काठमाडौं, ७ असोज । नेपाली कांग्रेसले संगठन सुदृढीकरण तथा दुई तिहाईको कम्युनिष्ट नेतृत्वको सरकारले गरेका लोकतन्त्र र जनविरोधी कार्यहरुबारे आम जनतालाई जानकारी गराउने उद्देश्यले थालेको दोस्रो चरणको जागरण अभियान देशका ७७ ओटै जिल्लामा विरोध ¥याली सहित आमसभाको आयोजना गरेर मंगलबार समापन गरेको छ ।
नेपाली कांग्रेसले आफ्नो पार्टीका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री वी.पी. कोइरालाको १०६ औं जन्म जयन्तीको अवसर पारेर भदौ २४ गतेदेखि दोस्रो चरणको जनजागरण अभियान आरम्भ गरेको थियो ।
प्रदेश सभा निर्वाचन क्षेत्रलाई केन्द्रीत गरेर आरम्भ गरिएको यस चरणको अभियानमा नेपाली कांग्रेसले केन्द्रबाट ३ सय ३० जना प्रतिनिधिहरु प्रदेशसभा निर्वाचन क्षेत्रमा पठाएको थियो ।

जागरण अभियानका क्रममा१५ दिने अभियानको अन्तिम दिन आज असोज ७ गते नेपाली कांग्रेसले ७७ जिल्लामा एकसाथ प्रदर्शन गरेको हो । कांग्रेसले बढ्दो महंगीका विरुद्ध , सरकारी संरक्षणमा र मन्त्रीहरुको मिलेमतोमा भएका वाइडबडी, न्यारो वडी, ३३ किलो सुन, राष्टिय परिचयपत्र छपाई लगायतका भ्रष्टाचारका विरुद्ध निर्मला पन्त हत्या लगायत बढ्दो महिला हिंसा, बलात्कार र हत्याका विरुद्ध, राष्ट्रिय सुरक्षा परिषद्, राष्ट्रिय मानवअधिकार आयोग, मिडिया काउन्सिल, नागरिकता, राहदानी लगायत अलोकतान्त्रिक विधेयकहरुका विरुद्ध, दुई तिहाईको कम्युनिष्ट सरकार आएपछि भएका न्यायालय र संवैधानिक निकायमाथिको हस्तक्षेप, निजामति कर्मचारीमाथि भएको भेदभाव र अन्याय, आम जनतामाथि लादिएको अनावश्यक करको भार, अर्थतन्त्रको नाजुक अवस्था र मन्त्रीहरुको अनावश्यक विदेश भ्रमण र फजुल खर्च तथा जिल्ला र स्थानीय तहमा सत्तारुढ दल र तिनका प्रतिनिधिहरुले गरेका जनविरोधी कामहरुको फेहरिस्त सार्वजनिक गर्दै विरोध कार्यक्रम सम्पन्न भएको जनाएको छ ।
देश सभा निर्वाचन क्षेत्रलाई केन्द्रित गरेर गरिएको यो अभियानका क्रममा वीपी जन्मजयन्तीका अवसरमा हरेक प्रदेश निर्वाचन क्षेत्रको उपयुक्त स्थानमा कम्तिमा १०६ वटा विरुवा रोपेर वीपी वाटिकाको निर्माण गरिएको थियो । यस अभियानका क्रममा केन्द्रले देशका ३ सय ३० प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएर १ महिनासम्म विभिन्न गोष्ठी,प्रवचन,आमसभा,घरदैलो, प्रजातन्त्रका सेनानी तथा नेपाली कांग्रेसप्रति समर्पित नेताहरुको सम्मान, किसान,महिला, शिक्षक,विद्यार्थी,युवा,महिला,मजदूर,उद्योगी,व्यापारी, पेशागत व्यवसायी लगायत सेवा निवृत राष्ट््रसेवकहरुसहित देशको विभिन्न विधामा सक्रिय रही देश र जनताको सेवमा समर्पित विभिन्न तह र तप्काका समुदायसंग व्यवसायिक हकहित र देशको विकासका बारेमा नेपाली कांग्रेसको धारण अवगत गराएको थियो ।
नेपाली कांग्रेसले दोस्रो चरणको कार्यक्रम अत्यन्त प्रभावकारी भएको जनाएको छ । यस चरणमा बाँकेको नेपालगञ्जमा सत्तारुढ दलका युवाहरुबाट एक स्थानीय भेलामा आक्रमण भएको थियो । सो आक्रमणमा परी नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाको बाँया हात भाचिनुका साथै दर्जनौ कार्यकर्ता घाइते भएका थिए । त्यसबाहेक देशभर कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
