारण थियो।
प्रधानमन्त्री कपमा तेश्रो नम्बरमा ब्याटिंग गरेका देब्रे हाते ब्याट्सम्यान पाण्डेलाई ज्ञानेन्द्र मल्लको अनुपस्थितिमा ओपनिंग ब्याटिंगमा प्रयोग गर्ने प्रशिक्षक पटवालले बताएका छन्।
यस्तै पहिलो पटक सिनियर टिममा मौका पाएका कुशल मल्ल अन्डर १६ हुँदै अन्डर १९ राष्ट्रिय टीमबाट नियमित रुपमा खेल्दै आएका छन्। गत सिजन एभरेस्ट प्रिमियर लिगमा शरद भेषवावकर कप्तानीको भैरहवा ग्ल्याडीएटर्सबाट खेलेका मल्लले विस्फोटक पारिहरु खेल्दै मन जितेका थिए। त्यसपछि उनले अन्डर १९ मा स्थान बनाएका थिए। मल्ल मध्यक्रममा विस्फोटक ब्याटिंग गर्नको लागि जनिने गर्छन् ।
यस्तै टीममा देब्रे हाते स्पिनर सुशन भारीको कमब्याक गरेका छन्। २०१७ मा बंगलादेशमा सम्पन्न एसीसी इमर्जिंग टिम्स कपमा नेपाली राष्ट्रिय टिमको लागि डेब्यु गरेका भारीले त्यसपछि टिममा मौका पाएका थिएनन्। भारीले प्रधानमन्त्री कपमा कुल १३ विकेट लिएर उत्कृष्ट खेलाडी चुनिएका थिए। यस्तै नेपालगंजमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदमा समेत भारि प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिएका थिए।
सिंगापुरमा नेपालले जिम्बाबे र आयोजक सिंगापुरसंग खेल्नेछ भने ओमानमा आयोजक ओमानसहित, हंगकंग, आयरल्याण्ड, नेदरल्याण्ड र नेपाल गरि ५ टीमहरु खेल्नेछन्। नेपाली टीम २५ सेप्टेम्बरमा सिंगापुर प्रस्थान गर्ने तालिका रहेको छ। सिंगापुर सिरिज पछि टीम त्यतैबाट ओमान प्रस्थान गर्नेछ।
सिंगापुर सिरिजमा नेपालको खेल तालिका
असोज १० : नेपाल र जिम्बावे ,
असोज ११ : नेपाल र सिंगापुर
असोज १४ : गते नेपाल र जिम्बावे ,
असोज १५: गते नेपाल र सिंगापुर
ओमान सिरिजमा नेपालको खेल तालिका
असोज १९ : नेपाल र हङकङ ,
असोज २० : नेपाल र नेदरल्यान्ड्स ,
असोज २२ : नेपाल र आयरल्यान्ड ,
असोज २३ : नेपाल र ओमान


















