इस्लामाबाद(पाकिस्तान), २ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टिमका ८ जना खेलाडीहरुपाकिस्तान सुपर लिग (पिएसएल) टी–२० क्रिकेट प्रतियोगिताको ड्राफ्टमा पर्न सफल भएका छन्।
यो ड्राफ्टमा नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान पारस खड्का, सन्दीप लामिछाने, उपकप्तान दीपेन्द्रसिंह ऐरी, विकेट किपर ब्याट्सम्यान विनोद भण्डारी, ब्याट्सम्यानहरु आरिफ शेख, रोहितकुमार पौडेल तथा शरद भेषवाकर र बलर सोमपाल कामी छन्।
सन्दीप लामिछाने प्लाटिनम क्याटेगोरीमा पहिल्यै ड्राफ्टमा समावेश भैसकेका हुन् ।
७ जना नै सिल्भर क्याटागोरी (विदेशी)मा समावेश भएका छन्।

पीएसएलमा खेलाडीलाई ५ क्याटगेरिमा राखिएको छ । जसमा इमर्जिङ क्याटगेरिका खेलाडीले ६.५ देखी ९.५ हजार अमेरिकी डलर पाउने छन् । त्यस्तै सिल्भरमा पर्नेले १५ देखी ३५ हजार अमेरिकी डलर पाउने छन् । गोल्ड क्वाटगेरीका खेलाडीले ४४ देखी ५८ हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । डाइमन्ड क्याटगरिका खेलाडीले ७३ हजार देखी १ सय ३ पाउण्ड सम्म पाउने छन् । त्यस्तै प्लेटिनम क्वाटगेरीमा रहेका खेलाडीले १ लाख ४७ हजार देखी २ लाख १८ हजार अमेरिकन डलरसम्म प्राप्त गर्ने छन् ।
क्यानले सिफारिस गरेका ५ खेलाडी मध्येबाट आरिफ शेख र विनोद भण्डारी ड्राफ्टमा समावेश भएका छन्।बलर करण केसी, अलराउन्डर पवन सर्राफ र स्पिनर ललितनारायण राजवंशी समावेश गरिएका छैनन्।
ड्राफ्टको इमर्जिङ क्याटागोरीको नाम सार्वजनिक हुन बाँकी भएकोले पर्नसक्ने अपेक्षा पनि गरिएको छ ।

पाकिस्तान सुपर लिगमा इस्लामावाद युनाइटेड, कराची किङ्ग्स, लाहोर क्वालन्दर्स, मुल्तान सुल्तान्स, पेशावर जाल्मी र क्वेटा ग्लाडियटर्सबीच प्रतिस्पर्धा हुनेछ।
ड्राफ्टमा टिमहरुले ३ जना प्लाटिनम, ३ जना डाइमन्ड, ३ जना गोल्ड, ५ जना सिल्भर र २ जना इमर्जिङ क्याटागोरीमा रहेका खेलाडी आबद्ध गर्नुपर्ने छ।
हरेक टिमले कम्तिमा १६ खेलाडी राख्नु पर्नेछ। जसमा ११ जना पाकिस्तानी र ५ जना विदेशी खेलाडी राख्नु पर्छ । थप २ जना खेलाडी आबद्ध गर्नु परेमा १ जना पाकिस्तानी र १ जना विदेशी खेलाडी राख्न पाइन्छ।
पाकिस्तान सुपर लिग प्रतियोगिता आगामी फेब्रुअरीमा पाकिस्तानमा हुने भएको छ । ड्राफ्टमा परेका खेलाडीबाट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टीमले आगामी डिसेम्बर ६ र ७ मा हुने अक्सनबाट खेलाडी चयन गर्नेछन् ।


















