Prakash Adhikari December 26, 2019

काठमाडौं, १० पौष । खण्डग्रास सूर्यग्रहण सुरु भएको छ । नेपाल पञ्चांग निर्णयक समितिका अनुसार बिहिबार बिहान ८ः४२ मिनेटबाट ग्रहण सुरु भएको हो ।

बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुने पञ्चांग निर्णयक समितिले जनाएको छ ।

यसैबीच बी पी. कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले नेपालका तीन स्थानबाट देखिने खण्डग्रास सूर्यग्रहणसम्बन्धी तथ्य सार्वजनिक गरेको छ ।

समितिले काठमाडौँ, महेन्द्रनगर र भद्रपुरबाट देखिने सूर्यग्रहणको वैज्ञानिक रुपमा गणितीय तथ्याङ्क निकाली जनमानसमा जानकारी गराएको हो ।

जसअनुसार काठमाडौँमा ०८ः ४३, महेन्द्रनगरमा ०८ः३८ र भद्रपुरमा ०८ः४८ मा ग्रहण शुरु हुनेछ । यसैगरी ग्रहणको मध्य पनि काठमाडौँमा १०ः०१, महेन्द्रनगरमा ०९ः५२ र भद्रपुरमा ०९ः५९ मा हुनेछ । ग्रहणको अन्त्य काठमाडौँमा ११ः३३, महेन्द्रनगरमा ११ः१९ र भद्रपुरमा ११ः२७ मा हुने समितिले जनाएको छ ।

ग्रहण अवधि काठमाडौँमा दुई घण्टा ५० मिनेट, महेन्द्रनगरमा दुई घण्टा ४३ मिनेट र भद्रपुरमा दुई घण्टा ५३ मिनेटसम्म रहनेछ ।

यसैगरी सूर्यग्रहणको दिप्तीक्रम काठमाडौँमा ०.५०१, महेन्द्रनगरमा ०.५११ र ०.४७४ हुनेछ । ग्रहण प्रतिशत भने काठमाडौँ र महेन्द्रनगरमा ३९ एवं भद्रपुरमा ३६ रहने जनाइएको छ ।

यसपटकको सूर्यग्रहण नेपालबाट बिरल छायाँ र खण्डग्रासमात्र देखिने छ । बलायाकार सूर्यग्रहण काठमाडौँबाट देखिने छैन ।  पृथ्वीको केही भागबाट बलायाकार वा रिङ ग्रहण अवलोकन गर्न सकिने छ । चन्द्रमाको छायाँको व्यास सूर्यको भन्दा सानो भएकाले बीच भाग ढाके पनि किनारबाट केही प्रकाश वरिपरि रिङजस्तो देखिने भएकोले यसलाई ‘रिङ अफ फायर’ भनिन्छ ।

साउदी अरबबाट ‘रिङ अफ फायर’ देखिन शुरु हुन्छ । कतार, युएइ, ओमान, दक्षिण भारत, उत्तरी श्रीलङ्का, बङ्गालको खाडी, मलेसिया, इण्डोनेसिया, सिङ्गापुर, उत्तरी मेरियाना द्वीप, फिलिपिन्स हुँदै प्रशान्त महासागरको गुआम टापुमा पुगेर अन्त्य हुनेछ । बिरल छायाँ भने पूर्वी युरोपको केही भाग, एशियाको अधिकांश भाग र अष्ट्रेलियाको उत्तरी भागबाट देख्न सकिने समितिको अध्ययनले देखाएको छ ।

सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्छ । सूर्यको प्रकाश चन्द्रमाले छेक्दा पृथ्वीमा पर्ने छायाँलाई नै सूर्यग्रहण भनिन्छ । यस अवस्थामा पृथ्वी, चन्द्रमा र सूर्य एउटै सरलरेखामा पर्दछन् । आजको खण्डग्रास सूर्यग्रहणमा अर्को महत्वपूर्ण घटना पनि घट्दैछ, त्यो हो पृथ्वीसहित छ वटा ग्रहहरु सूर्यसँग एउटै सरलरेखामा लाइनबद्ध भई रहनेछन् ।

