काठमाडौं, २२ बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद द्धय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध सांसद अपहरणको विरुद्ध उजुरी दर्ता भएको छ ।
पूर्वराज्य मन्त्री समेत रहेको जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरी शरीर बन्धक बनाएको बिषयमा उजुरी दर्ता भएको हो ।
सांसद यादवले आफूमाथि अपहरण भएको भन्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा निवेदन दिनुभएको हो ।
सरकारी वकिल कार्यालयले उजुरीमाथि अध्ययन गर्नेछ र आवश्यकता अनुसार थप प्रक्रियाका लागि प्रहरीसमक्ष पठाउनेछ ।
यस अघि अपहरणको किटानी जाहेरी दिन नवगठित जनता समाजवादी पार्टीका केन्द्रीय नेताहरु महानगरीय प्रहरी परिसर काठमाडौं
र सरकारी वकिलको कार्यालय काठमाडौं पुगेपनि प्रहरीले जाहेरी लिन मानेको थिएन् ।
मुद्दा मानवअधिकार आयोगमा पनि

यस अगाडि नेपाल प्रहरीको महानगरीय प्रहरी परिसर टेकूले जाहेरी लिन अस्वीकार गरेपछि जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले बैशाख १८ गते नेकपाका सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनालविरुद्ध मानव अधिकार आयोगमा अपहरण र शरीर बन्धसम्बन्धी विषयमा छानवीन गर्न उजुरी दिनुभएको थियो।
सांसद यादवले ‘सत्ता र शक्तिका आडमा आफ्नो ज्यान लिन सक्ने जोखिम रहेको भन्दै सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वआइजिपी खनाललाई पक्राउ गरी आवश्यक छानबिन र कारबाही गर्नुपर्ने माग गर्नुभएको थियो । दर्ता नम्बार १७८० रहेको यादवको पत्र मानव अधिकार आयोगले पनि उक्त पत्र बुझेको छ।
आयोगमा आरोपित पक्षको पनि उजुरी
सांसद डा. सुरेन्द्र यादवले अपहरणको आरोपमा सांसदद्धय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपहरण गरी शरीर बन्धक राखेका विषयमा राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी गरेपछि सो अनुसन्धानलाई प्रभावित पार्न अपहरणमा आरोपित तीनै जनाले सोमबार (बैशाख २२ गते) आयोगमा अपहरण नगरेको व्यहोराको उजुरी पनि दिनुभएको छ ।

सांसद यादवलाई गत वैशाख १० गते नेकपाका सांसदद्धयबस्नेत र श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक खनालले जनकपुरबाट अपहरण गरी काठमाडौं ल्याउनुभएको थियो ।


















