काठमाडौं, ४ आषाढ । नेपाली कांग्रेसका उपसभापति एवम् केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले अमेरिकी को मिलिनियम च्यालेञ्ज कपोरेशनसंग अनुदान सहयोग लिने सम्बन्धमा भएको संझौताको विरोध अनावश्यक र उत्तेजक भएको बताउनुभएको छ ।
बुधबार पार्टीका संघीय सांसदहरुसंग मिलेनियम च्यालेन्ज कर्पोरेशनका विषयमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै उहाँले २०४८ पछि अरुण ३ का विषयमा अनेक आपत्तिजनक होहल्ला र विरोध गर्नेहरुले नै दुई दशकपछि सो आयोजना भारतीय कम्पनीलाई दिएको तथ्य स्मरण गराउदै उहाँले त्यसबेला अरुण ३ आयोजना बन्न पाएको भए देशले विकासको महत्वपूर्ण आधार तयार पारिसकेको हुने बताउनुभयो ।
जुम प्रविधि मार्फत आयोजित कार्यक्रमको अध्यक्षता गर्दै प्रतिष्ठान प्रमुख निधिले एमसिसिको विषयलाई फरक–फरक कोणबाट अनावश्यक र उत्तेजक रुपमा प्रस्तुत गरिएकोले यसबारे नेपाली कांग्रेसका सांसदहरु, पार्टीका सदस्यहरु र सिंगो पार्टी पंक्ति स्पष्ट हुनु पर्ने विचार प्रकट गर्नु भएको थियो ।
उहाँले अहिले एमसिसिलाई पनि त्यस बेलाको अरुण ३ जस्तै बनाउन खोजिएको हुनाले यसमा नेपाली कांग्रेस गम्भीर बन्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा एमसीसी संझौतामा हस्ताक्षर गर्नुहुने तत्कालीन अर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रको विकासका लागि, राष्ट्रको हित प्रबद्र्धनका लागि र अन्तराष्ट्रिय सम्बन्धलाई अझ सबल गराउनका लागि एमसीसी सम्झौता भएको र त्यसमा कुनै पनि हालतमा राष्ट्रको स्वाभिानमा आँच आउने काम नभएको स्पष्ट गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले नेपाली जनताको हितमा गरिएका विषयहरुलाई जनता सामु स्पष्ट गर्दै नेपाली कांग्रेस अघि बढ्नु पर्ने विचार प्रकट गर्नुभएको थियो ।
कार्यक्रममा प्र्रतिनिधिसभामा नेपाली कांग्रेसकी सचेतक पुष्पा भूसालले नेपालको आवश्यकता र स्वार्थ अनुरुप भएका विषयहरुमा वखेडा खडा गरी राजनीति गर्नेहरुबाट नै मुलुकको अहित भइरहेको धारणा राख्नु भएको थियो ।
कार्यक्रममा एमसीसीका विषयमा योजना आयोगका पूर्व उपाध्यक्षद्धय डा. गोविन्द पोख्रेल र डा.स्वर्णिम वाग्लेले समग्र पक्षको चिरफार गर्नुभएको थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु, सांसदहरु, प्रतिष्ठानका सदस्यहरुको सहभागिता रहेको सो कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सदस्य राजु नेपालले र नानुमैयाँ वाँस्तोलाले संयोजन गर्नुभएको थियो ।


