पूरै सूर्य ढाक्ने गरी अर्थात् खग्रास सूर्यग्रहण पृथ्वीको एक स्थानमा ३ सय ७५ वर्षको अन्तरमा मात्र लाग्ने समितिले जनाएको छ । पृथ्वीबाट सूर्य लगभग १५ करोड किमि टाढा छ । सूर्यको व्यास पृथ्वीभन्दा १०९ गुणा ठूलो छ । चन्द्रमाको व्यास पृथ्वीको एक चौथाइमात्र छ ।

सूर्यग्रहणलाई खाली आँखा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गरेर अवलोकन गर्नु नहुने समितिको ठहर छ । यसरी हेरेमा आँखा सदाका लागि बिग्रने सम्भावना हुन्छ । एक्सरे प्लेट, ध्वाँसो लगाएको ऐना तथा पानीमा समेत सूर्यको प्रतिविम्बलाई अवलोकन गर्नुहुँदैन ।

सूर्य ग्रहणको समयमा मानवमा पर्ने प्रभावका सम्बन्धमा हालसम्म कुनै पनि वैज्ञानिक आधार प्राप्त नभएको समितिले जनाएको छ ।


समितिले बिहीबार बिहान ८ बजेदेखि टेलिस्कोपको सहायताबाट प्रत्यक्षरुपमा सूर्यग्रहण अवलोकन गराउने भएको छ । सर्वसाधारण मानिसमा वैज्ञानिक चेतना तथा संस्कारको प्रादुर्भाव गर्न सहयोग गर्ने उद्देश्यले प्रत्यक्षरुपमा सूर्यग्रहण अवलोकनको व्यवस्था गरिएको समितिका निमित्त कार्यकारी निर्देशक डा सनतकुमार शर्माले जानकारी दिनुभएको छ ।

समितिको कार्यालय कीर्तिपुरमा टेलिस्कोपमा सोलार फिल्टर जडान गरी सुरक्षित तरिकाबाट अवलोकनको व्यवस्था गरिएको उहाँले सुनाए । यसैगरी नेपाल एष्ट्रोनोमिकल सोसाइटीले बत्तीसपुतलीस्थित कार्यालयबाट सूर्यग्रहण अवलोकनको व्यवस्था मिलाएको अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने ग्रहणको मानिसमा प्रभाव शास्त्रीय विश्लेषणअनुसार चार प्रहर अर्थात् १२ घण्टा अघिदेखि नै सुतक लाग्ने जनाएको छ । जसअनुसार बुधबार बेलुकी ८ः४३ बजेदेखि नै बालक, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेधको शास्त्रीय वचन रहेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभएको छ ।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णय सिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

यस पटकको सूर्य ग्रहण कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरुका लागि राम्रो छ । बाँकी राशिकालाई शुभ फल नदिने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ । मेष राशि हुनेलाई माननास, वृषलाई कष्ट, मिथुनलाई स्त्रीपीडा, कर्कटलाई सौख्य, सिंहलाई चिन्ता, कन्यालाई व्यय, तुलालाई श्रीप्राप्ति, वृश्चिकलाई क्षति, धनुलाई घात, मकरलाई व्यय, कुम्भलाई लाभ र मीनलाई सुख प्राप्तिको फल प्राप्त हुने जनाइएको छ ।

शुभ फल मिल्ने राशि भएकालाई पनि सूर्यग्रहण प्रत्यक्ष आँखाले भने नहेर्न समितिले आह्वान गरेको छ । कुनै भाँडामा पानी राखेर वा सुरक्षितयन्त्रका माध्यमबाट सूर्यग्रहण हेर्न सकिने छ ।

Share Now

Leave a comment.