काठमाडौं, १४ चैत्र । प्रधानमन्त्री के पी शर्मा ओली अस्पतालबाट स्वास्थ्यलाभ गरी शुक्रबार साँझ सरकारी निवास बालुवाटार फर्कनुभएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मनमोहन कार्डियो भास्कुलर एण्ट ट्रान्स्प्लान्ट सेन्टर महाराजगंजमा आकस्मिक उपचार गराई पूर्ण स्वास्थ्यलाभ हासिल गरी डिस्चार्ज हुनुभएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीलाईमुटुको धड्कन बढ्ने समस्या देखिएपछि बिहीबार राति ११ : ३० पछि अस्पतालमा लगिएको थियो ।
अस्पतालमा झण्डै २० घण्टा स्वास्थ्योपचार गरी अपेक्षित सुधार भएपछि उहाँलाई डिस्चार्ज गरिएको हो ।
प्रधानमन्त्री ओलीको २४ दिन अघि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
२०६४ सालमा भारतमा प्रत्यारोपण गरिएको मृगौलाले काम गर्न छाडेपछि नियमित गत साउनदखि उहाँमा खास समस्या देखिएको थियो ।
सिंगापुरमा भाद्र महिनामा प्लाज्मा फेरोसिस विधिबाट शरीरको एण्टिबडी निर्मूल गरेपछि नेपालमा नै नियमित डायलासिस गराउदै आउनुभएका प्रधानमन्त्री ओलीको गत फागुन २१ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रो पटक मृगौलाको प्रत्यारोपण भएको हो ।
मृगौला प्रत्यारोपणपछि पूर्ण आरामको आवश्यकता रहेपनि पार्टीको सचिवालय बैठक, क्याविनेट बैठक,सार्क मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको कोरोना नियन्त्रण र रोकथामको लागि भएको भिडियो कन्फरेन्स तथा राष्ट्रपतिसंगको भेटघाट जस्ता कार्यमा खटिन परेकोले उहाँलाई धपेडी भएको बतान्छ ।
यद्यपि विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट आम नेपालीलाई जोगाउन सरकारले चैत्र ११ देखि देशभर अत्यावश्यक सेवा बाहेकका सरकारी,निजी र सामुदायिक संस्थाहरु बन्द गरेर मानिसहरुलाई समूहमा हिडडुल गर्न,सामूहिक भेला,मेला र जमघट गर्न प्रतिबन्ध लगाएको कारण प्रधानमन्त्रीलाई कामको बोझ भने निकै हल्का हुन गएको छ ।
प्रधानमन्त्रीज्यूको उपचारमा संलग्न अस्पताल, चिकित्सकहरू, नर्सहरू र सबैमा धन्यवाद ज्ञापन गरिन्छ