Prakash Adhikari December 12, 2019

काठमाडौं, २५ मंसिर । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सुरक्षाका दृष्टिले संवेदनशील मानिएकाबाहेक सबै हिमाल आरोहणका लागि खोल्नुपर्ने बताउनुभएको छ ।

उहाँले विश्व पर्वत दिवस, ११ डिसेम्बरको अवसर नेपाल पर्वतारोहण संघद्धारा राजधानीमा आयोजित कार्यक्रममा सो कुरा बताउनुभएको हो ।

संघले विश्व पर्वत दिवस तथा छैठौ पर्वतीय मेलाका अवसरमा बुधबार आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथिको रुपमा संबोधन गर्दै उहाँले भन्नुभयो साहसी पर्यटन र पर्वतारोहणका लागि नेपाल विश्वको गन्तब्य बनाउन अधिकाधिक हिमालमा आरोहण गतिविधि बढाउन जरुरी छ ।

उहाँले नेपाल पर्वतारोहण गर्ने गन्तव्य मुलुकमात्र नभएर पर्वतारोहणको लागि सीप सिक्ने स्रोत मुलुक पनि बन्नुपर्छ भन्नेमा सरकार सचेत रहेको बताउदै भन्नुभयो, सरकारले पर्यटन तथा पर्वतारोहण अध्ययन प्रतिष्ठान स्थापनाको लागि विधेयक मस्यौदा गरिसकेको छ । यो संसदबाट पारित भएपछि पर्यटनको क्षेत्रको संस्थागत विकासमा निकै ठूलो परिवर्तन हुनेछ ।

कार्यक्रममा मन्त्री भट्टराईले कीर्तिमानी पर्वतारोही, पर्वतारोही र दिवंगत पर्वतारोहीका आश्रित परिवारको जीविकोपार्जन लागि अक्षयकोष स्थापना गरी ब्यवसायी, पर्वतारोही र सरकारको संयुक्त योगदानबाट सञ्चालन गर्न सकिने बताउनुभयो ।

मन्त्री भट्टराईले भ्रमण बर्ष २०२० नेपालमा पर्यटन विकासको आधार बर्षको रुपमा रहने उल्लेख गर्दै भन्नुभयो, यो बर्षले पर्यटक भित्र्याउन गरिनुपर्ने कार्यक्रमको स्वरुप देखाउने छ र त्यसलाई कार्यान्वयन गर्न पर्यटन दशक मनाउनु पर्दछ । पर्यटनको विकासका लागि आवश्यक एअरपोर्ट,स्तरीय सडक, स्तरीय होटल, पर्यटकीय आकर्षका केन्द्रहरुको विकास र पर्यटकीय कार्यक्रम तय भएपछि नेपाल पर्यटनको लागि सदाबहार गन्तब्यमा परिणत हुनेछ । आर्थिक विकासको खम्बा हुनेछ ।

मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षलाई उत्सवको रुपमा मनाउन र अधिकाधिक पर्यटक भित्र्याउन सबैले व्यक्तिगत र संस्थागत प्रयास गर्नुपर्ने बताउनुभयो ।

यस अगाडि कार्यक्रममा स्वागत मन्तब्य राख्दै संघका अध्यक्ष सन्तबीर लामाले नेपालको पर्वतीय पर्यटन विकासका लागि ध्यान दिन आग्रह गर्नुभएको थियो । उहाँले हिमालहरुको सफाई गर्नुपर्ने, सगरमाथा जस्तो राष्ट्रिय गौरवको रुपमा रहेको हिमाल आरोहण शुल्क चीनमाभन्दा सस्तो भएकोले त्यसमा पुनर्विचार गर्नुपर्ने, पर्वतारोही,कीर्तिमानी पर्वतारोही र पर्वतारोहणको क्रममा दिवंगत भएकाहरुको आश्रित परिवारको जीविको पार्जनको व्यवस्था गर्नुपर्ने, पर्वतारोहणमार्फत राज्यलाई सघाउने व्यवसायीको कदर गर्नुपर्ने र कर प्रक्रिया सरल बनाउनु पर्ने माग राख्नुभएको थियो ।

कार्यक्रममा संसारमा रहेका ८ हजार मिटरमाथिका १४ वटै शिखर आरोहण गर्ने पहिलो नेपाली आरोही तथा पर्यटन व्यवसायी मिड.मा ग्याबु शेर्पाले हिमाल आरोहीको पारिश्रमिक बढाउनु पर्ने, आरोही शेर्पाहरुको तालिम र अनुभवका आधारमा वर्गीकरण गर्नुपर्ने र आरोहणका लागि कम्पनीहरुले न्यूनतम् मूल्य कायम गर्नुपर्ने, नेपालमा नै विश्वस्तरको आरोहण तालिम दिने संस्था स्थापना गर्नुपर्ने र नेपालको बारेमा नकारात्मक सन्देश प्रवाहित गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई कालो सूचीमा राखेर नेपाल भ्रमणमा प्रतिबन्ध लगाउनु पर्ने जस्ता माग राख्नुभएको थियो ।

कार्यक्रमका विश्वका ९ हजार मीटरमाथिको उचाई भएका १४ शिखर आरोहण गर्ने मिड.मा ग्याबु शेर्पा, मिड.मा शेर्पा, छाड.दावा शेर्पा, सानु शेर्पा र सर्वोच्च शिखर सगरमाथा २४ पटक आरोहण गर्ने कीर्तिमानी आरोही कामीरिता शेर्पालाई सम्मानित गरिएको थियो ।

्विश्व पर्वत दिवसको अवसरमा संघले महिला सगरमाथा आरोहीहरुलाई पनि सम्मान गरको थियो । यस्तो सम्मान पाउनेमा माया शेर्पा, डोमा शेर्पा, माया गुरुड., कान्छीमाया तामाड.,शैली बस्नेत, कल्पना महर्जन, फुलडिकी शेर्पा, निमा डोमा शेर्पा, ग्याड.जोड. शेर्पा,पासाड. ल्हामु शेर्पा, चिना जाड.बु शेर्पा, कान्छी डोमा शेर्पा, दावा शेर्पा,बिना मगर, निशा भोटे, पूर्णिमा श्रेष्ठ लगायत हुनुहुन्थ्यो ।

कार्यक्रममा एडमण्ड हिलारी लिगेसी अवार्ड पाकिस्तानका दिदार अलीलाई प्रदान गरिएको थियो भने पर्वतारोहणको क्रममा जीवन गुमाएका पर्वतारोहीका १५ जना बालबालिकाको जीविकोपार्जन र शिक्षा दीक्षामा प्रायोजन गर्ने नबिल बैंकको महाराजगञ्ज शाखाका प्रतिनिधिहरुलाई पनि सम्मानित गरिएको थियो ।

Share Now

Leave a comment.