काठमाडौं, १८ चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाहले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा २ करोड रुपैयाँ सहयोग गर्नुभएको छ ।
पूर्व राजा ज्ञानेन्द्रबाट हिमानी कोषमार्फत नेपाल सरकारद्धारा स्थापित कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम कोषमा सो सहयोग भएको हो।
पूर्वराजा ज्ञानेन्द्रले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै लकडाउन बाध्यात्मक परिस्थिति भएको र यसप्रति अनुशासित बन्न पनि सबैसँग आग्रह गर्नुभएको छ ।
उहाँले महामारीको यस क्षणमा ज्यानको परबाह नगरी खट्ने चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी सेना प्रहरीलगायत सबै सुरक्षाकर्मीप्रति आभार प्रकट गर्नुभएको छ ।
पूर्व राजाले राहत, उद्धार र ब्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्र सरकारी सबै पक्षबाट समन्वयकारी ढंगमा मानवीय सेवा सहयोगमा काम भै रहेकोमा प्रसंशा गर्दै यसलाई अझै प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ ।