न्यूयोर्क(संयुक्त राज्य अमेरिका),२३ पौष । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क शहरमा फोहरसंकलन गर्ने ट्रकको ठक्करबाट घाइते बनेका १० बर्षीय श्रृजल पन्थीको निधन भएको छ ।
छोरासंगै ठक्करबाट घाइते हुनुभएकी मिना पन्थीको अवस्था चिन्ताजनक छ । उहाँको न्युयोर्कस्थित एलम्हस्टन हस्पिटलमा उपचार भइरहेको छ । उहाँको खुट्टामा गम्भीर चोट लागेको छ । ट्रकले ठक्कर दिएपछि तत्कालै दुवै जनालाई अस्पताल लगिएको थियो । उपचारकै क्रममा श्रृजलको निधन हुन पुगेको हो ।
्
दुर्घट्ना पन्थी परिवार बसोबास गर्ने स्थान कोरोनाको ९७ स्ट्रीटको ५७ एभेन्युमा भएको थियो । मिना आफ्ना छोरा श्रृजललाई न्यूयोर्कको क्वीन्स स्थित कोरोनामा विद्यालय लिएर जादै हुनुहुन्थ्यो ।
दुर्घटना लगत्तै न्युयोर्कका नेपालीहरु एलम्हस्टन अस्पताल पुगेर मृतकका बुबा एवं न्यूयोर्कका नेपाली समुदायमा सक्रिय पुरुषोत्तम पन्थीलाई सान्त्वना र समवेदना दिइरहेका छन् । श्रृजलका पिता पुरुषोत्तम पन्थी क्वीन्स नेप्लिज लायन्स क्लबका अध्यक्ष हुनुहुन्छ।
न्युयोर्कको क्वीन्समा सवारी दुर्घटनामा नेपाली बालक श्रृजलको मृत्युको घटनाप्रति न्युयोर्कका मेयर बिल डे ब्लाजियोले दुख व्यक्त गर्नुभएको उहाँले उक्त घटनाको अनुसन्धान जारी रहेको र ट्रक चालकलाई निलम्बन गरिएको जानकारी दिनुभएको छ ।
यसैबीच श्रृजलको आत्माको शान्तिको कामना गर्दै उनी अध्ययन गर्ने विद्यालयका शिक्षक र कोरोनाका स्थानीयले मैनबत्ती बालेर दिवंगत आत्माको चीर शान्तिको प्रार्थना गरेका छन ।
पन्थी परिवार नेपालको बुटबलबाट सुरक्षित भविष्यको खोजीमा अमेरिकाको न्यूयोर्क पुगेको हो ।


















