Prakash Adhikari December 12, 2019

काठमाडौ, २५ मंसिर । नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवले विकासको नाममा देशमा भैरहेको वातावरणीय विनासप्रति ध्यान दिन योजनाविद्हरुलाई आग्रह गर्नुभएको छ ।
बुधबार पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतद्धारा लिखित ‘ट्रायल्स, ट्रेमोर्स एण्ड होप- द पोलिटिकल इकोनोमी अफ कन्टेम्पररी नेपाल’को राजधानीमा विमोचन गर्दै नेपालका प्रथम राष्ट्रपति डा. यादवले सो आग्रह गर्नुभएको हो ।

आफू राष्ट्रप्रमुख रहदा आरम्भ भएको राष्ट्रपति चुरे संरक्षण आयोजनाको महत्व दर्शाउदै उहाँले भन्नुभयो, ‘तराईको उर्बरभूमिलाई जोगाउन र पानीका स्रोतहरुको व्यवस्थापनको लागि महत्वपूर्ण मानिएको चुरेको संरक्षण गर्न सो आयोजना थालिएको थियो, तर सरकारले चुरिया क्षेत्र हुँदै अर्को मेचीदेखि महाकाली जोड्ने राजमार्ग बनाउने घोषणा गरको छ । राजा महेन्द्रले पूर्वपश्चिम राजमार्ग बनाउदा तराईको जंगल सखाप भयो । सोही राजमार्ग चार लेनको बन्दै छ । तराईमा हुलाकी राजमार्ग छ । पूर्वपश्चिम एक्सप्रेस रेल्वे बनाइदै छ । मध्यपहाडी राजमार्गले मेची र महाकालीलाई बीचभागबाट जोडिसकेको अवस्थामा चुरियाको बन विनास गर्न भूक्षय बढाउन अर्को राजमार्ग किन चाहियो ?’

प्रथम राष्ट्रपति डा. यादवले नेपाली कांग्रेसका संस्थापक एवम् नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वी पी कोइरालाले दिगो विकासका सन्दर्भमा व्यक्त गर्नुभएको विचार सर्वकालीक भएको बताउदै विकासविद्हरुलाई देशका प्राकृतिक स्रोत साधनमा जमिन, जंगल र पानीका बारेमा विशेष ध्यान दिन आग्रह गर्नूभयो ।

उहाँले जंगलको सम्बन्ध जमिनको सतहमुनिको पानीको स्रोतसंरक्षणमा समेत उत्तिकै महत्वपूर्ण देखिएकोले जंगल नासेर विकासका पूर्वाधार बनाउनभन्दा जंंगल नभएका स्थानमा एअरपोर्ट लगायतका पूर्वाधार बनाउन पनि आग्रह गर्नुभयो ।

संघीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले डा. रामशरण महतद्धारा लिखित पुस्तकमा नेपालको आर्थिक विकास र राजनीतिक निकासका बारेमा पर्याप्त उल्लेख भएको तर विकास र वातावरणबीचको सम्बन्ध र द्धन्द्धका बारेमा कम चर्चा भएको उल्लेख गर्दै समग्र देशको भ्रमण गरेर समग्र पक्षलाई समेटेर अर्को पुस्तक लेख्न पनि  आग्रह गर्नुभयो ।

पुस्तक विमोचन समारोहमा पुस्तकका लेखक डा. महतले नेपालमा २०४६ सालको जनआन्दोलनबाट संसदीय प्रजातन्त्रको पुनस्थापना भएपछि अंगीकार गरिएको खुला अर्थनीति र बजारमुखी अर्थव्यवस्थाले देशको विकासलाई नयाँ गति र दिशा दिएको बताउदै राजनीतिक अस्थिरता,आन्तरिक द्धन्द्ध, सशस्त्र संघर्ष, राजतन्त्रको उन्मूलन, गणतन्त्रको स्थापना र समाजवादोन्मुख आर्थिक सामाजिक व्यवस्थाको स्थापनाको लक्ष्यसहितको नयाँ संविधान जारी गरी कार्यान्वयनको चरणमा जाँदा पनि नेपालले हासिल गरेका उपलब्धिहरु ऐतिहासिक भएको उल्लेख गर्नुभयो ।

उहाँले वीपी कोइरालाले प्रतिपादित गर्नुभएको दिगो विकासलाई अहिलेको विश्वले आत्मसात गरिसकेको बताउदै पुनर्वितरणको माध्यमबाट समाजवादमुखी राज्य व्यवस्थाको स्थापना देशको लक्ष्य हुनुपर्ने बताउनुभयो । उहाँले अर्थतन्त्रलाई सबल बनाउन कुल गार्हस्थ उत्पादनको ५ प्रतिशतको हाराहारीमा रहेको बर्तमान लगानीको दर बढाउन पर्ने, विदेशी लगानी आकर्षित गर्नुपर्ने अर्थतन्त्रलाई सबल बनाउदै तीव्रतर विकास गर्नुपर्ने, नवीन प्रविधिको प्रयोग गर्नुपर्ने, पूर्वाधारको गुणस्तर अभिबृद्धि गर्नुपर्ने, आवश्यकता आधारित विकास गर्नुपर्ने, कानूनको शासन र सुशासन कायम गर्न सके नेपालको सुन्दर भविश्यको कल्पना यथार्थमा बदल्न सकिने बताउनुभयो ।

विमोचन समारोहमा पत्रकार कनकमणि दीक्षित, एशियाली विकास बैंकका पूर्व उपाध्यक्ष डा. बिन्दुनाथ लोहनी,योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्ले,पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजाल,अर्थशास्त्री एवम् पूर्व राजदूत भेषबहादुर थापा र अर्थशास्त्री रवीन्द्र पाण्डेले पुस्तकका सबल र कमजोर पक्षका बारेमा टिप्पणी गर्नुभएको थियो ।

१२ अध्यायमा रहेको यो पुस्तकको मूल्य १२ सय रुपैयाँ तोकिएको छ।

अंग्रेजी भाषामा प्रकाशित यस पुस्तकको नेपाली संस्करण छिट्टैनिकालिने डा. महतले जानकारी दिनुभएको छ।

उहाँले यसअघि इन डिफेन्स अफ डेमोक्रेसी पुस्तक लेख्नुभएको थियो ।

Share Now

Leave a comment.