Prakash Adhikari February 3, 2020

काठमाडौं,२० माघ । कोरोनाभाइरसको सङ्क्रमणको क्रम बढेसँगै नेपाल आउने गरेकामध्ये पाँच वायुसेवा कम्पनीले हाललाई उडान बन्द गरेका छन्।

एअर चाइना, सिचुवान, चाइना इष्टर्न, टिब्बेटियन एअर र हिमालयन एअरले नेपाल चीन विमान सेवा बन्द गर्ने जानकारी दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बीबीसी न्यूज नेपालीलाई बताए।

क्षेत्रीका अनुसार अधिकांशले फेब्रुअरी ४ देखि फेब्रुअरी २८ तारिखसम्मका लागि उडान बन्द गर्ने भएका हुन्।

चीनबाट नेपालमा हुने उडान र तिनमा नेपाल आइपुग्ने पर्यटकको सङ्ख्या घट्ने क्रम जारी रहेको अधिकारीहरूले बताएका छन्।

चीनमा कोरोनाभाइरसको सङ्क्रमण र त्रास बढेपछि हवाईयात्रुको सङ्ख्या घटेको र त्यसैले नेपाल उडान भर्ने केही प्रमुख चिनियाँ वायुसेवाले नेपाल उडान फेब्रुअरी ४ देखि फेब्रुअरी २८ तारिखसम्मका लागि स्थगित गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बीबीसी न्यूज नेपालीलाई बताए।

“यात्रुको सङ्ख्या घट्न थालेपछि चाइना सदर्नले बिहानको उडान बन्द गरेको र बेलुकाको भने हालसम्म जारी राखेको छ,” उनले भने।

अन्योल
चिनियाँ पर्यटक
टिबेट एअर र सिचुआन एअरलाइन्सले पनि काठमाण्डूलाई विभिन्न चिनियाँ शहरसँग जोड्दै आएका छन्।

अहिलेको अवस्था अन्योलपूर्ण भए पनि ती वायुसेवाले आफ्नो उडान योजनाबारे अझै जानकारी दिइनसकेको क्षेत्रीले बताए।

चीनका बेइजिङ र चोङचिङलगायतका शहरमा उडान गर्ने नेपालको हिमालय एअरलाइन्सले पनि हाललाई आफ्ना अधिकांश उडान रद्द गरेको बताएको छ।

कोरोनाभाइरस सङ्क्रमणका कारण अहिलेसम्म ३६१ जनाको ज्यान गइसकेको छ भने १७,००० भन्दा बढी सङ्क्रमित भएको पुष्टि भएको चिनियाँ अधिकारीहरूले बताएका छन्।

नेपालको अध्यागमन विभागका अनुसार चीनमा भाइरस सङ्क्रमण बढेसँगै नेपाल आउने चिनियाँ पर्यटकको सङ्ख्यामा पनि कमी आएको छ। ज्यानुअरीमा झन्डै १४,००० चिनियाँ नेपाल आएका थिए।

गत साता त्रिभुवन विमानस्थलबाट हुने चिनियाँ आगमन निकै कम भएको थियो। विभागका अनुसार ज्यानुअरी २७ मा १९५ चिनियाँ नेपाल आइपुगेका थिए। ज्यानुअरी २८ मा त्यो सङ्ख्या १७४ मा झरेको छ।

फेब्रुअरी १ तारिखमा १५९ चिनियाँ आएका थिए भने २ तारिखमा १७७ जना चिनियाँ त्रिभुवन विमानस्थलबाट भित्रिएको विभागको भनाइ छ।

चीन बाहेक अन्य देशबाट नेपालमा हुने उडान र यात्रु आगमन भने सामान्य नै रहेको प्राधिकरणको भनाइ छ।( बीबीसीबाट)

Share Now

Leave a comment.