फणीन्द्र दाहाल /बीबीसी न्यूज नेपाली
काठमाडौं, १७ बैशाख । खाडी समन्वय परिषद्का मुलुकहरुमा कार्यरत नेपाली राजदूतहरूले परराष्ट्र मन्त्रालयलाई प्रतिवेदन पठाउँदै अत्यावश्यक रूपमा नेपाल फर्काउनुपर्ने कामदारहरूका लागि क्वारन्टीनको व्यवस्था मिलाउन अनुरोध गरेका छन्।
कोरोनाभाइरसका कारण उत्पन्न सङ्कटका बेला सैयौँको सङ्ख्यामा ती देशमा कार्यरत नेपालीले रोजगारी वा सुविधा गुमाएको हुनसक्ने आकलन माझ नेपाली राजदूतहरूले त्यस्तो निचोड निकालेर सरकारलाई पत्राचार गरेका हुन्।
यसै साता उनीहरूबीच भएको भिडिओ कन्फ्रेन्समा विशेष गरि साना व्यवसायमा आश्रित नेपाली कामदारहरू बढी प्रभावित हुनसक्ने निष्कर्ष निकालिएको थियो।
पछिल्लो सङ्कटले खाडी देशको अर्थतन्त्र अनि उद्योगधन्दालाई प्रत्यक्ष असर पार्ने भएकाले दीर्घकालीन तयारी साथै अघि बढाउनुपर्ने विज्ञहरूले बताइरहेका छन्।
क्वारेन्टाइनको व्यवस्था गर
बाहरेनस्थित नेपाली राजदूत पदम सुन्दासले कोभिड १९ का कारण रोजगारी गुमाएकाको विवरण सङ्कलनका लागि बुधवार दूतावासले सूचना जारी गर्न लागेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘सानासाना कम्पनीहरू सबै बन्द भएका छन्। होटल व्यवसाय धराशायी नै भएको छ। अर्कोसँग करार गरेर रोजगारी दिने ब्युटि पार्लर जस्ता साना व्यवसाय पनि बन्द भएका छन्। हामीले अनुमान गरे अनुसार ३ हजार जतिले रोजगारी गुमाउन सक्छन्।’
उहाँले आपतमा परेका व्यक्तिहरूलाई नेपाल पठाउनका लागि क्वारन्टीनको व्यवस्था गर्न परराष्ट्र मन्त्रालयमा यसै साता गल्फ कोअपरेशन काउन्सिल (जीसीसी) आवद्ध देशका राजदूतले प्रतिवेदन पठाएको उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो, ‘जीसीसी आवद्ध देशका नेपाली राजदूतहरूको भिडिओ कन्फ्रेन्सबाट हामीले अत्यावश्यक रूपमा नेपाल पठाउनुपर्ने व्यक्तिहरूको लागि त्यहाँ क्वारन्टाइनको व्यवस्था छिट्टै होस् र त्यसको आधारमा हामी नपठाइ नहुने आपतमा परेका व्यक्तिहरूलाई पठाउँछौ भनेर प्रतिवेदन पठाएका छौँ।’
संयुक्त रूपमा राजदूतहरूले मङ्गलबार पठाएको उक्त प्रतिवेदनबारे परराष्ट्र मन्त्रालयले कुनै जवाफ दिइसकेको छैन।
कामदार फिर्ता लान ध्यानाकर्षण

श्रम स्वीकृति लिएर नेपालबाट विदेशिएका झण्डै ४० लाख कामदारमध्ये अधिकांश खाडी देशहरूमा छन्। उल्लेख्य सङ्ख्यामा अवैध रूपमा नेपाली कामदारहरू पनि ती देशमा रहेको बताइन्छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२० मा निकालेको एउटा प्रतिवेदनका अनुसार अघिल्लो वर्ष ८७ दशमलब ८ प्रतिशत नेपाली कामदार जीसीसी आवद्ध पाँच देशहरू कतार, संयुक्त अरब एमिरेट्स (यूएई), साउदी अरेबिया, बाहरेन र ओमानमा रोजगारीका लागि गएका थिए।
गत साल नेपालले कामदारले पठाएका रेमिट्यान्सबाट ८ खर्ब ७९ अर्ब रूपियाँ देशमा भित्र्याएको थियो।
हालै कतिपय खाडी देशहरूले कोरोनाभाइरसको सङ्कटका कारण रोजगारी गुमाएका वा बेतलबी विदामा बस्न बाध्य भएका आफ्ना नागरिकहरू फिर्ता लैजान श्रमिक पठाउने देशहरूलाई अनुरोध गरेका विवरण आएका थिए।
