काठमाडौं, ८ कात्तिक । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ। शुक्रबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
यस वर्ष यमदीपदान शुक्रबारदेखि सुरु हुने भए पनि काग तिहार कात्तिक ९ शनिबार परेको समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिनुभएको छ। यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि शनिबार नै परेको छ। तिथिको घटबढका कारण यस्तो भएको गौतमले बताउनुभयो। यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ। यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने उहाँले बताउनुभयो।
कात्तिक १० आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ। बिहान ११ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने भएकाले शास्त्रसम्मत् रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताउनुभएको छ ।
गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक ११ सोमबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ। ११ गते बिहान ९ः४३ बजेसम्म औँशी तिथि छ। त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म (म्ह) पूजा यसै दिन गर्नुपर्नेहुन्छ।
कात्तिक १२ मंगलबार तिहारको मुख्य दिन भाइटीका पर्व मनाइन्छ। बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताउनुभयो। कात्तिक १२ गते मङ्गलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ।
राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ सर्वसाधारणका लागि दिनभर टीका लगाउन कुनै समस्या छैन।
भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ। प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको हो । यसै दिनदेखि नेपाल संवत् ११४० सुरु हुन्छ। भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १२ मा नै गरिन्छ।
कात्तिक १३ गते बिहान ६ः१८ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले कात्तिक १२ मा नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ। तर राजधानीका नेवार समुदायले १३ गते पनि किजा पूजा हुने भनी सोको लागि बिदा माग गरेपछि नेपाल सरकारले १३ गते पनि बिदा दिने निर्णय गरेको छ ।
झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक साताअघिदेखि नै राजधानीलगायत प्रमुख शहरमा बत्ती बाल्न सुरु भइसकेको छ।
बत्तीको उज्यालो र ध्वजा पताका सहितको सिंगारपटारले चिटिक्क परेको राजधानी लगायतका नेपालका मुख्य शहरहरु हिजोआज घुम्दासमेत मन आनन्दित हुन्छ।


















