Prakash Adhikari January 14, 2020

काठमाडौं, २९ पौष। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल स्वास्थ्य उपचारका लागि सोमबार भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ।

रक्तचापको जाँचका क्रममा एकै दिनमा फरकफरक रिपोर्ट देखिएपछि थप उपचारका लागि उहाँ नयाँदिल्ली जानुभएको उहाँका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभएको छ ।

उहाँको दिल्ली बसाईंका क्रममा राजनीतिक भेटघाट पनि हुनसक्ने बताइएको छ ।

दिल्ली भ्रमणको पूर्वसन्ध्यामा पौष २७ गते आइतबार कांग्रेस नेता रामचन्द्र पौडेलले पार्टीभित्र देखिएको पछिल्लो घटनाक्रम र राष्ट्रिय राजनीतिबारे लोकतान्त्रिक धारका बुद्धिजीवीहरुसँग अर्न्तक्रिया गर्नुभएको थियो ।

पार्टी सभपति शेरबहादुर देउवाले पार्टीको संगठन क्षतविक्षत बनाएर कार्यकर्ताको नैतिक मनोबल गिराउदै पार्टी एकलौटी ढंगले बढाएकोले सबै कार्यकर्ताको मनोबल उठाउने र सबै कार्यकर्ताको भावना समेटेर पार्टीलाई कम्युनिष्टहरुको अधिनायकवादी शासनविरुद्ध कसरी अगाडि बढाउने भन्ने विषयमा बुद्धिजीवीहरुसँग राय माग्नुभएको थियो ।

उहाँले राष्ट्रिय राजनीतिका जल्दाबल्दा विषयहरु प्रतिनिधिसभाको सभामुख, प्रदेशहरुको राजधानी र नामाकरण, एमसीसी संझौता, कालापानी सीमा विवाद, सूचना प्रविधि लगायतका विवादास्पद विधेयकहरुको बारेमा पनि बुद्धिजीवीहरुको राय माग्नुभएको थियो ।

केन्द्रीय कार्यसमितिको बैठकले बहुमतबाट १४ औं महाधिवेशनको कार्यतालिकासहित मिति सार्वजनिक गरेपछि संस्थापन विरोधी समूह असन्तुष्ट बन्दै आएको छ । यो समूहको नेतृत्व वरिष्ठ नेता पौडेलले गरिरहनुभएको छ, जसमा कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, महामन्त्री डा.सशांक कोइराला, डा.शेखर कोइरालालगायतका गुटको संलग्नता रहेको छ ।

पौष ११ गतेको केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशन प्रयोजनका लागि विधानका धारा निलम्बन गर्ने, तरुण दलको म्याद थप्ने र केन्द्रीय विभागहरुको संख्या ४७ बनाएर विभागहरु गठन गर्ने लगायतका निर्णयका विरुद्ध संस्थापन विरोधी समूहले आफू निकटका जिल्ला सभापतिहरुसंग पनि पौष २१ देखि २३ सम्म परामर्श गरेको थियो ।

पौडेल समूहले कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंसिर २६ गतेबाट निरन्तर बहिष्कार गर्दै आएको छ ।

आइतबार काठमाडौंमा भएको अर्न्तक्रियामा राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनाल, लोकराज बराल, पूर्वराजदूत डा. चोपलाल भुसाल, राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्र गौतम, पुरञ्जन आचार्य, संविधानविद वरिष्ठ अधिवक्ता भिमार्जुन आचार्य, योजना आयोगका पूर्वउपाध्यक्षद्धय जगदिशचन्द्र पोखरेल, गोविन्द पोखरेल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहाललगायत उपस्थित हुनुहुन्थ्यो ।
अर्न्तक्रियामा पौडेलसँगै नेता प्रकाशमान सिंह पनि सहभागी हुनुहुन्थ्यो।

कांग्रेसको १४औँ महाविधेशनका सम्बन्धमा पार्टीको केन्द्रीय कार्यसमितिले बहुमतका आधारमा निर्णय गरेपछि केन्द्रीय समितिको बैठक वहिष्कार गरेर आफ्नो गुटलाई संगठित गर्न लाग्नुभएका नेता नेता पौडेल र सभापति शेरबहादुर देउवाबीच आइतबार मात्रै भेटवार्ता भएको थियो।

Share Now

Leave a comment.