Prakash Adhikari April 6, 2020

 

काठमाडौं, २४ चैत्र । विश्वब्यापी महामारीको रुपमा फैलदै गएको कोरोनाभाइरसको संक्रमणबाट नेपाल र नेपालीलाई जोगाउन सरकारले नेपालभर लगाएको लकडाउनलाई बैशाख ३ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

चैत्र १० गते सरकारले चैत्र ११ गते मङ्गलवार बिहान ६ बजेबाट लागु भई चैत १८ गते बिहान ६ बजेसम्म कायम रहने गरी पहिलो पटक लकडाउन गर्ने निर्णय गरेको थियो । त्यसपछि दोस्रो पटक यसको अवधि बढाएर चैत्र २५ गते कायम गरिएको थियो । आज तेस्रो पटक लकडाउनको अवधि बढाएर बैशाख ३ गते पुर्याएको हो ।

लकडाउनको अवधिमा देशमा अत्यावश्यक सेवा बाहेकका सबै सरकारी, निजी र सामुदायिक सेवाहरु बन्द गरिएका छन् ।

कोरोना भाइरस आपसी निकटताका कारण फैलिने भन्दै सरकारले सबै नागरिकलाई सामाजिक दूरी कायम गर्न, भेला,मेला, जमघट,कचहरी गर्न रोक लगाएको छ । सामाजिक दूरी कायम राख्नकै लागि सार्वजनिक हवाई र सडक यातायात पनि बन्द गरिएका छन् । स्कूल, कलेज, विश्वविद्यालय लगायतका सबै शैक्षिक प्रतिष्ठानहरु बन्द छन् । उद्योग धन्दाहरु खोल्ने निर्णय सरकारले गरेपनि अधिकांश औद्योगिक प्रतिष्ठानहरु बन्दै रहेका छन् ।

सरकारले बैशाख ३ गतेसम्मका लागि लकडाउन बढाउने निर्णय गरेपनि नेपाललाई तीनतिरबाट वेष्ठित गरेको छिमेकी मित्रराष्ट्र भारतमा यसको विस्तार कसरी हुन्छ, त्यसका आधारमा त्यसपछि समयावधि बढाउने वा नबढाउने निर्णय हुने बताइन्छ ।

 

Share Now

Leave a comment.