इटहरी (सुनसरी),९ माघ । इटहरीमा जारी मदन भण्डरी स्मृति इटहरी गोल्डकपको मंगलबार सम्पन्न खेलमा गरिफा स्पोर्टिड. क्लब, कोलकाताले आयोजक राष्ट्रिय जागृति क्लब इटहरीलाई पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।
पाहुना टोलीले शून्यका विरुद्ध एक गोलले आयोजक राष्ट्रिय जागृति क्लबलाई हराएको हो ।खेलको शुरुवात मै गरिफाका सिसे सोलासले गरेको गोल नै खेलमा निर्णायक हुन पुगेको थियो ।
खेलको दोस्रो मिनटमै सिसेले पाहुना टोलीका लागि एक मात्र निर्णायक गोल गरे ।
अब गरिफाले सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लबसँग स्पर्धा गर्नेछ ।
मंगलबारको खेलमा आयोजक टोलीका प्रवेश दनुवार म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तरगत बुधबारको पहिलो सेमिफाइनल खेल दुई दावेदार टोली रुस्लान थ्रीस्टार क्लब र नेपाल आर्मी क्लबबीच हुने आयोजकले जनाएको छ ।
राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा जारी प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी कुल ८ टोलीहरुको सहभागिता रहेको छ ।
प्रतियोगिताको फाइनल खेल माघ १३ गते हुनेछ भने विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ ।