Prakash Adhikari October 25, 2019

काठमाडौँ, ७ कात्तिक ।  निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ । शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता कार्यान्वयनमा आउने आयोगले  विज्ञप्तिमार्फत जनाएको छ । निर्वाचनलाई स्वच्छता, निष्पक्षता र पारदर्शी तथा भयमुक्तरुपमा सम्पन्न गर्न आयोगले आचारसंहिता जारी गरेको हो।

मङ्सिर १४ गते सम्पन्न हुने उपनिर्वाचनबाट ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ ।

यही कात्तिक १३ गतेबाट लागू हुने गरी आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्ति गरेको थियो । आयोगले न्याय परिषद्को परामर्शमा ३७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ११ नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।

निर्वाचन आचारसंहितामा निर्वाचन सम्पन्न नभएसम्म नयाँ कार्यक्रम गर्न नहुने, भवन, सवारीसाधन प्रयोग गर्न दिन नहुने, पद सिर्जना गर्न नहुने, सरुवा, बढुवा वा काजमा खटाउन नहुनेलगायतका प्रावधान रहेको छ । राजनीति दल, उम्मेदवार, आम सञ्चारमाध्यम तथा गैरसरकारी संस्था, पर्यवेक्षक तथा कर्मचारी आचारजस्ता क्षेत्रलाई सो आचारसंहिताले समेटेको छ ।

Share Now

Leave a comment.