काठमाडौं, १५ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको दोस्रो बैठक आजदेखि राष्ट्रिय सभागृहमा शुरू हुँदैछ।
आजको बैठकमा प्रधानमन्त्री ओलीले उद्घाटन मन्तव्य दिने कार्यक्रम छ।
मंगलबार बसेको नेकपा सचिवालय बैठकले बैठकका एजेण्डाहरु सार्वजनिक गरेको छ।
सचिवालयले तय गरेको कार्यक्रम तालिकामा सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेर आरम्भ हुने बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले बैठकको उद्घाटन र मन्तव्य दिने,अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षद्वयको तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्ने, महासचिव विष्णु पौडेलले सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने, सात वटै प्रदेशमा प्रदेश अध्यक्षहरुले सांगठनिक रिपोर्ट आफ्नो प्रदेशका तर्फबाट प्रस्तुत गर्ने, समसामयिक प्रस्तावहरु (अहिलेका तत्कालीन विषयहरु) र कार्य समितिले आवश्यक देखेका विविध विषय प्रस्ताव गरी छलफल गरिनेछ ।
नेकपाले जनाए अनुसार पार्टी एकतापछि यो दोस्रो बैठक हो। पार्टी एकतापछि केन्द्रीय सदस्यहरुको सपथग्रहणका समयमा औपचारिक बैठक बसेको थियो । नेकपाको केन्द्रीय कमिटी बैठकमा ४ सय ४५ जना सदस्य छन्। पार्टी कार्यालयमासबै अट्न सम्भव नभएकाले सभागृहको हल चयन गरिएको नेकपाले जनाएको छ।
तत्कालिन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा पार्टी एकता भएपछि दोस्रो पटक बस्न लागेको यो बैठकले विधान संशोधन प्रस्ताव अनुमोदन गर्नेछ। विधान संशोधन भएपछि वामवेद गौतम उपाध्यक्ष बन्नुहुनेछ।
केन्द्रीय बैठकको पूर्व सन्ध्यामा नेकपाले उपसभामुखबाट राजिनामा दिनुभएकी डा. शिवमाया तुम्बाहाम्फेलाई केन्द्रीय सदस्य मनोनित गरेको छ ।
केन्द्रीय सदस्य रहनुभएका अग्निप्रसाद सापकोटाले सभामुख निर्वाचित भएपछि पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीबाट राजिनामा दिइसक्नुभएको छ ।


















