Prakash Adhikari January 16, 2020

 

काठमाडौं, २ माघ । राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सरकारले सफाई दिएको छ ।

यसको जानकारी बिहीबारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले दिनुभएको हो ।

उहाँले भन्नुभयो, विभिन्न उजुरीका आधारमा नेपाल राष्ट्र बैंकले श्रेष्ठमाथि छानबिन गरेको र सो प्रतिवेदनका आधारमा उहाँलाई निलम्बन गरी सरकारले थप अनुसन्धान गरेको तर वास्तविकता उजुरी अनुरुपको नभेटिएपछि उहाँलाई सफाई दिइएको छ ।

राष्ट्र बैंकबाटै आफूमाथि छानवीन समिति बनाइएपछि डेपुटी गर्भनर श्रेष्ठले आफूलाई गभर्नर बन्न नदिन सुनियोजित रुपमा ठूलो षड्यन्त्र भएको गुनासो गर्दै भन्नुभयो, मैले कानूनबाहिर गएर कुनै निर्णय गरेको छैन, कुनै गल्ती गरेको छैन ।

सरकारको निर्णय अनुसार छानबिन गर्न समिति गठन भएपनि उहाँ राष्ट्र बैंक ऐन अनुसार निलम्बनमा पर्नुभएको थियो ।


सरकारले सफाई दिएसंगै डेपुटी गभर्नर श्रेष्ठको निलम्बन समेत हटेको छ ।

सरकारको पत्र अनुसार श्रेष्ठमाथि छानबिन गर्न राष्ट्र बैंक संचालक समितिको बैठकले गत कात्तिक १८ गते छानबिन समिति गठन गरेको थियो ।

राष्ट्र बैंकका संचालक समिति सदस्य श्रीराम पौडेलको संयोजकत्वमा गठन भएको समितिमा राष्ट्र बैंकका संचालकद्वय रामजी रेग्मी र सुबोधलाल कर्ण सदस्य हुनुहुन्थ्यो । पौडेल संयोजकत्वको टोलीले श्रेष्ठलाई सरकारले लगाएको आरोपमा दोषी किटान गरेको थियो ।
त्यसपछि सरकारले श्रेष्ठलाई लिखित स्पष्टिकरण सोधेको थियो । त्यसको जवाफमा श्रेष्ठले आफू दोषी नभएको स्पष्टिकरण दिनुभएको थियो ।

राष्ट्र बैंक स्रोतले उहाँ आइतबारदेखि नियमित काममा फर्कनुहुने बताएको छ ।

Share Now

Leave a comment.