Prakash Adhikari January 2, 2020

 

रोड.गा(रसुवा), १७ पौष । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ रसुवा–भोटेकोशी जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ ।

१ सय २० मेगावाट क्षमताको उक्त आयोजनाको मङ्गलबार गोसाइँकुण्ड गाउँपालिका–१ रोङ्गामा शिलान्यास गरिएको हो ।

गोसाइँकुण्ड–१ र आमाछोदिङ्मो गाउँपालिका–५ मा निर्माण गर्न लागिएको उक्त आयोजनाको आयोजना निर्देशक दीपक खड्का, गोसाइँकुण्डका अध्यक्ष कैसाङ नुर्पू तामाङ तथा चिनियाँ निर्माण कम्पनी सिचुवान हुवानी इनर्जी इन्भेष्टमेन्ट कम्पनी लिमिटेडका अध्यक्ष लिउ जियन झिनले संयुक्तरूपमा शिलान्यास गर्नुभएको थियो ।

झण्डै २० अर्ब ३९ करोड लागत रहेको सो आयोजनामा चिनियाँ निर्माण कम्पनीको ९० प्रतिशत तथा नेपाली पक्षको १० प्रतिशत लगानी रहनेछ ।
आयोजनाका निर्देशक खड्काले तोकिएकै समयमा निर्माण सम्पन्न गर्नेगरी काम अघि बढेको बताउनुभयो ।

सो आयोजनाको विकासबारे करीब १२ वर्षअघि अध्ययन थालिएको थियो ।

आयोजना निर्माण गर्न उक्त कम्पनीले ६ वर्ष अघि स्वीकृति लिएको हो।

आयोजनाको सुरुङ निर्माण थालिएको छ। आयोजनाको निर्माणका लागि फङलुङखोला र भोटेकोशीको दोभानदेखि करीब १ सय ५० मिटरमाथि भोटेकोशीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ। यस क्रममा ४ हजार ८ सय ३५ मिटर लामो सुरुङ निर्माण गरिनेछ ।

चिलिमेखोला र भोटेकोशीको सङ्गमस्थलमा विद्युत्गृह निमार्ण गरिने आयोजनाले जनाएको छ।

उत्पादन गरिएको विद्युत् १३२ केभी प्रसारण लाइनमार्फत चिलिमे जलविद्युत् आयोजनाको चिलिमे ‘हब’मा जडान गरिने छ।

रसुवा–भोटेकोशी आयोजनाको प्रवद्र्धक कम्पनी लाङटाङ भोटेकोशी हाइड्रोपावर कम्पनी प्रालि रहेको छ।

Share Now

Leave a comment.