पोखरा(कास्की), १८ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद अन्तरगत आज पोखरामा भएको महिला क्रिकेट प्रतियोगितामा नेपाली टीम बंगलादेशसँग पराजित भएको छ ।
पोखरा रंगशालामा भएको खेलमा नेपाली महिला टिमलाई बंगलादेशको सामना गर्न निकै मुस्किल पर्यो ।
खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली महिला टिम २० ओभरको निर्धारित खेलमा १९ ओभरको दोस्रो बलमा ५० रन जोड्दै अलआउट भयो ।
नेपालका ३ खेलाडीले मात्र दोहोरो अंक जोड्न सके भने ४ खेलाडीले खाता खोल्न सकेनन् ।
नेपालकी ओपनर काजल श्रेष्ठ ५ बल खेल्दै खाता नखोली आउट भएपछि नेपालको विकेट पतन सुरु भएको थियो।
अर्की ओपनर सीता रानामगरले पनि १२ बलमा ३ रन मात्र बनाउन सकिन्। त्यसपछि आएका सोनु खड्का, कप्तान रुबिना क्षेत्री र इन्दु बर्माले क्रमशः १२, १३ र १० रन बनाए।
नेपाललाई रोक्ने क्रममा बंगलादेशकी रबिया खानले ४ विकेट लिइन्।
५१ रनको सहज लक्ष्य पाएको बंगलादेशले निर्धारित २० ओभरको खेलमा सातौं ओभरमा बिना कुनै विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।
बंगलादेशको जितमा आयशा रहमानले २६ तथा मुर्सिदा खातुनले २३ रन बनाए ।
यस अघि नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सविरुद्ध १० विकेटको जित हात पारेको थियो।
नेपालले अर्को खेल मंसिर २० गते श्रीलंकासँग खेल्ने छ ।


















