काठमाडौं, ३ असोज । हृदयघातका कारण अस्पताल भर्ना भएका पूर्व सांसद हरि बैरागी दाहालको शुक्रबार निधन भएको छ।
गत हप्ता हृदयघातका कारण बेहोस भएपछि बैरागीलाई काठमाडौंको महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।
लामो समयसम्म अचेत रहेका दाहालको आज बिहान ७ बजे निधन भएको हो ।
विद्यार्थी जीवनदेखि नैं राजनीतिमा सक्रिय दाहाल २०५१ सालको चुनावमा संखुवासभा निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेको तर्फबाट सांसद निर्वाचित हुनुभएको थियो ।
लघु जलविद्युत आयोजनाको विकासका अभियन्ताका रुपमा चिनिनुभएका दाहालको अग्रसरतामा सन २००३ तिर संखुवासभामा बरुण,मादी र चैनपुर गरी तीनवटा क्याम्पसको शेयर रहने गरी सामुदायिक शिक्षा विकास जलविद्युत नामक संस्था खोलियो र यसले माओवादीले द्धन्द्धकालमा २००२ मा क्षतिग्रस्त बनाएको २५० किलोवाट क्षमताको जलविद्युत आयोजनालाई सञ्चालन गरी उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरेर त्यसको आम्दानीले कलेज सञ्चालन गर्ने प्रस्ताव अगाडि बढायो । स्थानीय बैंकको १ करोड ८ लाख कर्जा र जर्मन सहयोग संस्था जीटीजेड र विनरक इन्टरनेशनलको सहयोगको सो आयोजना पुनस्थापना गरी सञ्चालन गरियो ।

यो आयोजनाले सञ्चालनको १७ महिनामा नै ३९ लाख आम्दानी गर्यो । बैंकको ब्याज र साँबाको किस्ता भुक्तानी गरी यसले तीनवटै क्याम्पसको सञ्चालन खर्चमात्र सघाउदै आएको छ । उहासंगको भेटमा जलविद्युतको कुरा गर्दा वैरागी भन्नुहुन्थ्यो, ‘जसरी महाकवि लक्ष्मीप्रसाद देवकोटाले मुनामदन बाहेक मेरा सबै कृति जलाईदिए हुन्छ भनेर मुनामदनको सिर्जनाप्रतिको सन्तुष्टि व्यक्त गर्नुभएको थियो भनिन्छ, निगुरे आयोजनाको पुनस्थापनाबाट क्याम्पसको दिगो सञ्चालनमा पुगेको योगदानले जलविद्युतमा र अन्य विकासमा कुरामा भएको मेरो संलग्नता अुोझेलमा रहेको मलाई अनुभूति हुन्छ ।’

मध्य पहाडी राजमार्गको अवधारणा उहाँको अनामनगरमा भएको जलविद्युत आयोजनाको कार्यालयबाट निस्केको थियो ।
अरुण भ्याली जलविद्युत आयोजना,लफिड.बुद्ध जलविद्युत आयोजनाजस्ता लघु जलविद्युत आयोजनाको विकासमा जोडिनुभएका पूर्वसांसद हरिबैरागीले गाँउ,ठाँउ र देशको विकासको लागि सांसद मन्त्री नै हुनुपर्दैन भन्ने उदाहरण प्रस्तुत गरेर देखाउनु भएको थियो ।
पूर्व सांसद एवम् विकासका साधक स्व.दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि आज बिहान नेकपाको पार्टी केन्द्रीय कार्यालय, धुम्बराहीमा राख्ने र आजै दिउँसो दाहसंस्कार गर्ने तयारी गरिएको छ।
उहाँका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन्।


















