Prakash Adhikari June 23, 2020

काठमाडौं, ९ आषाढ (बीबीसी)। नेपालमा प्राण घातक कोरोना भाइरसबाट संक्रमित हुने बिरामीको संख्या १० हजार नाघेको छ भने यस भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २४ पुगेको छ ।

विगत २४ घण्टामा थप ५ सय ३८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार ९९ पुगेको हो ।

त्यस्तै विगत २४ घण्टामा थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

हालसम्म यो भाइरसको संक्रमणमा परेका मध्ये २ हजार २ सय २४ जना बिरामी निको भएका छन्।

विगत २४ घण्टामा ७६ जना कोरोनाभाइरसमुक्त भएर अस्पतालबाट घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभएको छ।

कोरोनाभाइरस सङ्क्रमणका कारण नेपालमा मृत्यु हुने २४औँ व्यक्ति दैलेखको दुल्लु नगरपालिका वडा नं. ३ निवासी ४५ वर्षीय पुरुष रहेको डा. गौतमले बताउनुभएको छ।

ती व्यक्तिको असार ८ गते राति ९ : ३० बजे मृत्यु भएको हो।

क्षयरोग र दमको बिरामी रहेका ती बिरामीको प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भैरहेको थियो।

दुल्लु अस्पतालबाट असार ३ गते सुर्खेत ल्याइएका उनको सोही दिन स्वाब सङ्कलन गरिएको र भोलिपल्ट सङ्क्रमण पुष्टि भएको थियो।

परिक्षणको दायरा
मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४ हजार ९ सय ९५ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या १ लाख ८६ हजार ३ सय ६६ पुगेको छ।

अहिलेसम्म रसुवाबाहेक सबै ७६ वटा जिल्लामा कोभिड १९ पुगिसकेको पुष्टि भएको छ।

कोरोनाभाइरस

क्वारेन्टाइनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।

अहिले देशभरि ८५ हजार ८ सय १३ जना क्वारेन्टाइनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।

सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेशमा र प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा मानिसहरू क्वारेन्टाइनमा छन्।

 

coronavirus test
नेपालमा कोरोनाभाइरस सङ्क्रमण

असार ९ गते मङ्गलवार अपराह्ण ४ : ३० बजेसम्मको तथ्याङ्क

  • १०,०९९ कुल सङ्क्रमण
  • ७६ प्रभावित जिल्ला
  • विगत २४ घण्टामा पीसीआर परीक्षण ४,९९५
  • चिकित्सकीय निगरानीमा अलग्गै ७,८५१
  • देशभरि क्वारन्टीनमा ८५,८१३
  • अहिलेसम्म निको २,२२४

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

Share Now

Leave a comment.