Prakash Adhikari January 30, 2020

 

काठमाडौं, १६ माघ । आज नेपालभर शहीद दिवस मनाइदै छ । नेपालमा निरड.कुश राणा शासनको अन्त्य गरी लोकतान्त्रिक राज्यब्यवस्थाको स्थापना गर्नका लागि संगठित प्रयास थाल्ने क्रममा १९९७ सालमा जीवनको आहुति दिने प्रथम चार शहीदहरुको संझनामा मनाउन थालिएको हो ।

निरङ्कुश राणा शासनको विरोध र स्वतन्त्रताको माग गर्दा तत्कालीन राणा शासकले १० माघ १९९७ मा काठमाडौँ टेकुको पचलीमा शुक्रराज शास्त्रीलाई, १३ माघमा धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई १५ माघमा शोभाभगवतीमा मृत्युदण्ड दिएका थिए।

उनीहरूकै स्मरणमा वि.सं. २०१२ देखि माघ १०–१६ मा औपचारिक रूपमा सहिद सप्ताह मनाउने गरिएको छ ।

विकास र समृद्धिको आकाङ्क्षा :शहीदको मार्गदर्शन

शहीद दिवसको अवसरमा एक विज्ञप्ति प्रकाशित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा तथा जनताको सुखी जीवन हाम्रा चार अमर शहीदले देखाएको मार्गदर्शन भएको उल्लेख गर्नुभएको छ।

शहीद दिवस २०७६ का अवसरमा लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अमर शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्री ओलीले जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था र जन्मसिद्ध श्रेष्ठताका आधारमा चलेको निरङ्कुश राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेर स्वप्नद्रष्टा शहीदको आत्मबलिदानमार्फत् सामाजिक न्याय, कानूनी शासन र जनाधिकारसहितको न्यायपूर्ण व्यवस्था प्राप्त गरेको स्मरण गर्नुभएको छ।

जहानियाँ राणा शासनविरुद्धको सङ्घर्षका क्रममा विसं १९९७ सालमा वीर सपूतहरु शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले आफ्नो जीवन बलिदान गर्नुपरेको थियो। बलिदानको त्यही गाथालाई शहीद सप्ताहका रुपमा मनाउने गरिएको छ। सोही सङ्घर्षको भावभूमिबाट जनसङ्घर्षको ज्वार उठेर २००७ सालमा एक सय चार वर्षे लामो जहानियाँ राणा शासन अन्त्य भएको थियो।

‘शहीदहरुको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संविधानसभामार्फत् संविधान जारी गरेर जनतालाई अधिकार सम्पन्न बनाउँदै संस्थागत गरेका छौं। लोकतान्त्रिक अधिकार, कानूनी राज्य, न्याय र समानतामा आधारित राज्य व्यवस्थासहितको प्रणाली संस्थागत भएपछि अधिकार प्राप्तिका लागि गरिएको लामो सङ्घर्षको चरण पूरा भएको छ।’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘विगतमा अधिकार प्राप्तिका लागि राष्ट्रिय जीवनको लामो कालखण्ड व्यतीत गरेपछि अब हामी विकास र समृद्धिको अभियानमा अग्रसर छौं। विकास र समृद्धिका लागि सुदृढ अर्थतन्त्र, सबल लोकतन्त्र, सुशासन र सामाजिक न्यायको व्यवहारिक कार्यान्वयनको चरणमा हामी उभिएका छौं।’

उहाँले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा प्राप्तितर्फ अभिमुख रहेकाले राष्ट्रको यस आकाङ्क्षा प्राप्तिका लागि हामी सबैले आ-आफ्नो ठाउँबाट सक्रिय रहनुपर्ने र राष्ट्रको यस संकल्पलाई पूरा गर्न तीनै वटा तहका सरकारी अंगहरु, विभिन्न पेशा, क्षेत्र, व्यवसायमा सम्बद्ध जनसमुदायलाई तालबद्धताका साथ अघि बढ्न पनि आह्वान गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले समाज र राष्ट्रको हितमा निस्वार्थरुपमा सक्रिय हँदै अघि बढ्न प्रेरणा मिलोस् भन्ने अपेक्षा व्यक्त गर्दै लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन अर्पण गर्ने अमर शहीदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ।

शहीदको बलिदान समुन्नतिको लागि प्रेरणादायी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शहीद दिवसका अवसरमा एक सन्देश दिंदै शहीदहरुको बलिदान देशमा लोकतन्त्रको माध्यमबाट शान्ति र समुन्नति हासिल गर्न प्रेरणादायीभ भएको उल्लेख गर्नुभएको छ ।

उहाँले वि.सं. १९९७ देखि २०६२÷६३ हुँदै आजसम्म लोकतन्त्र स्थापना र पुनस्र्थापनाको लामो संघर्षमा अनेकौँ वीर सपुतहरुले आफ्नो प्राणको आहुति दिएको स्मरण गर्दै नेपाली जनतालाई पूर्ण राजकीयसत्ता र सार्वभौमसत्ता सम्पन्न बनाउनका लागि आफूलाई उत्सर्ग गर्ने अमर शहीदहरुको साहस, संकल्प र आदर्श अनुरुप राज्य सञ्चालन गर्न सदैव प्रेरणा मिल्ने बताउनुभएको छ ।

उहाँले शहीदहरुको सपनाको स्मरण गर्र्दै भन्नुभएको छ, ‘लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुन्छ, यसबाट नै विद्यमान विसंगतिहरुको अन्त्य हुनेछ । राष्ट्रले दु्रततर रुपमा विकास र निर्माणका कार्यहरु गर्नेछ । लोकतन्त्रको एउटा सवल पक्ष समानता हो । समान हक, समान अवसर र समान न्याय । सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत हुनेछ भन्ने परिकल्पना र विश्वासमा ती देशभक्त वीर सपुतहरुले आफूलाई सहर्ष उत्सर्ग गरेका थिए ।’

पूर्व प्रधानमन्त्री देउवाले मुलुकले सुम्पिएको राष्ट्रिय जिम्मेवारी पूरा गर्न र नेपाललाई एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत गर्नका लागि जिम्मेवार हामी सबै पक्षलाई शहीद दिवसले प्रेरणा प्रदान गर्ने विश्वास लिनु भएको छ ।

उहाँले भन्नुभएको छ , ‘शहीद दिवसको अवसरमा देश र लोकतन्त्रको हित रक्षाको निमित्त हामीले आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गरौं ।’

शहीद दिवसका अवसरमा बिहीबार बिहान रत्नपार्कको शान्तिबाटिकादेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो।

Share Now

Leave a comment.