Prakash Adhikari December 30, 2019

 

काठमाडौं,१४ पौष । नेपाल भ्रमण वर्ष २०२० को आरम्भसंगै नेपाल वायुसेवा निगमले नयाँ प्रमुख पाउने भएको छ ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेल आफ्नो प्रतिबद्धता अनुरुप निगमको सञ्चालन गर्न असक्षम देखिए पछि विभागीय मन्त्रालयले यसमा चासो लिएको हो ।

गत शुक्रबार बसेको निगमको सञ्चालक समितिको बैठकले विभागीय मन्त्री योगेश भट्टराईको आदेश अनुसार कार्यकारी अध्यक्ष मदन खरेलसंग पाँच बूँदे स्पष्टीकरण सोधेको छ । कार्यकारी अध्यक्ष खरेलकै अध्यक्षतामा बसेको बैठकमा स्पष्टीकरण सम्बन्धी प्रस्ताव निगमका सञ्चालक समितिका सदस्य बुद्धिसागर लामिछानेल राख्नुभएको थियो । उहाँ मन्त्रालयकोतर्फबाट बोर्डमा प्रतिनिधित्व गर्नुहुन्छ ।

सञ्चालक समितिले निगमका अध्यक्ष खरेललाई निगमले लक्षित प्रगति हासिल गर्न नसक्नुको कारण सञ्चालक समितिको असहयोगलाई देखाइदै आएकोले सञ्चालक समितिको कुन निर्णयले निगमको प्रगतिमा बाधा परेको हो सोको फेहरिस्त पेश गर्न आदेश दिएको छ ।

सञ्चालक समितिले कार्यकारी अध्यक्ष नियुक्त भएको १५ महिना पूरा हुँदा पनि निगमको लागि नाफायोग्य नयाँ गन्तब्य पहिल्याएर सञ्चालन गर्न नसक्नु, निगमका जहाजहरुको अधिकतम् उपयोग गर्न नसक्नु, निगमले नयाँ जहाज खरिद र अन्य विभिन्न प्रयोजनको लागि लिएकोे कर्जाको साँबा र ब्याज तिर्न नसक्नु र आर्थिक अवस्था झनझन धराशायी हुँदै जानुको कारण पनि कार्यकारी अध्यक्ष खरेलसंग सोधेको छ ।

निगमले वाइडबडी जहाजको बिजनेश प्लानमा नै जापानको राजधानीस्थित टोकियो नजिकको नारिता विमानस्थलमा नियमित उडान गर्ने योजना राखेको र २०७५ भदौमा नै नारिता उडानका लागि बोर्डबाट निर्णय भएको अवस्थामा कम यात्रु हुने ओशाकामा उडान गरेर निगमलाई नोक्सान पुर्याउनुका कारण पनि सोधेको छ ।

यसका अलावा निगमको कार्यकारी प्रमुख भएको डेढ बर्ष हुन लाग्दा पनि निगमको अन्तराष्ट्रिय क्षेत्रमा उडान गर्ने साँघुरा आकारका (न्यारो बडी)का एअरबस ३२०- २०० र बाइड बडी ३३० -२४३ को बडी र इञ्जिनको मर्मत सम्भार केन्द्रको टुंगो लगाउन नसकेको, वाइड बडीको जहाजमा पावर बाई आवरमा फेर्नुपर्ने उपकरणहरुको आपूर्तिको लागि गरिएको टेण्डर मूल्यांकन गरी निष्कर्षमा पुर्याउन नसक्नुको कारण पनि सोधेको छ ।

निगमको सञ्चालक समितिले अन्तराष्ट्रिय उडानमा रहेका न्यारो बडीका जहाजहरुको एक्जिलरी पावर युनिट आपूर्तिको टेण्डर नगरी जहाज भूमिस्थ हुने स्थिति सिर्जना गरेर महंगोमा खरिद गर्नुपर्ने अवस्था सिर्जना गर्नुको कारण पनि माग गरेको छ ।

निगमका कार्यकारी अध्यक्ष खरेलसंग निगमको बेडामा रहेका आन्तरिक उडानका वाई १२ जहाज र एमए ६० को पूर्ण उडान गर्न नसक्नुको कारण, निगमको वाइड बडीको जहाजमा पूर्ण नेपाली पाइलटहरुको व्यस्थापन गर्ने कार्यक्रम तर्जुमा गर्न नसक्नु, साउदी अरेबियाको रियादमा जिएसए नियुक्त गर्न नसक्नु जस्ता अन्य विषयमा पनि स्पष्ट पार्न सञ्चालक समितिले निर्देशन दिएको छ ।


सञ्चालक समितिले लिएको यो नयाँ अग्रसरताले दिनहुँ धराशयी हुँदै गएको निगमको सुधार हुनेमा आशा पलाएको छ ।

निगममा आउने योग्य व्यवस्थापकले नेपाल भ्रमण बर्ष २०२० मा राष्ट्रिय ध्वजाबाहक विमानको भरपर्दो र सुरक्षित सेवाबाट संसारका पर्यटकीय उद्गमस्थलबाट पर्यटकहरु ल्याउने विश्वास बढ्न गएको छ ।

सरकारले सन् २०२० मा २० लाख विदेशी पर्यटक नेपालमा ल्याउने लक्ष्यसहित यो बर्षलाई नेपाल भ्रमण बर्षको रुपमा मनाउन लागेको छ ।

भ्रमण बर्षलाई सफल बनाउन विदेशी पर्यटक ल्याउनु पर्ने र त्यसका लागि आफ्नो देशबाट चल्ने राष्ट्रिय ध्वजाबाहक वायुसेवाको महत्वपूर्ण भूमिका रहने भएकोले संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई भ्रमण बर्षको आरम्भ संगै निगमका असक्षम कार्यकारी अध्यक्ष मदन खरेललाई बिदा दिने निर्णयमा पुग्नुभएको बताइन्छ ।

प्रधानमन्त्री ओलीको विशेष कृपामा आउनुभएका वर्तमान कार्यकारी अध्यक्षले अपेक्षा अनुरुप काम नगरेपछि प्रधानमन्त्रीले निगमको बार्षिकोत्सवमा उहाँको झ्याको झार्नुभएको थियो । प्रधानमन्त्री ओली पनि उहाँलाई हटाउन सहमत भए पनि उत्तराधिकारमा को ल्याउने भन्ने विषयमा मन्त्री र प्रधानमन्त्रीबीचमा सहमति हुन बाँकी रहेकै बेलामा प्रधानमन्त्रीको स्वास्थ्यस्थिति बिग्रदै गएर स्वास्थ्योपचारमा बढी सक्रिय हुनुपरेकोले कार्यकारी अध्यक्ष खरेलको जागीर लम्बिन गएको थियो

‘बोकाबाट दाँई हुँदैन भन्ने निश्कर्षमा प्रधानमन्त्री र मन्त्री दुवै पुगिसकेकोले निगमले नयाँ नेतृत्व पाउनेमा द्धिविधा रहेको छैन ।

निगममा नयाँ कार्यकारी अध्यक्ष नै ल्याइन्छ कि मन्त्रालयसंगको समन्वय मिलाउनको लागि सचिव अध्यक्ष रहने गरी कार्यकारी महाप्रबन्धक नियुक्त गरिन्छ यो भने निश्चित भएको छैन ।

 

Share Now

Leave a comment.