Prakash Adhikari June 2, 2020

 

काठमाडौं, २० जेठ (बीबीसी) । नेपालमा कोरोना भाइरसबाट संक्रमित बिरामीको संख्या २ हजार ९९ पुगेको छ । मङ्गलवार थप २ सय ८८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि संक्रमितको संख्याले २ हजार नाघेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार सङ्क्रमितमध्ये आठ जनाको मृत्यु भइसकेको छ।

मङ्गलवार सङ्क्रमण पुष्टि हुनेमध्ये काठमाडौंमा कार्यरत चार स्वास्थ्यकर्मी पनि छन्।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अपराह्णसम्म विगत २४ घण्टामा २ सय ८८ जनामा कोभिड १९ देखिएको बताएका हुन्।

दक्षिण एशियामा सङ्क्रमण

मङ्गलवारसम्मको स्थितिमा नेपालको कुल सङ्क्रमण सङ्ख्या दक्षिण एशियाली मुलुकहरू भुटान, माल्दिभ्स र श्रीलङ्कामा भन्दा धेरै भएको छ।

भुटानमा ४७ जना, श्रीलङ्कामा १ हजार ६ सय ४३ जना र माल्दिभ्समा १ हजार ८ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको छ।

भारतमा १ लाख ९९ हजारभन्दा बढीमा सङ्क्रमण देखिएको छ भने पाकिस्तानमा ७६ हजार ३ सय ९८ जनामा, बाङ्ग्लादेशमा ४९ हजार ५ सय ३४ जनामा र अफगानिस्तानमा १६ हजार ४ सय ९२ जनामा सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा कोरोनाभाइरस सङ्क्रमण

coronavirus test

जेठ २०, मङ्गलवार अपराह्ण ४ : ३० बजेसम्मको तथ्याङ्क

  • २,०९९ सङ्क्रमण
  • ६१ प्रभावित जिल्ला
  • पीसीआर विधिबाट परीक्षण ७५,३४३
  • चिकित्सकीय निगरानीमा अलग्गै१,८२५
  • देशभरि क्वारन्टीनमा१,४५,३७५
  • अहिलेसम्म रोगमुक्त२६६


स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

कहाँ थपिए सङ्क्रमित  ?

सातवटै प्रदेशका कुल ६१ जिल्लामा सङ्क्रमितहरू भेटिएका छन्।

अहिले गण्डकी प्रदेशमा थप १० जनामा कोभिड( १९ पुष्टि भएको छ। गण्डकी प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा स्याङ्जाका पाँच र पर्वतका पाँच जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको हो।

नेपालमा कोरोना

विगत २४ घण्टामा प्रदेश नं २ मा १ सय २० जना व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको त्यहाँको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

रौतहटमा ७४ जना, सर्लाहीमा २१ जना, सिराहामा १७ जना, धनुषामा चार जना, महोत्तरीमा दुई जना, सप्तरी जिल्लामा एक जना र बारा जिल्लामा एक जनामा सङ्क्रमणको पुष्टि भएको हो।

त्यस्तै कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार विगत २४ घण्टामा त्यहाँ ६४ जनामा कोभिड-१९ भएको पुष्टि भएको छ।

तीमध्ये सुर्खेतमा २७ जना, दैलेखमा नौ जना, सल्यानमा १८ जना र अछाममा १० जना रहेको बताइएको छ।

सङ्क्रमितहरू विभिन्न उमेर समूहका भए पनि अधिकांश युवा र पुरुष छन्।

नेपालमा कोरोनाभाइरस सङ्क्रमण

यस्तो छ दैनिक पुष्टि हुने सङ्ख्या

जेठ २० मङ्गलवार अपराह्णसम्मको विवरण
स्रोत: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

मन्त्रालयका अनुसार थप ४५ जना कोरोनाभाइरसमुक्त भएर अस्पतालबाट बिदा भएका छन्। यससँगै निको हुनेको सङ्ख्या २ सय ६६ पुगेको छ।

मन्त्रालयको तथ्याङ्कअनुसार विगत २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ४ सय ४० वटा परीक्षण गरिएको थियो।

अहिले देशभरि १ लाख ४५ हजार ३ सय ७५ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

तीमध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

Share Now

Leave a comment.