Prakash Adhikari March 7, 2020

 

कोरोना भाइरस दिनहुँ नयाँ नयाँ मुलुकमा फैलिरहेको र यो भाइरसको संक्रमण भएका मुलुकहरुमा पनि नेपालका वायुसेवा र संबन्धित मुलुकका वायुसेवाले नेपालमा  उडान गरिरहेकोले कारोना संक्रमणको संत्रास नेपालमा पनि फैलिएको छ । कोरोना संक्रमणको आशंंकामा उडानका यात्रु र चालक दलसहित उडान कर्मचारीलाई पनि क्वारेन्टाइनमा राखिएको परिप्रेक्षमा नेपालबाट कोरोना संक्रमित मुलुकमा र त्यस्ता मुलुकबाट नेपालमा भैरहेको नियमित उडानलाई यथावत चालु राख्ने कि केही समयको लागि रोक्ने भन्ने वहस नागरिक तहमा पनि चलेको छ । सर्वोच्च अदालतले समेत परिस्थिति हेरेर अन्तर्राष्ट्यि उडान केहीसमय स्थगित गर्न आदेश दिएको अवस्थामा नेपालको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानको बारेमा नियमन गर्ने नागरिक उड्डयन प्राधिकरणले भने सरकारलाई अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन पर्ने अवस्था तत्काल नरहेको सुझाव दिएको छ । एक रिपोर्ट

काठमाडौं, २४  फागुन  । विदेशी यात्रुको आवतजावत हुने अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडानले कोरोना भाइरसको सन्त्रासलाई थप बढावा दिने गर्दछ। के अन्तर्राष्ट्रिय उडान रोक्दैमा कोरोनाको सम्भावित जोखिम नियन्त्रण हुन्छ त? यो प्रश्नको उत्तर सहज छैन, किनकि नेपालजस्तो विकासोन्मुख देशमात्र हैन, विकसित मुलुक युरोप अमेरिकालगायतकाले पनि यस्तो प्रश्नको उत्तर भेट्टाउन सकेका छैनन्। त्यसैले बजारमा फैलिएको हल्ला र त्रासकै भरमा तत्कालका लागि अन्तर्राष्ट्रिय उडान रोक्ने अवस्था नरहेको नियामक नेपाल नागरिक उड्‌डयन प्राधिकरणले जनाएको छ।

अन्तर्राष्ट्रिय नागरिक उड्‌डयन सङ्‌गठन (आइकाओ) र विश्व स्वास्थ्य सङ्‌गठन (डब्लुएचओ) को विश्वव्यापी मापदण्डलाई नेपालले परिपालना गर्नै पर्ने हुन्छ। हुन त सार्वभौम मुलुक नेपालका लागि यो बाध्यकारी व्यवस्था भने हैन। नेपालले आफ्नो आवश्यकताका आधारमा निर्णय लिन सक्छ तर पनि मानवीय संवेदनशीलता र विश्वव्यापी परिस्थतिलाई मध्यनजर गरी हतारमा उडान रोक्न पनि उपयुक्त नहुने नियामक निकायको भनाइ छ।

अहिले नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट तीन नेपालीसहित २९ वटा वायु सेवा प्रदायकले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्। हिमालय एयरलाइन्सले चीनमा हुने १५ वटा उडान कटौती गरिसकेको छ।

नेपालको सन्दर्भमा सर्वोच्च अदालतले पनि आवश्यकता परेको खण्डमा अन्तर्राष्ट्रिय उडान रोक्न अन्तरिम आदेश दिइसकेको छ। यो विषयमा सरकारले निर्णय गरेपछि मात्र नियामक प्राधिकरणले कार्यान्वयन गर्नुपर्ने हुन्छ। त्यसो भए कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गरी प्राधिकरण अन्तर्राष्ट्रिय उडान रोक्ने अवस्थामा पुगेको हो त भनी सोधिएको जिज्ञासामा प्राधिकरणका महानिर्देशक राजन पोखरेलले अहिले नै अन्तर्राष्ट्रिय उडान रोक्नुपर्ने अवस्था नरहेको बताए।

‘राज्यले अत्यावश्यकबाहेक हवाई यात्रा नगर्न ट्राभल एडभाइजरी जारी गरिसकेको छ, यो नै काफी हुन्छ, उडान रोकिरहन पर्दैन यात्रु नपाएपछि एयरलाइन्सले उडान गर्नै सक्दैनन् फेरि अहिले डब्लुएजओ र आइकाओले पनि उडान रोक्नु भनेको छैन त्यसैले अहिले नै अन्तर्राष्ट्रिय उडान रोक्ने अवस्था छैन,’ महानिर्देशक पोखरेलले भने। नेपालजस्तै अन्य मुलुकले पनि ट्राभल एडभाइजरी जारी गरी आफ्ना नागरिकलाई अन्तर्राष्ट्रिय उडानमा नजान भनिसकेकाले स्वभाविकरुपमा अन्तर्राष्ट्रिय उडानमा कटौती हुने उनको भनाइ छ।

अहिले नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट तीन नेपालीसहित २९ वटा वायु सेवा प्रदायकले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्। हिमालय एयरलाइन्सले चीनमा हुने १५ वटा उडान कटौती गरिसकेको छ। राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले भने आफ्ना सबै गन्तव्यमा नियमित उडान गरिरहेको छ। हिमालयले यात्रुको माग र बजारको आवश्यकताका आधारमा चीनका विभिन्न गन्तव्यमा उडान भर्ने जनाएको छ।

विदेशबाट नेपाल उडान भर्ने एयरलाइन्सले पनि यात्रु घटेपछि उडानमा भारी कटौती गरेको विमानस्थलले जनाएको छ। अहिलेसम्म साउदी अरब, कुवेत, अस्ट्रेलिया, मङ्‌गोलिया, इजरायललगायत मुलुकले भने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको प्राधिकरणका महानिर्देशक पोखरेलले जानकारी दिए। तथापि, पश्चिमी मुलुकले भने उडान रोकेका छैनन्।

डिसेम्बर महिनाको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरमा देखापरेको कोरोना भाइरस इरान, दक्षिण, कोरिया, जापान, इटाली, अमेरिकालगायत मुलुकमा कोरोनाको सङ्‌क्रमण फैलिसकेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार शुक्रबारसम्म विश्वभर कोरोना सङ्‌क्रमित व्यक्तिको सङ्ख्या ९६ हजारभन्दा बढी पुगिसकेको छ। कोरोना भाइरस सङ्‌क्रमणबाट तीन हजार बढीको मृत्यु भएको जनाइएको छ।

प्राधिकरणले हालै कोरोना अतिप्रभावित मुलुकमा हवाई उडान रोकिहाल्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकाल्दै विश्व स्वास्थ्य सङ्‌गठनको मापदण्डभित्र रहेर आवश्यकताअनुसार निर्णय लिन सरकारलाई सिफारिस गरेको थियो। ट्राभल एडभाइजरी जारी गरिसकेको सरकारले अतिप्रभावित मुलुकका नागरिकलाई ‘अन अराइभल भिसा’ नदिने यसअघि नै निर्णय गरिसकेको छ। अहिले मुलुकभित्र कोरोना भाइरसको सङ्‌क्रमित बिरामी पुष्टि नभएका कारण तत्काल उडान अवतरण रोक्नपर्ने अवस्था नरहेको तर नेपाल र सम्बन्धित मुलकुको स्वास्थ्य सतर्कता र संवेदनशीलता हेरेर यो निर्णय लिन सकिने प्राधिकरणले उल्लेख गरेको छ।

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा आउने र जाने दुवै कक्षमा यात्रुको स्वास्थ्य परीक्षण भइरहेको छ। अन्तर्राष्ट्रिय विमानस्थलको मापदण्डअनुरुप विमानस्थलमा नियमित स्वास्थ्य कक्षबाहेक अहिले स्वास्थ्य मन्त्रालयले छुट्टै विमानस्थलमा ‘हेल्थ डेस्क’ सञ्चालन गरिरहेको छ। विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार विमानस्थको नियमित अन्तर्राष्ट्रियतर्फ यात्रुको प्रस्थान र आगमन कक्षको नियमित हेल्थ डेस्क अलावा मन्त्रालयले पनि यात्रुको परीक्षणका लागि हेल्थ डेस्क स्थापना गरेको छ। कम्तीमा पाँच जना चिकित्सकले तीन सिफ्टमा काम गरिरहेको विमानस्थलले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले मन्त्रालयको समन्वयमा विमानस्थलमा स्वास्थ्य परीक्षण कक्ष स्थापना गरी प्रभावकारीरुपमा यात्रुको स्वास्थ्य परीक्षण भइरहेको जानकारी दिए। विमानस्थलमा यात्रुको ज्वरो नापिन्छ। कुनै यात्रुमा कुनै पनि किसिमको सङ्‌क्रमणको सङ्‌केत देखिएमा तत्कालै आपत्कालीन उद्धारका लागि दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ। विमानस्थलको आन्तरिक उडानमा पनि यात्रुको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको विमानस्थलले जनाएको छ। रासस

Share Now

Leave a comment.