काठमाडौं, १२ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको महिला भलिबल प्रतियोगितामा नेपाली टोली प्रतिस्पर्धी भारतसंग पराजित भएको छ।
बिहिबार दशरथ रंगशालास्थित कभर्ड हलमा भएको खेलमा भारतले नेपाललाई ३-० को सोझो सेटमा पराजित गरेको हो।
नेपाल पहिलो सेटमा अग्रता लिएर पनि जित निकाल्नबाट चुक्यो। २३-२४ को अवस्थामा लगातार ३ अंक गुमाउँदा नेपालले २४-२६ ले पहिलो सेट गुमायो।
दोस्रो र तेस्रो सेटमा भने नेपालमाथि भारत हाबी भयो। दोस्रो सेट २५-१२ ले जितेको भारतले तेस्रो सेट २५-१६ ले आफ्नो पक्षमा पार्दै विजयी सुरुवात गर्यो।
महिला भलिबलको समूह ‘ए’मा रहेको नेपालले बुधबार भएको उद्घाटन खेलमा बंगलादेशलाई ३-० ले पराजित गरेको थियो।
अब भारतले बंगलादेशलाई हराए नेपाल उपविजेताको रुपमा सेमिफाइनल पुग्नेछ।


