जागरण अभियान क्रममा सामाजिक संवाद, युवा केन्द्रित बिशेष संवाद ,संविधान दिवसका कार्यक्रम, वडा स्तरीय अन्तक्रिया, स्थानीय तहको दुई बर्षै कार्यकालको समीक्षा पनि गरिएको थयो ।
अभियान क्रममा पार्टीका केन्द्रिय प्रतिनिधिहरुले सम्बन्धित क्षेत्रका अग्रजहरु, सहिद परिवारहरु, द्वन्द्वकालका घाइतेहरु एवं विभिन्न आन्दोलनका घाइतेहरुको घरमै पुगेर अवस्था बुझ्ने र देश र कांग्रेसका लागि सल्लाह सुझावहरु लिनुभएको नेपाली कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसले लोकतान्त्रिक पद्धतिको रक्षा र गणतन्त्र,समावेशिता र संघीयता सहितको वर्तमान संविधानको रक्षाका लागि नेपाली संचार जगत, लेखक, वुद्धिजीवि, विभिन्न पेशा व्यवसायमा सरीक व्यक्तित्वहरू लगायत स्वदेश र विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी–दाजुभाइको अपार साथ र सहयोग रहेको जनाएको छ ।
नेपाली कांग्रेसले तेस्रो चरणको हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको तेस्रो चरण राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर पुस ७ देखि १० दिन सञ्चालन गर्ने भएको छ ।
जिल्ला जिल्लामा भव्य प्रदर्शन
दोस्रो चरणको जागरण अभियानको समापनका क्रममा जिल्ला जिल्लामा विशाल प्रदर्शनहरु भएका छन् । यसै क्रममा नेपाली कांग्रेसले मंगलबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । महंगी, भ्रष्टाचार बढेको, महिला हिंसा, बलात्कार र हत्याका घटना बढेको संविधानको भावना प्रतिकुल विधेयक ल्याएको भन्दै कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको हो ।

यसैबीच चितवनमा पनि नेपाली कांग्रेसले भव्य जुलुससहिते विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनपछि भएको सभालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् संघीय संसदमा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सम्बोधन गर्नुभएको थियो ।
तनहुँको दमौलीमा पनि नेपाली कांग्रेसको विरोधप्रदर्शन भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमलाई केन्द्रीय प्रतिनिधि रामकृष्ण घिमिरेले सम्बोधन गर्नुभएको थियो ।
धादिड.को सदरमुकाम धादिड.वेसीमा पनि सरकारको विरोधमा भव्य जुलुस निस्केको छ ।
यस्तै लमजुड.मा पनि विरोध प्रदर्शन भव्यरुपमा सम्पन्न भएको छ ।

समापनमा कसले के भने
सरकार काण्डै काण्डमा
नेपाली कांग्रेका उपसभापति विमलेन्द्र निधिले कम्युनिष्ट सरकार काण्डै काण्डैमा ग्रसित भएको आरोप लगाउनुभएको छ। दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको समापन कार्यक्रम अन्तरगत धनगढीमा भएको विरोधसभालाई सम्वोधन गदै निधिले प्रधानमन्त्री के पी शर्मा ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट सरकारले केन्द्रदेखी गाउँ नगर वडासम्म भ्रष्टाचार फैलाएको र पार्टीलाई संस्थागत भ्रष्टाचारमा निर्लिप बनाएको आरोप लगाउनुभयो । नेता विमेलेन्द्र निधिले १२ वर्षे जनयुद्ध र ६२र६३ सालको जन आन्दोनमा हजारौं जनताका छोराछोरीहरुले बलिदानस्वरुप प्राप्त अधिकारलाई संरक्षित गर्ने संविधानको निर्माण नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको यसको कार्यान्वयन पनि नेपाली कांग्रेसले नै गरेको बताउनुभयो । उहाँकम्युनिष्टको रवैयाका कारण संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटमा पर्ने खतरा बढेको बताउनुभयो।

उहाँले कम्युनिष्ट नेतृत्वमा दुईतिहाईको सरकार बनेपछि पार्टीको संरक्षण हत्या,हिंसा,बलात्कार,तस्करी, घुसखोरी,भ्रष्टाचार बढेको आरोप लगाउनुभयो । उहाँले निर्मला बलात्कार काण्ड, ३३ किलो सुन काण्ड, वाइडबडी काण्ड, राष्ट्रिय परिचयपत्र छपाई काण्ड, गुठी विधेयक काण्ड, मेडिकल माफिया पोस्ने काण्ड र कर काण्ड जस्ता काण्डै काण्ड घटेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसकी पुर्व सचेतक ईश्वरी न्यौपानेले अहिलेको सरकारले किसानका लागी खरिद गर्ने मलमा नपत्याउने खालको सरकारले भ्रष्टाचार गरीरहेको आरोप लगाउनुभयो।
नेपाली कांग्रेसबाट कैलाली निर्वाचन क्षेत्र नं ५ की उम्मेद्धार डा आरजु राणा देउवाले देश भरी १ करोड ५० लाख मतदाताको समस्या अवस्था बुझन र मतदातासंग अभियानको बारेमा जानकारी दिन कांग्रेस जागरण अभियानको आयोजना गरेको बताउनुभयो।
राष्ट्रिय जागरण अभियानका क्रममा नेकपा परित्याग गरी कैलाली निर्वाचन क्षेत्र नं ५ बाट करीब दुई सय नेता कार्यकता नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस जिल्ला पाटी कार्यालय कैलालीले जानकारी दिएको छ।
सरकारले हल्ला गर्छ विकास गर्दैन

जनजागरण अभियानको समापनको अवसरमा खोटड. पुग्नुभएका नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले नेकपाको दुई तिहाईको सरकारले माखो नमार्ने बताउनुभएको छ ।
मंगलबार खोटाङको दिक्तेलमा आयोजित कांग्रेसको दोश्रो चरणको राष्ट्रिय जनजागरण कार्यक्रम समापन तथा बिरोधसभालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले वर्तमान सरकारले आफै विकासको कुनै पनि योजना तर्जुमा गर्न नसक्ने र कुनै विदेशी लगानीकर्ता पनि ल्याउन नसक्ने बताउनुभयाो ।
उहाँले सरकारले लगानीको नाममा जति ठूला काम गरेपनि चिनबाट आएको सिमेण्टको लगानी र नाइजेरियाको डोड.गटेको लगानी पनि फिर्ता जाने अवस्थामा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, जुनदेशको प्रधानमन्त्रीदेखि बडासदस्यसम्म भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ, त्यहाँ विदेशी लगानीकर्ता कसरी आउछ ? उहाले नेपालको विकासको खाका कोर्ने र विकासका काम गर्र्ने काम बी.पी.कोइराला,जीपी कोइराला शेरबहादुर देउवा र सुशील कोइरालाको समयमा सुरु भएको दावी गर्नुभयो ।
महामन्त्री कोइरालाले दुई तिहाईको सरकार दम्भ पालेर ‘पानी जहाज ल्याइदिने र रेल ल्याइदिने’ भन्दै सपनै सपनामा विलाइरहेको आरोप लगाउदै सरकारको कार्यशैलीले संविधानमाथि आक्रमण हुने खतरा देखिएकाले सबैले मिलेर बचाउनुपर्ने अवस्था आएको बताउनुभयो ।
‘यो संविधानमाथि आक्रमण हुने सम्भावना देखिरहेको छु । हामी मिलेर संविधानलाई जोगाउनु पर्छ,’ कोइरालाले भन्नुभयो, ‘तसर्थ हामी रेलिङ भाँच्ने, कुर्सी भाँच्ने काम गर्दैनौँ । प्रतिपक्षमा बसेर सशक्त भूमिका खेलिरहेका छौँ ।’
महामन्त्री कोइरालाले कांग्रेसलाई कसैले हराउन नसक्ने भए पनि गुट–उपगुटले कांग्रेसलाई ध्वस्त पारेको बताउनुभयो ।
नेताको कार्यशैलीमा परिवर्तनको आवश्यकता

जागरण कार्यक्रमको समापनमा नुवाकोट पुग्नुभएका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेताहरुले मञ्चबाट हात उठाएर हामी मिल्यौं भनेर मात्रै पार्टी भित्रको समस्या समाधान नहुने र गुटबन्दीको अन्त्य पनि नहुने बताउनुभएको छ ।
नेपाली कांग्रेस नुवाकोटले गरेको दोस्रो चरणको राष्ट्रिय जागरणको समापन कार्यक्रममा विदुरमा बोल्दै कोइरालाले नेताहरुको कार्यशैलीमा परिबर्तन नआएसम्म पार्टी भित्रको तिक्तता नमेटिने बताउनुभयो।
डा कोइरालाले बिभिन्न निर्वाचनको टिकट बितरणमा पार्टीबाट गल्ती र कमि(कमजोरी भएको स्विकार गर्नुहुदै अबका दिनमा कार्यकर्तामाथि कुनै पनि अन्याय हुन नदिने बताउनुभयो।
डा. कोइरालाले १४औं महाधिवेशन पछि पार्टीभित्रको गुटबन्दी र भागबण्डाको राजनीतिको अन्त्य हुने बताउनुभयो।
कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य बहादुरसिंह तामाङ्, नुवाकोट कांग्रेसका सभापति जगदिश्वर नरसिंह केसी, पूर्व सांसद डा. शोभाकर पराजुली, जागरण अभियानका लागी नुवाकोटका लागी खटिइएका प्रतिनीधिहरु( शिबराज अधिकारी, डा राजाराम कार्की, जीवन डङ्गोल र बिनिता अधिकारी, तरुण दलका
केन्द्रीय महासचिव भुपेन्द्रजंङ् शाही लगायतले मन्तब्य राख्नुभएको थियो।
ढुकुटी रित्तिदै छ

हिमाल पहाड तराई(मधेश दोस्रो राष्ट्रिय जागरण अभियानको समापन समारोहलाई सम्बोधन गर्न बारा पुग्नुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव पूर्व अर्थमन्त्री डा। रामशरण महतले कम्युनिष्ट सरकारले राज्यको ढुकुटी सिध्याएर राज्यमाथि अनावश्यक ऋण थपेको बताउनुभएको छ ।
नेपाली कांग्रेस बाराले कलैयामा मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा। महतले सरकारले मुलुकमा भ्रष्टाचार निर्मूल पार्नुको साटो बढवा दिएर भ्रष्टाचार मौलाएको आरोप लगाए।
उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा मात्र ३६ अर्ब बजेट विनियोजन गरि राज्यको बजेटको दुरूपयोग गरेको बताउनुभयो ।
उहाँले बहुदलीय संसदीय प्रजातन्त्र अंगीकार गरेको मुलुकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले चीनको कम्युनिष्ट पार्टीसंग प्रशिक्षण लिने कार्य शंकास्पद रहेको बताउनुभयो । बाराका सभापति जयचन्द्र चौरसियाको अध्यक्षतामा भएको जागरण सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधेचन्द्र यादव, जिल्ला सचिव मनोज भट्ट, कलावति पासवान, रामप्रवेश यादव, तरूणदल बाराका अध्यक्ष लुकेश सिंहलगायतले सम्बोधन गर्नुभएको थियो ।
दुईतिहाईको मत भ्रष्टाचारको लाइसेन्स

दोस्रो चरणको राष्ट्रिय जागरण कार्यक्रम समापनको अवसरमा केन्द्रको निर्देशनअनुसार नेपाली कांग्रेसले धनुषाको जनकपुरसहित प्रदेश नम्बर दुईका सबै जिल्ला सदरमुकाममा सरकारविरुद्ध प्रदर्शन गरेको छ।
जनकपुरधाममा आयोजित विरोध कार्यक्रममा सरकारले प्रस्ताव गरेको नागरिकतासम्बन्धी विधेयक खारेजीको माग समेत गरिएको थियो ।
प्रदर्शनका सहभागीहरुले भ्रष्टाचार, महंगीलगायत सर्वसाधारणको दैनिकीसँग जोडिएका महत्वपूर्ण सवालहरु नियन्त्रण गर्न नसकेको भन्दै सरकारकोविरुद्धमा चर्को नाराबाजी गरेका थिए । जनकपुरधामको पिडडिया माइस्थानस्थित पार्टी कार्यालयबाट निस्केको जुलुस मुरली चोक, राम चोक, शिव चोक, भानु चोक हुँदै रेलवे स्टेशन पुगेर कोणसभामा परिणत भएको थियो ।
विरोध सभालाई सम्बोधन गर्दै केन्द्रीय प्रतिनिधि तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले दुई तिहाइको दम्भमा कम्युनिष्ट सरकार जनताको लोकतान्त्रिक अधिकार खोस्न उद्यत् भएको आरोप लगाउदै भन्नुभयो,सरकारले आमनागरिकलाई शान्ति सुरक्षा दिन सकेको छैन्, भ्रष्टाचार र महंगी हरेक दिन बढेको छ । जनताले दिएको दुई तिहाई मत दिएको सरकारकालागि भ्रष्टाचारको लाइसेन्स भएको छ ।
उपलब्धि गुमाउन उद्यत
बाँके जिल्लाको जागरण कार्यक्रमलाई समापन गर्दै नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालले कांग्रेसको नेतृत्वमा भएका परिवर्तनलाई संस्थागत गर्नुको साटो कमजोर बनाउने षड्यन्त्र भइरहेको टिप्पणी गर्नुभयो।

‘लोकतन्त्रमाथि प्रहार भइरहेको छ, दुई तिहाईको दम्भले मात्तिएर कम्युनिष्ट सरकारले लोकतान्त्रिक मूल्य, मान्यता र आचरण भुल्न थालेको छ,’ खजुराको सीतापुरमा कांग्रेसको राष्ट्रिय जागरण कार्यक्रमका क्रममा जिल्ला सभापति किरण कोइरालाको हात भाँचिने गरी भएको हमलाको प्रसंग निकाल्दै नेतृ भुषालले भन्नुभयो, ‘यो जिल्ला सभापति माथिको मात्रै आक्रमण होइन, यो त सिंगो नेपाली कांग्रेस पार्टी र लोकतन्त्र माथिको हमला हो ।’
सरकार भ्रष्टाचारको दलदलमा फसेको भन्दै उहाँले शान्ति, समृद्धि र स्थिरताका लागि नेपाली जनताले दिएको अभिमतको कम्युनिष्ट सरकारले दुरुपयोग गरेको जिकिर गर्नुभयो। सरकार अधिनायकबाद र सत्ताको उन्मादले उन्मुक्त भइरहेको स्वयं सरकारका क्रियाकलापले पुष्टि गरिरहेको भन्दै नेतृ भुषालले सरकारका अतिबादी क्रियाकलापलाई नेपाली कांग्रेसले टुलटुल सहेर नबस्ने चेतावनी दिनुभयो।
बाँके जिल्ला सभापति किरण कोइरालाको सभापतित्वमा सम्पन्न समापन कार्यक्रमलाई केन्द्रीय प्रतिनिधिहरु विद्याप्रसाद खनाल, जानकीलाल बस्नेत, भरतबहादुर न्यौपाने र मालती सोडारी, पूर्व बाँके जिल्ला सभापति युवराज शर्मा, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नक्की खाँ, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेश कुमार गुप्ता, तरुण दलका पूर्व केन्द्रीय सदस्य सुदीप नरसिंह राणा, नेविसंघ बाँकेका अध्यक्ष पूर्ण प्रसाद आचार्यले सम्बोधन गर्नुभएको थियो।