संयुक्त अरब एमिरेट्सले आफ्ना नागरिक फर्काउन नमान्ने देशहरूसँगको श्रम सम्झौता नै पुनरवलोकन गर्ने चेतावनी दिएको रोयटर्स समाचार संस्थाले जनाएको छ।
बाहरेनमा श्रम स्वीकृति लिएर ३५ हजार कामदार कार्यरत रहेको छन्। तर कामदार फिर्ता लैजाने किसिमको आशयमा सरकारी स्तरबाट कुनै पनि सन्देश प्रवाह नभएको राजदूत सुन्दासले जानकारी दिनुभयो।
घर फर्कने इच्छा
राजदूत सुन्दासले केही नेपालीहरूले रोजगारी गुमाएको भएपनि दूतावास, गैरआवसीय नेपाली संघ तथा अन्य नेपाली आवद्ध संघसंस्थाले उनीहरूलाई मद्दत गरिरहेको जानकारी दिनुभयो।
अर्को खाडी मुलुक कुवेतस्थित नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले कोरोनाभाइरसको सङ्कट पछि कतिपय नेपालीले रोजगारी गुमाएका र घर फर्कने इच्छा व्यक्त गरेको उल्लेख गर्नुभयो।
उहाँले अवैध रूपमा बसिरहेका विदेशी श्रमिकलाई स्वेच्छिक रूपमा स्वदेश फर्कनका लागि त्यहाँको सरकारले एप्रिल महिना भरको समय दिएको र कतिपय नेपाली कामदारहरूले त्यसको प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो।

उहाँका अनुसार कुवेत सरकारले झण्डै ७ हजार नेपाली अवैध रूपमा बसिरहेको जानकारी गराएको छ र करिब २ हजार नेपालीले घर फर्कने प्रकृया अघि बढाउन दूतावासमा सम्पर्क गरेका छन्।
यात्राको खर्च बेहोर्नु नपर्ने, जरिबाना तिर्न नपर्ने र कसुरको प्रकृति हेरेर पुनस् फेरि रोजगारीमा आउन पाइने भएकाले अवैध रूपमा रहेका कामदारहरूले प्रक्रिया अघि बढाएपनि लकडाउनको अवस्था रहेकाले उनीहरूको यात्रा भने अनिश्चित रहेको छ।
उहाँले कोरोनाभाइरसको कारण अवस्था खराब हुँदै गए वा त्यहाँ लकडाउनको समय अझ वृद्धि हुँदै गए नेपाल फर्कन चाहने कामदारको सङ्ख्या पनि बढ्न सक्ने बताउनुभयो।
कोरोना सङ्क्रमितको अवस्था
कुवेतमा ५१ जना नेपालीलाई कोरोनाभाइरस सङ्क्रमण देखिएको बताइएको छ। कुवेतको सरकारले नै उनीहरूको स्वास्थ्य उपचारको विषय हेरिरहेको राजदूत भण्डारी बताउँनुहुन्छ।
पछिल्लोपटक ७७ जनामा सङ्क्रमण देखिएपछि बहाराइनमा कोभिड १९ रोग लाग्ने नेपालीको सङ्ख्या १ सय २६ पुगेको अधिकारीहरूले बताएका छन्।
साँघुरो कोठामा बस्नुपर्ने भएकाले त्यसरी सङ्क्रमण सरेको भन्दै राजदूत सुन्दासले बुधवारबाट सामाजिक दूरी सुनिश्चित हुने गरि नयाँ आवासमा नेपाल सहित अन्य देशका कामदारलाई सारिएको जानकारी दिनुभयो।
उनीहरूको स्वास्थ्य उपचार पनि बाहरेनको सरकारले गर्दै आएको छ। चारपटक सम्म कोरोनाभाइरसको परीक्षण गर्दा नेगेटिभ देखिएमात्रै सङ्क्रमितलाई घर फर्कन दिने नीति त्यहाँको सरकारको रहेको भन्दै राजदूत सुन्दासले नेपालीहरू ‘खतरामुक्त’ रहेको बताउनुभयो।
हालैका दिनमा नेपालकोतर्फबाट प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले खाडी देशका आफ्ना समकक्षीसँग कामदारको सुरक्षासहितका विषयमा कुराकानी गरेका विवरण आएका थिए।


















