काठमाडौं, २ मंसिर । नेपालको सबैभन्दा पुरानो बाणिज्य बैंक नेपाल बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंक सञ्चालक समिति बैठकले मंसिर १ गते सम्पन्न बैठकले १५ प्रतिशत बोनश र बोनसमा लाग्ने करसहित १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।
बैंक सञ्चालक समितिको २४ औं बैठकले बैंकको एफपीओ बिक्रीपछि कायम भएको चुक्ता पूँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँबाट १५ प्रतिशतका दरले एक अर्ब ४७ करोड १६ लाख ७२ हजार २ सय रुपैयाँको बोनस र ९८ करोड ११ लाख १४ हजार ८ सय रुपैयाँ नगद लाभांश गरि कुल २ अर्ब ४५ करोड २७ लाख ८७ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।
लामो समयसम्म खराब व्यवस्थापन र निष्कृय कर्जाले थिचिँएको नेपाल बैंकले २२ वर्षसम्म आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्न सकेको थिएन।
बोनस वितरण पश्चत बैंकको चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार २०० रुपैयाँ पुग्नेछ।
बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ४५ करोड १२ लाख ८३ हजार रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको थियो। यस्तै बैंकले बढाएर २ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।


