कार्यक्रममा अन्य पार्टी परित्याग गरी एक दर्जन बढी नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रबेश गरेका थिए। समापन कार्यक्रम पूर्व पार्टी कार्यालयबाट गाउँ गाउँबाट आएका कार्यकर्ताहरुको ठूलो उपस्थिति सहित निस्केको विशाल र्याबली विपी चोक, धम्बोझी चोक, सेतु विक चोक, त्रिबेणी मोड हुँदै त्रिभुवन चोक पुगेको थियो।
र्यालीमा कांग्रेस नेता कार्यकर्ताले सरकार र सत्तारुढ दल नेकपा विरुद्ध चर्का नाराबाजी समेत गरेका थिए।
विकृति, विसंगति र भ्रष्टाचारको बहार

नेपाली कांग्रेसको जागरण अभियान अन्तर्गत मोरङको रंगेलीमा मंगलबार भएको विरोधसभामा बोल्ने वक्ताले प्रधानमन्त्री ओलीको वचन र कर्मकै कारण जनताले सरकार जस्तो पवित्र संस्थाप्रति नकारात्मक धारणा बनाउन थालेको दाबी गरेका छन् ।
कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद डा। मिनेन्द्र रिजालले प्रधानमन्त्री ओलीको वचन र काम गराइका कारण जनतामा चरम निरासा उत्पन्न भएको बताउनुभयो । उहाँले सरकारविरुद्ध षडयन्त्र भयो भन्ने तर आफै संविधान विरोधी काम गर्ने सरकारको रवैयाप्रति कटाक्ष गर्दै राष्ट्रपतिलाई समेत संविधानको विरुद्धमा काम गर्न बाध्य बनाएको प्रसंग उठाउनुभयो । नेपाली कांग्रेसको नेतृत्वको संयुक्त सरकारले राष्ट्रिय सभामा मनानयन गरेका सांसदहरुलाई सपथ गराउन नदिनेदेखि सभामुख र उपसभामुख एउटै पार्टीको बनाउने कार्य वर्तमान सरकारबाट भएको उल्लेख गर्नुभयो ।
देश समृद्धितर्फ जानु पर्ने जान नसकेको बरु विकृति,विसंगति र भ्रष्टाचारले दलदलमा जकडिदै गएको पनि उहाँले दावी गर्नुभयो । ‘‘दुई तिहाईको दम्भ छ तर जनताको मन जित्न सकेको छैन’’,उहाँले भन्नुभयो,‘‘सरकारकै कारण जनतामा निरासा र आक्रोश दुबै बढ्न थालेको छ । अब कांग्रेसले नै देशलाई निकास दिन सक्छ ।’’
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले जनताबाट आवधिक रुपमा अनुमोदित भएर सरकार बन्ने प्रक्रिया भएपनि यो सरकारलाई मत दिएको प्रति अहिले जनताले थकथकी गर्ने अवस्था आएको बताउनुभयो । उहाँले मन्त्रीको बोलाइ र काम गराइको तादम्यता हेर्दा देश झन अधोगतितर्फ लागिरहेको देखिएको बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय प्रतिनिधि भगिरथ पोद्धारले नेकपाको सरकार आफ्नो डम्फू बजाउन व्यस्त रहेको तर जनताको पिरमर्का बुझ्नुको साटो आफ्नाहरुलाई पोस्न उद्धत रहेको बताउनुभयो । मैथिलीमा भाषण गरेका पोद्धारले हिजो मधेश र मधेशीका लागि त्याग गर्ने भनेर हिंडेका उपेन्द्र यादव जस्ता नेतासमेत सरकारमा गई आफ्नो अभिष्ट सिद्धिमा लागेको बताउदै भन्नुभयो,‘‘संविधान संशोधनको मुद्धा कहाँ पुग्यो ? मधेशी जनतालाई दिएको आश्वासनको के भयो ?’’
