काठमाडौं, २६ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १५ दिनभित्र एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने दावी गरेका छन् ।
स्वास्थ्योपचारका लागि बुधबार थाइल्याण्ड जानेक्रममा त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले सो दावी गरेका हुन ।
पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले वामपन्थी पार्टीहरुबीच एकता हुन नदिन अनेक षड्यन्त्र भइरहेको आरोप पनि लगाए । बैंककबाट फर्केलगत्तै पार्टी एकतालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउदै एमाले अध्यक्ष ओलीले पार्टी एकता गरेरै छाड्ने दावी पनि गरे ।
एकीकृत पार्टीमा पदको समायोजन वा भागवण्डा कसरी हुँँदैछ भन्ने प्रश्नमा १५ दिन पछि थाहा भैहाल्ने विषयमा चिन्ता नलिनुस् भन्दै उनी तर्किएका थिए ।
मृगौला प्रत्यारोपण गरेका एमाले अध्यक्ष ओलीले थाइलैण्डको बुमरुड.ग्राड अस्पतालमा नियमित स्वास्थ्य परीक्षणका गर्दै आएका छन् । उनी माघ २ गते फर्कने कार्यक्रम रहेको छ ।
एमाले अध्यक्ष ओलीको साथमा पत्नी राधिका शाक्य र स्वकीय सचिव राजेश बज्राचार्य सहित केही शुभचिन्तकहरु पनि थाइल्याण्ड गएका छन्।
पूर्व प्रधानमन्त्री ओलीले निर्वाचन सम्पन्न भएर प्रत्यक्षतर्फको अन्तिम परिणाम आएको एक महिना बितिसक्दा पनि सत्ता हस्तान्तरणको प्रकृया आरम्भ नभएकोमा पनि असन्तुष्टि व्यक्त गरेका थिए ।
उनले निर्वाचन आयोग पनि ब्ल्याकमेलिङको शिकार भएको आरोप लगाए ।