Prakash Adhikari November 8, 2019

काठमाडौं, २१ कार्तिक । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको बताउनुभएको छ ।

भारतको सर्वे विभागले जम्मु र कश्मीर राज्यको सीमांकन पछि आफ्नो देशको नक्सा सार्वजनिक गर्दा कालापानी र लिपुलेकलाई आफ्नो सीमातर्फ पारेको सन्दर्भमा निस्किएको विवादलाई चिर्दै नेपाली कांग्रेसका सभापति देउवाले बिहिबार आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो।
नेपाली कांग्रेसका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार जारी गर्नुभएको विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति देउवाले यस विषयमा नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीसंग टेलिफोन बार्ता गर्नुभएको उल्लेख छ ।

सो विज्ञप्तिमा नेपाली भूमिमाथि भएको कुनैपनि अतिक्रमण कांग्रेसलाई अस्वीकार्य रहेको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्यमा नेपाली कांग्रेस प्रष्ट छ र हाम्रा कुनैपनि भूमिमाथि हुने कुनैपनि ढंगको अतिक्रमण हाम्रा लागि अस्वीकार्य छ।

हेर्नुस्, कांग्रेसको विज्ञप्ति :

कात्र्तिक २१, २०७६

कालापानी र लिपुलेकका सन्दर्भमा !

(१) भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा सोही दिनै पार्टी प्रवक्ताको ट्विट मार्फत तत्कालै हाम्रो औपचारिक धारणा सार्वजनिक गरिएको सर्वविदितै छ । कालापानी र लिपुलेक नेपालको अविभाज्य भुमि रहेकोे तथ्यमा नेपाली  कांग्रेस प्रष्ट छ र हाम्रा कुनैपनि भुमीमाथी हुने कुनैपनि ढंगको अतिक्रमण हाम्रा लागि अस्वीकार्य छ ।

(२) सभापति श्री शेरबहादुर देउवाले आज नेपालका लागि भारतीय राजदुत मंजिव सिंह पुरीसंग यसबारेमा टेलिफोन संवाद गर्नुभएको छ । नक्साप्रति आफ्नो ध्यानाकर्षण भएको बताउंदै उहाँले कालापानी र लिपुलेक नेपालको अविभाज्य भुमि रहेकोे तथ्य स्मरण गराउनु भएको छ ।

(३) यस्तो महत्वपूर्ण प्रश्नमा दल विशेषको मत भन्दा माथी उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कुटनैतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्ने नेपाली कांग्रेसको दृष्टिकोण छ ।

जय नेपाल !

विश्वप्रकाश शर्मा
प्रवक्ता

Share Now

Leave a comment.