कार्यक्रममा नेता अमृत अर्यालले जागरण अभियानले कांग्रेसमा नयाँ उर्जा थपिदै आएको र पार्टीलाई एकढिक्का बनाएर अघि बढ्न मद्दत मिलेको बताउनुभयो ।
पार्टीका जिल्ला सभापति डिगबहादुर लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद ओमप्रकाश सरागवी,नेता भक्तिनाथ माझी, सचिव मोदराज घिमिरे, पूर्वसचिव यदुकुमार विष्ट, सुनसरीका नेता हेमकर्ण पौडेललगायतले आफ्ना विचार राख्नुभएको थियो ।
लेण्डुपका नयाँ अवतार देखिए
दोस्रो चरणको राष्ट्रिय जागरण अभियानलाई पाँचथर कांग्रेसले सदरमुकाम फिदिममा एक भव्य विरोध जुलुस प्रदर्शनसहित सभा गरेर समापन गरेको छ ।
पाँचथर कांग्रेसले मोटरसाइकल र्यागलीसहितको विरोध प्रदर्शनपछि अभियान समापन भएको घोषणा गरेको हो । शनिबारेस्थित पार्टी कार्यालयबाट सुरु भएको र्या लीले फिदिम बजार परिक्रमा गरी बीपी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक भिष्मराज आङ्देम्बेले नेपालमा पनि नयाँ लेण्डुपहरु देखा परेको उल्लेख गर्नुभयो । ‘नेपाल देशको अस्तित्व समाप्त पार्न नयाँ लेण्डुपहरु केपी ओली र प्रचण्डको भेषमा देखा परेका छन्,’ आङ्देम्बेले भन्नुभयो ‘देश बचाउनका लागि लेण्डुपहरुको भ्रममा नपर्न नेपाली जनता सचेत हुनुपर्छ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व गृह राज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले दुई तिहाई बहुमतको कम्युनिष्ट सरकारले जनताको अधिकारलाई कुन्ठित पार्दै गएको बताउनुभयो । ‘सरकारको अलोकप्रियताका कारण कांग्रेस बलियो बन्दै गएको छ,’ बाँस्कोटाले भने ‘अहिलेको अवस्थामा चुनाब हुने हो भने कांग्रेसले बहुमत प्राप्त गर्छ ।’
कार्यक्रमलाई जागरण अभियानका प्रतिनिधि देउमान थेवे र डा. खगेन्द्र पाण्डव अधिकारीले पनि सम्बोधन गर्नुभएको थियो । सम्बोधनको क्रममा थेवेले नेकपाले जितेको हरेक ठाँउमा भ्रष्टाचार मौलाएको उल्लेख गर्नुभयो ।
पाँचथर सभापति नरेन्द्रकुमार केरुङको अध्यक्षतामा भएको कोण सभामा सयौँको संख्यामा कार्यकर्ताहरुको उपस्थिति थियो ।
कम्युनिष्ट सरकार काण्डै काण्डमा
नेपाली काँग्रेसले सञ्चालन गरेको दोस्रो चरणको जागरण अभियानको मकवानपुर कांग्रेसले एक भव्य विरोध कार्यक्रमसहित हेटौडामा समापन गरेको छ । सो समापन समारोहमा बोल्दै पार्टीका जिल्ला सभापति एवम् नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले वर्तमान सरकार काण्डै काण्डमा फसेको बताउनुभयो । उहाँले सरकार असफल हुँदा व्यवस्थाविरोधी तत्वसमेत सल्बलाइरहेको बताउनुभयो ।

‘यो सरकार हत्या हिंसा बलात्कार काण्ड, सुन काण्ड, वाइडबडी काण्ड जस्ता काण्डै काण्डमा फसिरहेको छ, सरकारले जनताको हितविपरीत काम गर्दै देशलाई नै संकटमा धकेल्ने काम गरिरहेको छ ।’ बानियाँले भन्नुभयो–‘अहिलेको सरकार ओलीको, काँग्रेसको सरकार भोलिको हुने पक्का छ, जनताले काँग्रेसकै भरोसा गर्न थालिसकेका छन् ।’
वर्तमान सरकारले संविधानकै बर्खिलापमा ऐन कानुन बनाउन थालेको भन्दै काँग्रेसले खबरदारी गरिरहेको उनले बताए। संविधानविपरीत ऐन कानुन निर्माणमा सरकारले जबरजस्ती गरे काँग्रेसले सशक्त प्रतिकार गर्ने उहाँको चेतावनी थियो ।
हेटौंडाको पार्टी कार्यालयबाट निस्किएको विरोध र्याली बजारका विभिन्न भाग परिक्रमा गरी बुद्धचोकमा पुगेर विरोधसभामा परिणत भएको थियो । नेपाली काँग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि प्रदेशसभा सदस्य गिता वाग्ले, केन्द्रीय प्रतिनिधिहरु ऋषिराम घिमिरे, प्रेमचन्द्र दाहाल, पार्टी मकवानपुर सचिव बुद्ध लामालगायतले बोल्नुभएको थियो ।
कार्यक्रमकाबीच संविधानसभा सदस्य एवम् पूर्वसांसद राजाराम स्याङ्तानका कान्छा भाई दलबहादुर स्याङ्तान र नेकपा मनहरी गाउँपालिका–५ का सदस्य हिरालाल पाख्रिन नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको थियो ।


















