Prakash Adhikari January 21, 2020

काठमाडौं, ७ माघ । दामनको रिसोर्टमा मंगलबार बिहान बेहोस अवस्थामा भेटिएका आठै जना भारतीय पर्यटकको मृत्यु भएको छ ।

बेहोस अवस्थामा उपचारार्थ काठमाडौंको ह्याम्स अस्पताल ल्याइएका उनीहरुलाई अस्पतालले मृत घोषित गरेको हो ।

भारतको केरलाबाट नेपाल घुम्न आएका पर्यटकहरु काठमाडौ घुमेर पोखरा हुँदै दामनबाट देखिने सगरमाथा श्रृखलाको दृश्य हेरी घर फर्कने तयारीका साथ सोमबार साँझ दामन पुगेका थिए ।

सिमभञ्ज्याङको एभरेष्ट रिसोर्ट पानोरमामा बास बस्न पुगका पन्ध्र जना भारतीय पर्यटकले रिसोर्टका ११, १२, १३ र १४ नम्बर कोठा बुक गरेका थिए। १३ र १४ नम्बर बुक गरेकाहरू खाना खाएर सुत्न गएका थिए।११ र १२ नम्बर रूममा दुई पुरूष, दुई महिला, दुई बालक र दुई बालिका बस्ने टुंगो थियो।

११ र १२ नं बेड नतातेको भन्दै आठै जना निकै समय ११ नम्बर कोठामा बसे। हिटर मागे  । पर्यटकहरुले जोडबल गरेपछि होटलका कर्मचारीले ग्यास हिटर लगिदिएका थिए । बिहान आठ जना सुतेको ११ नम्बर कोठा नखुलेको देखेपछि होटलका कर्मचारीले १३ र १४ नम्बर कोठाका पर्यटकलाई बोलाए । ढोका खोल्दा भित्र आठै जना बेहोस थिए । कोठा तातै थियो। मान्छे पनि तातै थिए। तर, कसैको होस् थिएन।

पर्यटकहरुले अस्पताल लैजाने निर्णय गर्न सकेनन् । होटलका कर्मचारीले प्रहरीलाई खबर गरे।हेटौडा हुँदै इलाका प्रहरी कार्यालय पालुङमा खबर पुग्दा निकै अबेर भइसकेको थियो । प्रहरीसँगको सहकार्यमा काठमाडौंबाट हेलिकप्टर मगाएर काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइएका आठै जनाको मृत्यु भइसकेको थियो ।

मृत्यु हुनेमा ३८ वर्षीय रन्जित कप, ३४ वर्षीया इन्द्र, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभि, ७ वर्षीया अर्चना, ५ वर्षीय वैशनव र ९ वर्षीया बन्द्रा रहेका छन्। सबै मृतक केरलाका हुन । मृतक सबैको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

झ्याल ढोका थुनेर ग्यास हिटर बालेकोले अक्सिजनको अभावमा सबैको निस्सासिएर मृत्यु भएको अनुमान गरिएको छ ।

एक सानो असावधानीले सुरक्षित रुपमा कोठमा सुतेको अवस्थामा आठै जनाको इहलिला समाप्त भयो । यो क्षति अन्नपूर्ण क्षेत्रमा हिमपहिरोमा परेर भएको क्षतिभन्दा पनि ठूलो हुन गयो । अन्नपूर्ण बेस क्याम्पमा गएको हिम पहिरोमा परेर अझै ७ जना हराइरहेका छन् ।

Share Now

Leave a comment.