काठमाडौं,१२ मंसिर । नेपाललाई आफ्नो जलमार्गमा पहुँच दिन भारत सहमत भएको छ ।
काठमाण्डौंमा बुधवार सम्पन्न भएको सहसचिवस्तरीय बैठकमा भारतले यस्तो सहमति दिएको हो । वार्तामा नेपाली अधिकारीहरुले भैरहवा र जोगबनीमा पनि ठूलो परिमाणको बल्क कार्गो ढुवानी गर्नका लागि आवश्यक व्यवस्था गर्ने सम्बन्धमा राखेको प्रस्तावमा पनि भारतीय अधिकारीहरुले सहमति जनाएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह(सचिव नवराज ढकालका अनुसार वार्तामार्फत् नयाँ वाणिज्य सन्धिको मस्यौदालाई पनि दुई देशका अधिकारीहरूले अन्तिम रूप दिएका छन्।
पारवहन लागतलाई कम गर्ने, नेपाली निर्यातलाई प्रतिस्पर्धी बनाउने र आयातको सन्दर्भमा पारवहन प्रक्रियालाई सरल बनाउने उद्देश्यसहित नेपालले वार्तामा सहभागिता जनाएको थियो।
आफ्नै जहाजमार्फत् तेस्रो मुलुकसम्म भारतको जलमार्ग हुँदै आउजाउ गर्ने नेपालको अभिलाषा प्रतिबिम्बित हुने गरी सहमति गरिएको जनाउँदै सहसचिवढकालले भन्नुभयो, हामीले कालुघाट, साहेबगञ्ज र वराणसीको मार्ग हुँदै कोलकाता गएर त्यहाँबाट अगाडि जाने यातायातका लागि पनि भारतले जलमार्गको प्रयोग गर्ने सुविधा दिने सहमति जनाएको छ।
लामो समयदेखि नेपालका औद्योगिक करिडर वा क्षेत्रहरूमा ठूलो परिमाणको बल्क कार्गो नआउँदा ढुवानी खर्च महँगो परेको नेपाली व्यवसायीहरूले गुनासो गर्दै आएका थिए।
त्यसलाई सम्बोधन गर्ने गरी भैरहवा र जोगबनीमार्फत् रेलमार्ग भएर बल्क कार्गो ढुवानी गर्न दिन भारत सहमत भएको छ ।
त्यसबाहेक अर्को महत्त्वपूर्ण कुरा वार्ताले टुङ्ग्याएको सहसचिव ढकालको भनाइ छ।
छलफल
यसअघि आदानप्रदान गरिएका कागजातहरूको भावना समेटेर नयाँ वाणिज्य सन्धिको मस्यौदालाई टुङ्ग्याइएको छ ।
सहसचिव ढकालका अनुसार जलयातायातका माध्यमबाट पारवहनको प्रक्रिया सुरु गर्नेगरी सहमति भएको छ त्यो महत्त्वपूर्ण विषय हो।वार्तामा बल्क कार्गो, थप बन्दरगाहहरू प्रयोग गर्नेलगायतका विषयमा पनि छलफल भएको थियो।
आन्तरिक प्रक्रिया पूरा गरी राजनीतिक तहमा हस्ताक्षर भएपछि सन्धि कार्यान्वयनमा आउने अधिकारीहरूले बताएका छन्।
सहसचिव ढकालका अनुसार त्यो जतिसक्दो चाँडो गर्न दुवै पक्ष सहमत भएका छन्।